रकम अभावमा रोकियो एकीकृत नमुना तामाङबस्तीको निर्माण

बनेपा – हेर्दा चिटिक्कको देखिन्छ तर निर्माणले पूर्णता पाएको छैन। कुनै बन्दै गरेको त कुनै जग खन्ने तयारीमै छ, यहाँका सुन्दरबस्ती। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट समयमै रकम उपलब्ध नभएपछि यहाँका तीनधारास्थित निर्माणाधीन अवस्थामा रहेको एकीकृत नमुना तामाङबस्तीको दृश्य हो यो।

काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१० चण्डेनीमण्डनको तीनधारामा निर्माण भइरहेको एकीकृत नमुना तामाङबस्ती यसअघि ‘कारितास नेपाल’ नामक गैरसरकारी संस्थाले निर्माण गर्ने भनिएकामा उक्त संस्थाको परियोजना अवधि सम्पन्न भएका कारण बीचैमा छाडेपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई नै जिम्मा दिएको काम रकम अभावको कारण रोकिएको हो।

डिपिआर निर्माणको लागि ह्याबिट्याट फर ह्युमानिटी संस्थाले परिदिएपछि एकीकृतबस्ती निर्माणको काम अगाडि बढेको हो। सुरुमा निर्माणका लागि प्रक्रिया मिलाउने क्रममा ढिला गरी सुरु गरेको सो एकीकृत नमुना बस्ती निर्माण अहिले रकम अभावमा रोकिएको बस्ती पुनर्निर्माण उपभोक्ता समितिका अध्यक्ष आइतमान तामाङले बताए।

०७४ देखि सो नमुना बस्ती निर्माण हुँदै आए पनि अझैसम्म पूर्णता नपाएको उनले बताए। करिब एक–डेढ वर्ष डिपिआरमै समय खर्चिएको र त्यसपछि स्वीकृति पाएर बस्ती निर्माणमा लागे पनि अहिलेसम्म १८ घरको डिपिसी भएको तथा १३ घर पूर्णरूपमा निर्माण भइसेकको बताइएको छ।

अझै नौ वटा घरको डिपिसी गर्न बाँकी छ। सुरुमा पहिलो किस्ताबापत ५० हजार र घर निर्माण हुँदै गर्दा १० वटा घरको दोस्रो किस्ताबापत १० लाखबाहेक अरू रकम प्राप्त नभएपछि अहिले सो बस्तीको निर्माण सहकारी संस्थामार्फत ऋण लिएर भइरहेको उपभोक्ता समितिले जनाएको छ।

अझै १७ वटा घरको रकम प्राप्त हुन बाँकी रहेको समितिको भनाइ छ। ऋण लिएको रकमले पनि निर्माण पूरा नहुने तथा पूर्ण रूपमा सम्पन्न भएको घरको दोस्रो र अन्तिम किस्ता प्राप्त नभएकाले अहिले बस्ती निर्माण रोकिएको उपभोक्ता समितिका अध्यक्ष तामाङले बताए।

१३ वटा घर बनाएर सकेको करिब नौ महिना बितिसक्दा पनि अहिलेसम्म रकम प्राप्त नभएपछि अरु बाँकी घर निर्माणका लागि आफूहरूसँग पैसा नभएकाले निर्माण रोकेको उनको भनाइ छ।

‘पुनर्निर्माण प्राधिकरणबाट रकम प्राप्त भएपछि तिर्ने आशामा व्यक्तिगत र सहकारी संस्थाबाट ऋण लिएर बनाएको घरमा न अहिले बस्न पाएको छ, न त बाँकी घर नै बनाउन सकिएको छ’, अध्यक्ष तामाङले भने, ‘एकातर्फ बनेको घरमा को बस्ने भन्ने निर्णय गर्न सकेको छैन भने अर्कोतर्फ रकम अभावमा नमुनाबस्ती निर्माण अन्योलमा परेको छ।’

भूकम्प गएको ६ वर्ष बितिसक्दासमेत निर्माण सम्पन्न नभएपछि एकैपटक सो बस्तीमा सर्ने योजना अहिलेसम्म टुंगो लाग्न नसकेको स्थानीय भूकम्पपीडितको गुनासो छ।

राज्यले दिनुपर्ने रकम आजभोलि भन्दाभन्दै धेरै समय रोकेको छ। एकातिर पुनर्निर्माणको समयसीमा सकिन लाग्यो भनेर दबाब दिने, अर्कोतिर रकम नपाएका कारण भूकम्प प्रतिरोधी घरमा पनि बस्न नपाउने अवस्था सिर्जना हुने त होइन भन्ने चिन्ताले सताउन थालेको स्थानीय बताउँछन्।

एक घर बराबर १० लाख २० हजार लागत लाग्ने अनुमान गरिएको छ। अहिलेसम्म निर्माण भएको कामका लागि एक करोड १० लाख ऋण लिइसकेको समितिका अध्यक्ष तामाङको भनाइ छ।

२७ वटा घरका लागि पुग्ने सामग्री जस्तापाता, छडलगायत आवश्यक सामग्री खरिद गरेर लगिसकेको भए पनि अब बाँकी सामग्री जुटाउन र कामदारलाई दिन रकम नभएपछि निर्माण रोकिएको छ।

तेह्र जना जग्गादाताबाट आवश्यक जग्गा व्यवस्थापन गरी करिब ३५ रोपनी जग्गामा निर्माण अगाडि बढेको सो एकीकृत नमुना बस्तीसँगै तामाङ संस्कृति झल्कने सांस्कृतिक संग्र्रहालय भवन निर्माणाधीन अवस्थामा छ।

तामाङ संस्कृति संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले सांस्कृतिक संग्र्रहालय सामुदायिक भवन निर्माण भइरहेको छ।

बस्ती पुनर्निर्माणका सल्लाहकार रामबहादुर तामाङले सुरुमा एकीकृत नमुनाबस्ती निर्माणको स्वीकृतिका लागि तीन वर्ष समय लागेको र कारितास नेपालको पनि तीनवर्षे परियोजना अवधि सकेका कारण पुनर्निर्माणमा ढिलाइ भएको बताए।

गैरसरकारी संस्थाले बनाउने कामको रिपोर्ट नबुझाएका कारण ढिला भएको र अब छिट्टै प्राधिकरणबाट रकम प्राप्त हुने विश्वास लिएको उनले बताए।

मण्डनदेउपुर नगरपालिका प्रमुख टोकबहादुर वाइबाले पुनर्निर्माण प्राधिकरण र नगरपालिकाको साझेदारीमा भएको काममा अहिलेसम्म पनि पुनर्निर्माण प्राधिकरणले रकम उपलब्ध नगराएका कारण काम अगाडि बढ्न नसकेको बताए।

नगरपालिकाको तर्फबाट गर्नुपर्ने काममा सबै काम गरिसकेको भए पनि प्राधिकरणले रकम उपलब्ध गराउन ढिलाइ गर्दा बस्ती निर्माणको काममा समस्या आएको उनले बताए।

अहिलेसम्म नगरपालिकाले पटकपटक गरी १८ लाख विनियोजन गरिसके पनि पुनर्निर्माण प्राधिकरणले दिनुपर्ने रकम रोकिँदा अहिले रकम अभावमा कामै रोकिएको छ।

रकम निकासाका लागि आवश्यक प्रक्रिया अगाडि बढाए पनि अझैसम्म किस्ता उपलब्ध नहुँदा पुनर्निर्माण प्रभावित भएको हो। समयमा घर नबन्दा यहाँका भूकम्पपीडितले आफ्नो क्षतिग्रस्त घर नजिकै जस्ताको टहरामा बस्दै आएका छन्।

करिब ५५ घरधुरी रहेको सो बस्तीमा भूकम्पपछि केही परिवार तल बेंसी हल्देटारमा झरिसकेको छ। भूकम्प गएदेखि नै यहाँका बासिन्दा पीडित हुँदै आएका छन्।

यहाँका ३० घरपरिवार निर्माणाधीन नमुना एकीकृत बस्तीमा बस्ने भनिए पनि तीन घरपरिवारले विभिन्न कारण देखाउँदै पहिलो किस्ताबापतको रकम बुझाउन नसकेपछि अहिले २७ घरपरिवारका लागि पक्की घर निर्माणको चरणमा रहेको उपभोक्ता समूहले जनाएको छ।घरबास होमस्टेको परिकल्पनासहित घर निर्माण भइरहेको छ।

यहाँका तामाङ समुदायको मौलिक धर्म संस्कृति, संस्कार र रीतिरिवाज झल्किने गरी बस्ती निर्माण भइरहेको बताइएको छ।
बस्तीसँगै एउटा सामुदायिक भवन र अर्को सांस्कृतिक भवनसमेत निर्माण हुनेछ।

सोका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ ‘भवन’को आर्थिक तथा प्राविधिक सहयोगमा र अर्को सांस्कृतिक भवन बाग्मती प्रदेश सरकारको लगानीमा निर्माण हुनेछ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ ‘अनुदान व्यवस्थापन समिति’ काभ्रेपलाञ्चोकका प्रमुख रामप्रसाद ख्याजुले नेपाल सरकारमार्फत प्राप्त हुने रकममा १५ जनाको दोस्रो किस्ता पठाउने काम भइरहेको र बाँकी किस्ताका लागि फाइल मगाउने काम भएको बताए।

असार २४, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्