युरो कपको फाइनल पुग्न आज इंग्ल्याण्ड र डेनमार्क भिड्दै

युरो कप २०२० अन्तर्गत दोस्रो सेमिफाइनलमा बुधबार राति इंग्ल्याण्ड र डेनमार्क भिड्दैछन्। नेपाली समयअनुसार राति पौने १ बजे सुरु हुने खेलको विजेताले उपाधिका लागि इटालीसँग प्रतिस्पर्धा गर्नेछ।

यसअघि इटालीले मंगलबार राति स्पेनलाई टाइब्रेकरमा पराजित गरेको थियो। क्वाटरफाइनलमा डेनमार्कले चेक गणतन्त्र र इंग्ल्याण्डले युक्रेनलाई हराएका थिए। युरोकपमा डेनमार्क २९ वर्षपछि सेमिफाइनल पुगेको हो। यसअघि सन् १९९२ मा डेनमार्कले उपाधि जितेको थियो। डेनमार्क जारी प्रतियोगितामा समूहगत चरणका सुरुका दुई खेलमा पराजित भएर त्यसपछि लगातार जित हात पारिरहेको छ।

यता इंग्ल्याण्ड पहिलो पटक युरोकपको फाइनल पुग्ने प्रयासमा छ। यसअघि विश्वकपमा भने सन् १९६६ मा फाइनलमा पुगेको थियो। त्यतिबेला उपाधि जितेको थियो। इंग्ल्याण्डले ११ खेलयता हार ब्यहोरेको छैन। यसबीचमा उसले १० जित र एक बराबरीको नतिजा निकालेको छ। अन्तिम पटक गत नोभेम्बरमा बेल्जियमसँग २-० गोलले पराजित भएको थियो। जारी प्रतियोगितामा विश्वकपको उपविजेता क्रोएसियालाई पराजित गर्दै इंग्ल्याण्डले यात्रा अगाडि बढाएको थियो।

अन्तिम पटक डेनमार्क र इंग्ल्याण्ड गत अक्टोबरमा भिडेका थिए जसमा डेनमार्क १-० गोलले विजयी भएको थियो।

असार २३, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्