हाम्रो इतिहास र परिवर्तन

शुरुमा अस्तित्वमा आएका विश्वका मुलुकहरु मध्ये विशिष्ट खालको सभ्यतासहितको सनातनहिन्दूको मुख्यथलोे सुन्दरभूमि नेपाल पनि एक हो।

हिन्दुशास्त्र अर्थात बेदले नै विश्वमा विज्ञानको प्रादुर्भाव गरीमानव समाजलाई न्याय र विधिमा समेतबांध्नसिकायो त्यसैले भनिँदै आएको छ ‘पूर्वबाट उदाउनु पर्ने सूर्य पश्चिमबाट उदायो’अर्थात हाम्रै बेदबाट पश्मिमाले वैज्ञानिक चमत्कार मच्चाउँदै क्रमश फैलिएर हालको युगलाई विज्ञान र प्रविधिको युग भनिएको छ।

विश्वका शक्तिशाली मुलुकहरुले बिस्तारवादी नीति लिँदै जाँदा संसारका कतिपय मुलुकहरुले सभ्यता र अस्तित्व नै गुमाए। नेपाल मात्र यस्तो मुलुक हो संसारका कुनै पनि साम्राज्यवादीहरुले हराउन र गुलाम बनाउन सकेका थिएनन् यही नै हाम्रो गौरवमय इतिहास हो।

नेपालमा राजसंस्थाको इतिहास धेरै लामो छ। यहाँ शाह वंश मात्र नभई विभिन्न कालखण्डमा विभिन्न वंशहरु हुँदै मल्लकालसम्म आइपुग्दा राज्यहरु अंशबण्डा हुन थाले र बाइसे र चौबिसे जस्ता राज्यहरु जन्मिन पुगी एक राज्य र अर्को राज्यबीच कलह मच्चिँदै गर्दा त्यही समयमाअंग्रेजहरु आफ्नो साम्राज्य बिस्तार गर्दै थिए।

यही समयमा गोरखामा गोरखनाथबाबा र मनकामना भगवति स्वयं प्रकट भई देवभूमि नेपाल जोगाउने अभियानको लागि प्रमुख अभियन्ताको रुपमा मात्र पृथ्वीनारायण शाहको जन्म भएको देखिन्छ भने अन्य थुप्रै वीर पुर्खा अभियान्ताहरुले पानीको भरमा, कन्दमुलको भरमा, कछाड, कमिज र नांगो खुट्टाको भरमा, लाठी र खुकुरीको भरमा यो मुलुकको स्वाभिमान र सार्वभौमिकता जोगाउन सफल भएकै कारणले ‘यो जन्मदै जगतमा कैयौँ प्रहारहरु आए तर साम्राज्यवादी दुई हारे हारेन शान हाम्रो’ भन्ने शब्दहरुको रचना भएको पाइन्छ।

नेपालमा राणाहरुको शासन चलरिहँदा छिमेकी मुलुक भारत ब्रिटिस उपनिवेश थियो र बि.सं.२००४ सालतिर भारत स्वतन्त्र भएपछि अर्थात अंग्रेजहरुले छाडेर गएपछि भारतमै नेपालका कांग्रेस कम्यूनिष्टहरुको जन्म भई नेपालमा पनि प्रजातन्त्रको माग हुन थाल्यो।

नेपाली कांग्रेस र राजा त्रिभूवनको मेलमिलापकै कारण बि.सं.२००७ सालमा नेपालमा प्रजातन्त्रको स्थापनापश्चात सोही समयदेखि नेपालको शासन सञ्चालनमा छिमेकी मुलुकको स्वार्थलाई प्रवेश गराई बनाइएको अस्थिर राजनितिबाट स्वार्थ लुट्ने क्रमको शुरुवात भयो ।राजा त्रिभूवनको स्वर्गवासपछि पनि यही श्रृंखलाकैबीचमा २०१५ सालमा संविधानसभाको निर्वाचन हुँदा नेपाली कांग्रेसले दुई तिहाईले विजय हासिल गरेता पनि नेपाली कांग्रेसकै दलगत स्वार्थ रआन्तरिक खिचलोकै बीचबाट विदेशी हस्तक्षेप बढ्दै जाँदा मुलुकको सार्वभौमिकता, स्वतन्त्रता, राष्ट्रिय अखण्डता र स्वाधिनतामाआँच पुगेपछि तत्कालिन राजा महेन्द्रले २०१७ साल पौष १ गतेको कदम चाल्न बाध्य भएको पाइन्छ।

२०१७ सालको कदमपछि मुलुकलाई आत्मनिर्भरता र समृद्धिको बाटोमा अगाडि बढाउन क्रममा राष्ट्रिय स्तरका चार दर्जन उद्योग धन्दा,कलकारखानाहरु र विभिन्न स्थानहरुमा औद्योगिक क्षेत्र, कृषि औजार कारखानाको स्थापना, पूर्व पश्चिम जोड्ने महेन्द्र राजमार्ग, छिमेकी चीनसँग जोड्ने अरनिको राजमार्ग, पृथ्वीराजमार्ग,विभिन्न ४७ जिल्लामा विमानस्थलहरु तथा विभिन्न विद्युत गृहहरु निर्माण र कृषि तथा वनविज्ञान अध्ययन संस्थान,दर्जनौँ क्याम्पस तथा सयौँको संख्यामा स्कूल त्यसैगरी ४५ गोटा अस्पतालहरु स्थापना भए।

गरिब तथा किसान वर्गको उत्थानको लागि भूमिसुधार ऐन २०२१ लागु गरि जसको जोत उसको पोतको नीति ल्याइ मोहियानीहकको व्यवस्था,भूमिहिनहरुलाई भूमि वितरणको साथै तराईमा खाली रहेको विशाल जमिनहरुमा कृषि उत्पादन बढाउन पहाडबाट  बसाई सराईको व्यवस्था गरियो।

राजा त्रिभूवन र कांग्रेसको पालामा मुलुकको विभिन्न सीमा क्षेत्र तथा महत्वपूर्ण स्थानमा तैनाथ भारतीय सुरक्षापोष्टहरु समेत हटाउने काम गरियो र राजा स्वयं किसान तथा सामान्य बटुवाको भेषमा गोप्य रुपमा मुलुकको कुनाकाप्चासम्म पैदल भ्रमण गरि नागरिकको पिरमर्का बुझ्दै गर्दा बि.सं.२०२८ सालमा राजा महेन्द्रको स्वर्गारहण हुन पुग्यो।

नेपालको इतिहासमा २०१७ सालदेखि २०२८ सालसम्मलाई सम्झिँदा त्यस अवधिलाई स्वर्ण युग भन्न सकिन्छ र महेन्द्रले बनाई दिएकै पूर्वाधारमा आज हामी बाँचिरहेका छौँ। ‘एकथरी नेपालीको आँखाबाट आँशु झरिन्जेल अर्कोथरी नेपालीको हाँसो हुन सक्दैन’,’अल्छी भई बाँच्नु भन्दा उद्योगी भई मर्नु जाती’, जिँउदै मर्‍याे जो जसले बिर्स्याे देशको माटो’. र ‘म मरे पनि मेरो देश बाँची रहोस्”भन्ने जस्ता महान उद्गार छाड्ने राजा महेन्द्रको अल्पायुमै स्वर्गारोहणले सिंगो मुलुक र जनताको लागि अपुरणीय क्षति हुन पुग्यो।

राजा वीरेन्द्रले पनि बाबुकै पथ पछ्याउँदै नेपाललाई सम्मुन्नतिको बाटोमा अगाडि बढाउँदै जाने क्रममा शुभराज्यभिषेक भएकै साल नेपाललाई विश्वसामु शान्ति क्षेत्र घोषणाको प्रस्ताव राखेका थिए र विश्वका ११६ मुलुकले स्वीकृत गरिसक्दा पनि छिमेकी भारतले नमानेपछि भारतसँग कुरा गर्न राजा वीरेन्द्र स्वयं भारत सवारी हुँदा भारतको जवाहारलाल नेहरु विश्वविद्यालयमा अध्ययनरत हालका नेता डा.बाबुराम भट्टराईको नेतृत्वमा राजालाई कालो झण्डा देखाउने काम हुन्छ र त्यही उदाहरण देखाएर नेपाली जनता नै खुशी छैनन् भन्ने जवाफपश्चात राजा रित्तो हात फर्कन बाध्य हुन्छन्। यदि त्यो प्रस्ताव छिमेकीले स्वीकारेको भए त्यही साल संयुक्त राष्ट्रसंघको महासभामा पेश हुने थियो र त्यहाँबाट पास हुनासाथ नेपाल शान्ति र समुन्नत राष्ट्रमा परिणत भई कुनै पनि प्रकारको विदेशी हस्तक्षेप,बन्द हडताल, हिंसा र युद्धजस्ता गतिविधिहरुसमेत हुन पाउँदैनथ्यो।

यसैगरी नेपाललाई विकास र समृद्धिमा एशियाली मापदण्डमा पुर्‍याउने लक्ष्यलिई सबै प्रविधिको विकास स्वदेशमै भित्राउन खोज्दा,सार्क संगठनको अवधाराणा ल्याउँदा, असंलग्न परराष्ट्र नीति अबलम्बन गरेर एक चीनको नीतिमा अडिग रहँदा, नेपालका नदीनाला तथा प्राकृतिक स्रोत साधनमा राष्ट्रघाती सन्धी सम्झौता गर्न नमान्दा, उद्योग धन्दा कलकारखानाहरुलाई थप बिस्तार गरी अत्मनिर्भर बन्न खोज्दा, नेपाललाई हिमाल पहाड तराई समेटिने गरी ५ विकास क्षेत्रमा विभाजन गर्दा, ग्यास प्लाण्टको स्थापना गर्न खोज्दा, हाईड्रो पावरहरु थप बिस्तार गर्न खोज्दा र सीमा अतिक्रमण गर्न नदिँदा पहिला नाकाबन्दी त्यसपछि उनीहरुकै आडमा र सहयोगमा २०४६ सालको रचना हुन्छ।

त्यसपश्चात पनि जनचाहाना बमोजिम संवैधानिक राजतन्त्र र बहुदलीय व्यवस्थालाई स्वीकारेर मुलुकको विकास, शान्ति र अमनचयनको लागि प्रयास गरिरहेकै अवस्थामा आन्दोलनकारी दलहरुकै संलग्नतामा बनेको २०४७ सालको संविधानमा कुनै पनि अन्तराष्ट्रिय सन्धी सम्झौता गर्दा संसदको दुईतिहाईबाट अनुमोदन हुनुपर्ने, हिन्दु अधिराज्य नेपाल लेखिएको र विदेशीलाई नागरिकता प्राप्तिमा कडा शर्तहरु उल्लेख भएकै कारण २०५२ फागुन १ को रचना गरिन्छ।

त्यसपछिका दिनमा आफ्नै नागरिकहरुले नेपालमा विध्वंश मच्चाउनकै लागि विदेशी भूमिको सरकारी ब्यारेकमा सैन्य तालिम, हतियार र राशन पानी प्राप्त गरी मुलुकमा निर्माण भएका भौतिक संरचना,उद्योगहरु ध्वस्त पार्दै मुलुकलाई ५० औँ वर्षपछि धकेल्ने काम र सोझासाझा नागरिकहरुको विभत्स हत्या जस्ता उपद्रव मच्चाउँदा समेत राजाबाट आफ्ना नागरिकले के चाहेका हुन् त्यो बुझेर अगाडि बढ्नको लागि पटक पटक वार्ता तथा संवाद चलाएकै कारण राजतन्त्रप्रति आम नेपालीको स्नेह र आस्था प्रगाढ हुँदै गयो। कम्युनिष्ठका धरोहर नेताले समेत नेपालमा राजतन्त्रप्रति आस्था देखाउन थालेपछि उनीहरुको अभिष्ट पूरा हुन नसक्ने देखेर पहिलो षडयन्त्रको संस्करण मदन भण्डारीको हत्या, दोस्रो संस्करण कथित जनयुद्ध र तेस्रो संस्करण २०५८ जेठ १९ को रचना भयो।

त्यो घटनामा अपराधी देखाउन र तत्पश्चात नेपालमा राजतन्त्रप्रति नागरिकमा घृणा फैलाउनको लागि पूर्व राजा ज्ञानेन्द्रको परिवारलाई घटनाबाट जोगाएको सत्यलाई छुपाएर छुप्दैन। आफ्नो बाबु र आमा सरह दाजु भाउजूको वंशनास हुने गरी घटेको त्रासदीपूर्ण अवस्थामा असह्य पीडा दबाएर भए पनि गद्धी सम्हाल्न पर्ने बाध्यताकारी अवस्था आइलाग्यो राजा ज्ञानेन्द्रलाई।

गद्धी आरोहणकै समयमा गहभरी आँशु र पीडादायक मुहारलाई राम्ररी नियाल्नेहरुले यो कुरा नबुझेको पनि होइनन्। उक्त समयमा एकातिर विदेशी संरक्षण र सहयोगमा माओवादी हिंसाले मुलुकमा आगो बलिरहेको र नागरिकहरुले जिउधनको सुरक्षाको मागगर्दै ‘राजा आउ देश बचाउ’ को नारा लगाईरहेको अवस्था अर्कोतिर राजनीतिक दल तथा उनीहरुको गुट उपगुटबीच खिचातानीले मुलुकको राजनीतिलाई अनिर्णयको बन्दी बनाएको अवस्थाले मुलुकको भविश्यमाथि कालो बादल मात्र मडारीरहेका थिएन मुलुकको सार्वभौमिकता, स्वाधिनता र राष्ट्रिय अखण्डतामाथि नै आँच आइरहेको थियो।

स्वयं माओवादीहरु संसदवादीदलहरुसँगको वार्ता र सम्वादबाट निकाश ननिक्लने निष्कर्षमा पुग्दै थप हिंसात्मक बाटो तताईरहेकामा संकटलाई निकास दिनको लागि सही सल्लाह दिने र सहयोग गर्ने कोही भएनन्। यस्तो चुनौतिपूर्ण अवस्थामा हिंसा मच्चाईरहेका माओवादीलाई वार्ताको माध्यमबाट मुलधारमा ल्याउन र बिग्रंदो राजनीतिलाई सुधार्ने प्रयास स्वरुप नै २०६१ माघ १९ गतेको कदम चालिएको थियो र यस कदम पछि ३ वर्षभित्र सबै तहको निर्वाचन गराएर निर्वाचित जनप्रतिनिधिलाई नै सत्ताको बागडोर सुम्पने प्रतिबद्धतालाई नजरअन्दाज गर्दै गलत व्याख्या गर्नुले नै आजको अवस्था निम्त्याएको हो।

तसर्थ २०६१ माघ १९ पछि राजा ज्ञानेन्द्रले सार्क शिखर सम्मेलनमा केही यस्ता महत्वपूर्ण प्रश्नहरु कुटनीतिक ढंगले तेर्स्याउनाले षडयन्त्रकै श्रृंखलामा रचिएको कथित जनयुद्धको पोल आम नेपालीकोबीचमा र विश्वसामु खुल्न जाने त्रासले सुरक्षित अवतरणको लागि नेपालका मुलधारका राजनीतिक दलहरु र शसस्त्र युद्धरत माओवादीलाई मिलाएर २०६२ को १२ बुँदेको रचना गरिन्छ।

राजाद्वारा प्रतिनिधिसभा ब्यूँत्याउन लगाईएपछि छलकपटी ढंगले राजालाई निलम्वन गरि राजाले ब्यूँत्याएको संसदबाट बनेको सरकारबाट संविधानसभाको निर्वाचन घोषणा गरिन्छ। उक्त निर्वाचन हुनुभन्दा अगाडि निलम्वित राजालाई मिलेर जाने र भुटानी मोडलमा सहमति गर्ने हो भने संविधानसभा टारिदिन्छौँ भन्ने संदेशसहित दूत पठाउँदा राजाबाट बरु म साधारण नेपाली नागरिक बनेर बस्नेछु तर त्यस प्रकारको राष्ट्रघात गर्न नसक्ने जवाफपछि संविधानसभाको निर्वाचन निश्चित भएको थियो। तत्पश्चात २०६२/६३ को जनआन्दोलनमा समेत एजेण्डाको रुपमा नउठेको धर्म निरपेक्षता अनपेक्षित रुपमा घुसाईन्छ।

साथै त्यो १२ बुँदे सहमतिमा कुन कुन कुरा उल्लेख थियो भन्ने कुरा आम नागरिकले अहिलेसम्म थाहा पाउन नसक्नु पनि विडम्बनाको विषय छ । विदेशी भूमिमा विदेशीहरुकै संलग्नतामा रचिएको कथित जनआन्दोलन २०६२/६३ पछि राजाले नै ब्यूँत्याई दिएको संसदबाट नै राजालाई निलम्वन गर्नु विधि र कानुन सम्मत थियो कि थिएन?

हरेक देशमा शासन संचालनको लागि एउटा राष्ट्रिय मुलनीति हुन्छ तर विडम्बना नेपाल मात्र यस्तो देश भएको छ जहाँ विदेशीका दलालहरुले शासन संचालन गर्नको लागि राष्ट्रिय मुलनीति बनाउनआवश्यक देखेका छैनन। २०४६ सालदेखि अहिलेसम्म विभिन्न सन्धी सम्झौताहरु मार्फत राष्ट्रको अस्मिता र सबै कुराहरु किस्ता किस्तामा बेचिइसकेको छ।

हरेक राष्ट्रको आफ्नाे राष्ट्रिय पहिचान तथा सभ्यता भनेकै इतिहास, संस्कृति, पोशाक, झण्डा,राष्ट्रिय प्रतिकहरु लगायत त्यहाँ बसोवास गर्ने नागरिकहरुले मानि आएको धर्मसंस्कृति र परम्परा पनि हो । तर विडम्बना हाम्रो देशमा भने कथित परिवर्तनको नाममा सबैखाले संस्कृति र सभ्यताको धरोहरहरु भत्काएनन् मात्र चन्द्र सूर्य अंकित राष्ट्रिय झण्डा लगायत ती सबै पहिचानमाथि धावा बोलियो।

विश्वका शक्तिशाली मुलुकहरुले बिस्तारवादी नीति लिँदै जाँदा संसारका कतिपय मुलुकहरुले सभ्यता र अस्तित्व नै गुमाए। नेपाल मात्र यस्तो मुलुक हो संसारका कुनै पनि साम्राज्यवादीहरुले हराउन र गुलाम बनाउन सकेका थिएनन् यही नै हाम्रो गौरवमय इतिहास हो।

आज नेपालभित्र बोलिने सयौँ मातृभाषाहरु र उनीहरुको संस्कृति नै लोप गराइसके। कुल जनसंख्याको ८२ प्रतिशत हिन्दुहरुले बसोवास गर्ने मुलुकमा यहाँका बौद्ध तथा मुस्लिमहरुले समेत धर्म निरपेक्षता नस्वीकारेको अवस्थामा विदेशीको आडमा धर्मनिरपेक्षता लाद्ने र राजतन्त्र हटाउने काम गरियो। राष्ट्र निर्माता पृथ्वीनारायण शाहको शालिकमाथि अपमान समेत गरी राष्ट्रिय एकता दिवश पनि खारेज गरियो।

मुलुकको कार्यकारी पद सम्हालेका प्रधानमन्त्रीले सरकारी संयन्त्र दुरुपयोग गरी विवादित इशाई धर्मप्रचारक संस्थाको भव्य कार्यक्रम सोल्टी होटलमा आयोजना गरी देशभरका जनप्रतिनिधिहरुलाई समेत जोडीसहित सामेल गराई आफूसहित सबैलाई होलिवाइन पिउने र पिलाउने काम गरिन्छ।

मुलुकको उपराष्ट्रपति सम्हालेको व्यक्तिले दोलखामा गएर विद्यार्थीहरुको हातमा बाईबल किताब थमाउँछन्। जिम्मेवार दलका नेताहरुबाटै सार्वजनिक रुपमा भगवान पशुपतिनाथ माथि अनास्था जगाउने किसिमका अभिव्यक्ति दिने गर्छन् अनि प्रधानमन्त्रीले शपथ लिँदा ईश्वरको नाममा लिन समेत मान्दैनन्।

कुनै पनि देशको लागि भ्रष्टाचार प्रमुख दुश्मन हो र यसैको कारण पनि देशको अस्तित्व धरापमा पर्छ तर हाम्रो देशमा २०४६ सालपछि २०७८ सालसम्म आईपुग्दा खुल्लाम खुल्ला निर्लज्ज ढंगले भ्रष्टाचार बढाइरहेको पाइन्छ सत्ता र वरिपरि बस्नेले मात्र नभई गणतन्त्र पक्षधर दलहरु सबै मिलेर बाँडीचुँडी खाईरहेको त्यसै गरी नागरिकको टाउकामा करमाथि कर थोपरेर २७८६५माथिदेखि तलसम्मका जनप्रतिनिधिको साथै ४८६० भिभिआईपिले तलबभत्ता सुविधा लिएका छन्।

मुलुकमाअहिले पुनः दोस्रो महामारी शुरु भई कहालीलाग्दो ढंगबाट नागरिकले ज्यान गुमाई रहँदा समेत सरकारले नागरिक प्रतिको कर्तव्य बोध गरेको पाइँदैन। यसैलाई हामीले ठूलो परिवर्तन र उपलब्धी मानेर यसरी देश लुट्ने लुटेरा विदेशीको गुलामहरुको घृणा लाग्दो हर्कत देख्दा देख्दै पनि टुलुटुलु हरेर बस्नु पनि मातृभूमिमाथिको अपमान हो भन्ने कुरा सबै देशभक्तहरुले समयमै महशुस गरेको भने पाइएन। यो देशको नामनिशाना नरहँदा ‘नेपाली हामी रहौँला कहाँ नेपालै नरहे’ भन्ने शब्दलाई सम्झनामा बाहेक केही हुने छैन।

(गिरी पूर्व सुरक्षाकर्मी परिषद् नेपालका संस्थापक केन्द्रीय सदस्य हुन्।)

असार २३, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्