कहिलेसम्म लगाउन मिल्छ दोस्रो डोज खोप?

काठमाडौँ– फागुन २३ गते बिहान शिक्षण अस्पताल पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसविरुद्धको खोप लगाउँदै दोस्रो चरणको खोप अभियानको शुभारम्भ गरे।

यो अभियानमा देशभरका ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई सहभागी गराइएको थियो। सरकारले सुरुमा ५५ वर्षमाथिका नागरिक, शिक्षक, सार्वजनिक यातायातका चालक तथा सहचालकलगायतलाई खोप दिने घोषणा गरेको थियो।

तर खोपमा मात्रा नपुग्ने भन्दै ६५ वर्षमाथिकालाई मात्रै खोप दिइएको थियो। यद्यपि, हिमाली जिल्लामा भने ५५ वर्षमाथिका सबैलाई खोप दिइएको थियो।

दोस्रो चरणको खोप अभियानमा करिब १४ लाख नागरिकले खोप लगाएका थिए। कोरोना भाइरसविरुद्ध पहिलो डोज खोप लगाए पनि दोस्रो डोजको कोरोना खोप नपाएकाले १४ लाख नागरिकको जीवन जोखिममा परेको भन्दै सरकारको आलोचना भइरहेको छ।

फागुन २३ गते पहिलो डोज लगाएका उनीहरूलाई ८ देखि १२ हप्ताभित्रमा खोप लगाइसक्नुपर्ने थियो। तर, सरकारले दोस्रो डोजका लागि खोप भित्र्याउन सकेन।

सरकारले तत्काल खोप ल्याउन नसक्ने भएपछि जेठ अन्तिममा स्वास्थ्य मन्त्रालयले पहिलो डोज लगाएको १६ साताभित्र दोस्रो डोज लगाउन सकिने सूचना जारी गरेको थियो।

मन्त्रालयले जारी गरेको सूचनाअनुसार पहिलो डोज लगाएको १६ साता बितिसकेको छ। तर, सरकारले खोप ल्याउनेबारे अझै अन्योलमा छ।
खोपको दोस्रो मात्रा लगाउने मिति पार हुँदासम्म पनि ६५ वर्ष उमेरमाथिका नागरिकले दोस्रो डोज लगाउनेबारे अझै पनि अनिश्चित देखिएको छ। खोपको मात्रा पूरा गर्नलाई अझै कति समय कुर्नुपर्ने हो यसङ्गँ न सरकार जानकार छ न त सरोकारवालाहरू नै!

कोभिसिल्ड ८ देखि १२ हप्ताभित्रै लगाउनुपर्ने भए पनि पहिलो डोज लगाएकाहरूका लागि ढिलो भएको सरकारद्वारा गठित कोभिड–१९ खोप विज्ञ समितिका संयोजक डा. श्यामराज उप्रेतीले बताए।

उनले भने, ‘कोभिसिल्ड पहिलो मात्रा लगाएको ८ हप्तादेखि १२ हप्ताभित्रमा लगाउनुपर्ने हो। यो समयमा लगाउँदा राम्रो हुन्छ। अध्ययनले के देखाएको छ भने तीन महिनासम्म यसले राम्रोसँग सुरक्षा गर्छ।तीन महिनापछि के गर्छ अध्ययन भएको छैन। राम्रो पनि हुन सक्छ र कम हुन पनि सक्छ। त्यसैले हामीले सकेसम्म पहिलो मात्र लगाएको ८ देखि १२ हप्ताभित्रै लगाउनुपर्छ।’

तर, अहिलेको अवस्था हेर्ने हो भने सरकारले ६५ वर्षमाथिका नागरिकलाई खोपको दोस्रो मात्रा १२ हप्तामा दिन सक्ने अवस्थामा भएन र अहिले १६ हप्तामा पनि दोस्रो मात्रा दिन सक्ने अवस्था छैन।

पहिलो डोज दिएको १६ हप्ता बितिसक्दा पनि सरकार खोपविहीन छ। डा. उप्रेतीका अनुसार अहिले अनुमान गरिएअनुसार १२ हप्तापछि खोपको सुरक्षाको शक्ति घटेर जान्छ। रोग लाग्ने सम्भावना धेरै हुने उनले बताए।

‘तर पहिलो मात्रा लगाएको १६ हप्ता, २० हप्ता वा ३० हप्तापछि दोस्रो डोज लगायो भने त्यसले फेरि पिकअप लिन्छ। अर्थात् रोगसँग लड्ने क्षमता बढेर जान्छ। तीन महिनापछि जबसम्म दोस्रो मात्रा लगाइँदैन तबसम्म जोखिम त हुन्छ नै! तर जहिले लगाए पनि त्यो मात्रा दोस्रो नै हुन्छ। फेरि अर्को मात्रा दोहोर्‍याउनु पर्दैन’, उनले भने।

पहिलो डोज लगाएको १२ हप्तापछि खोपको प्रभावकारिता शून्य नहुने उनी बताउँछन्। डा. उप्रेतीले भने, ‘तीन महिनापछि रोगसँग लड्ने क्षमता शून्य भएर जाने होइन, अलि कमजोर हुने मात्रै हो। जसले गर्दा जोखिम हुन्छ। तर अर्को मात्रा लगाउनेबित्तिकै रोगसँग लड्ने क्षमता पूर्णरूपमा बढेर जान्छ।’

अहिले खोप ढिलो भए पनि आत्तिहाल्नुपर्ने अवस्था नभएको उनले बताए।

‘खोप लगाउन ढिलो भएको छ। सुरक्षाका हिसाबले जोखिम त हुने नै भयो। पहिलो मात्राको काम सकियो, फेरि खोप लगाउनुपर्छ भन्ने हुँदैन। जति पछि खोप आएपछि दोस्रो मात्रा लगाए पुग्छ’, उनले भने।

तर, कोभिसिल्ड नै कहिलेसम्म आउँछ भन्नेबारे अनभिज्ञ भएको उनले बताए।

उनले भने, ‘ठ्याक्कै कहिले आउँछ भन्ने थाहा छैन। खासमा खोप आउनुपर्ने अगाडि नै हो। हामीले खोपका लागि पैसा तिरेकै धेरै भइसक्यो। कोभ्याक्सबाट आउनुपर्ने हो। खोप पठाउन ढिलो भइरहेको छ। खोप आउन त आउँछ तर ठ्याक्कै कहिलो आउँछ भन्न सकिन्न।’

यस्तै, पछिल्लो समय कतिपय देशले १६ हप्तामा लगाउने भनेर योजना बनाइरहे पनि १२ हप्तामै खोप लगाउन उत्तम रहेको बताउँछन्, डा. शेरबहादुर पुन।

उनले भने, ‘१२ हप्ता भनिएपनि १६ साता भइसकेको छ। अहिले पछिल्लो समय एस्ट्राजेनिकाको वेबसाइटमा महिनौँसम्म पनि काम गर्ने भनाैँ न अझ एक वर्षसम्म यसले सुरक्षा दिने भनेको छ। तर, यो कुरा प्रकाशन भएर बहस भने भएजस्तो मलाई लाग्दैन। हामीले सकेसम्म खोपको दोस्रो डोज समयमै लगाउन सके ढुक्क हुन सकिन्छ। हामीलाई धेरै थाहा छैन।’

डा. पुनका अनुसार रोग नयाँ भएका कारण हामीलाई अझै पनि धेरै कुरा थाहा छैन। जसले गर्दा खोप समयमै लगाउँदा उपयुक्त होला। तर, पछिल्ला रिसर्चले ढिलो लगाउन मिल्ने देखाएको उनले बताए।

‘त्यो कत्तिको व्यवहारिक हुन्छ भन्नेबारे भने हेर्नै पर्ने हुन्छ। अहिलेसम्मको डाटालाई आधार मान्ने हो भने खोप समयमै लगाउनुपर्छ’, डा. पुन भन्छन्, ‘फेरि हामीसँग एन्टिबडी के कति छ थाहा छैन। यो थाहा भयो भने ढुक्क हुने अवस्था हुन्छ। रिसर्च गरेर ६५ वर्षभन्दा माथि उमेरका जसले एक डोज लगाउनुभएको छ। उहाँहरूको एन्टिबडी कति माथिसम्म छ भन्नेबारे जानकारी भएको भए सजिलो हुन्थ्यो। एन्टिबडीको ‘क्राइटेरिया’ कति हप्तापछि खस्किन्छ भन्ने पत्ता लाग्थ्यो। तर, यतातिर कसैको ध्यान गएको छैन।’

भारतले नेपाललाई अनुदानस्वरूप दिएको १० लाख खोप माघ ८ गते नेपाल आइपुगेपछि पहिलो चरणको खोप अभियान माघ १४ गतेदेखि सुरु भएको थियो।

अक्सफोर्ड विश्वविद्यालय र अस्ट्रेजेन्काले विकास गरेको खोपलाई भारतको सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन कोभिसिल्ड नेपाललाई अनुदानमा उपलब्ध गराएको थियो।

पहिलो चरणको खोप अभियानका लागि अनुदान पाए पनि सरकाले दोस्रो चरणको अभियानका लागि भारतीय उत्पादकसँग २० लाख डोज कोभिसिल्ड खरिद गरेको थियो।

तर, भण्डारण क्षमताकाे अभावका कारण फागुन ८ गते १० लाख डोज मात्र नेपाल ल्याइएको थियो।

त्योबाहेक भारतले अनुदानमा नेपाली सेनालाई छुट्टै कोभिसिल्ड दिएको थियो भने तीन लाख ८० हजार अन्तर्राष्ट्रिय कोभ्याक्स कार्यक्रममार्फत आएको थियो।

यद्यपि, खरिद गरेको २० लाख डोजमध्ये १० लाख डोज खोप आउन बाँकी नै छ। भारतमा महामारीको दोस्रो लहरले विकराल रूप लिएसँगै यतिखेर विश्वको सबैभन्दा ठूलो खोप उत्पादक देशले खोपको निर्यातमा पूर्णरूपमा रोक लगाएको छ।

असार २५, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्