लकडाउनले पिरोलेका घोडाहरुको बिहान बिहानै भागाभाग

घोडाहरुको भागाभाग। तस्बिरहरु: गिरीश गिरी/ देश सञ्चार।

वीरगञ्ज – बिहीबारको उज्यालोले सहरलाई भर्खर टेकेको मात्र के थियो, मुख्य सडकमा एक बथान घोडाको दौडादौड सुरु भयो। पछाडि पछाडि एउटा साइकल र एउटा मोटरसाइकलमा सवार लौरो लिएका मानिस देखिन्थे।

भागाभाग गरिरहेका घोडाहरुले बेलाबेलामा मुख्य सडकमा हिँडिरहेका मानिस र सवारीलाई धक्का पनि दिइरहेका हुन्थे।

‘यो अचानक के भयो?’ मानिसहरु अचम्म मानेर हेर्दै थिए।

अलिक पर पुगेपछि भेटिए ६६ वर्षिय टांगाचालक सरफुदिन मन्सुरी मियाँ।

‘अहिलेको बन्दाबन्दीमा टांगा हाँक्ने मानिसलाई उसको घर चलाउनै मुश्किल परिरहेको छ,’ ४५ वर्षदेखि टांगा चलाएरै गुजारा गर्दै आएका सरफुदिन भन्दै थिए, ‘यस्तोमा बेचारा घोडाको मालिक बनेर को बसिरहन्छ?’

मुख्य सडकमा घोडाको भागाभाग।

वीरगञ्ज–७स्थित रामटोलाका बासिन्दा सरफुदिनका अनुसार अहिले गरिब मानिसको समय निकै खराब चलिरहेको छ। यस्तोमा कतिपय टांगा चालकहरुले उनीहरुका घोडालाई पाल्न नसकेर बजारमा छाडा छोडिदिएपछि यस्तो अवस्था आएको हो। छाडा छाडिएका घोडाहरुलाई यसरी एकाबिहानै लखेट्दै जाने मानिसहरु चाहिँ महानगरपालिकाका कर्मचारी रहेको जानकारी पनि उनले दिए।

घोडालाइ लखेट्दै महानरपालिकाका कर्मचारी।

वीरगञ्जमा कुनैबेला तीन हजारको संख्यामा टांगाहरु चल्ने गरेको सरफुदिन बताउँछन्। पछिल्लो समय भने तेल र बिजुलीका मोटरले तान्ने सवारीसाधनको बिगबिगी यो सहरमा बढ्दै गएको छ। यस्तो अवस्थामा टांगाको संख्या दिनप्रतिदिन साँघुरिदै जान थालेको छ। त्यसमाथि सुरु भइदियो कोभिड १९ को कहर र लकडाउन।

सरफुदिन मियाँसँग कुराकानी गर्दागर्दै छेवैमा अर्का टांगा चालक बजीर मियाँ पनि आइपुगे। वीरगञ्ज–२ स्थित छपकैयाँका बजीरले पनि यहाँका अधिकांश टांगा चालकले जस्तै पुस्तैनी विरासतका रुपमा यो ब्यावसाय धानेका हुन्। उनका हजुरबुवा शहीद मियाँले वीरगञ्जमा टांगा चलाउन सुरु गरेका थिए।

बाँयाबाट क्रमशः सरफुदिन मन्सुरी, टांगा चलाउँदै गरेका अरविन्द पटेल र बजीर मियाँ।

‘अंग्रेजको समयमै जहाँजहाँ रेल गयो त्यहाँ त्यहाँ टांगा पनि पुगेको हजुरबुवाले बताउनुभएको थियो,’ बजीरले सुनाए, ‘रक्सौलमा रेल आएपछि यो भेगमा पनि टांगा आएको हो।’

यो व्यावसायबाट गुजारा चल्ने देखेपछि बजीरका हजुरबुवा जस्तै सरफुदिन मियाँका पनि पिताले वीरगञ्ज आएर टांगा चलाउन सुरु गरेका रहेछन्। उनीहरु वीरगञ्ज आउनुअघि छेवैको मटिअर्वा गाउँका बासिन्दा थिए। सारा जीवन टांगा हाँकेरै बिताएका सरफुदिनका पिता अमिनमियाँको ९० वर्षको उमेरमा २० वर्ष अघि निधन भएको रहेछ।

‘वीरगञ्ज र रक्सौलको मात्र के कुरा?’ सरफुदिन भन्दै थिए, ‘पहिले पहिले त गाउँ देहातमा समेत मानिसले टांगा राखेका थिए।’

टांगाको विशेषता भनेकै यो कच्चीबाटोमा पनि सजिलै अगाडि बढिदिन्छ। केहि दशकअघि सम्म पनि यस भेगमा थोरै मात्र पक्की सडक रहेको अवस्थामा सार्वजनिक परिवहनका लागि टांगा यो क्षेत्रकै भरपर्दो साधन थियो। तर, पछिल्लो समय पक्की सडकको मात्रा बढ्दै गयो। सडक अनुसारै गतिलाई तत्काल तीब्र बनाउन वा नियन्त्रणमा लिन सकिने मोटरयुक्त सवारीसाधनको माग पनि बढ्दै जान थाल्यो।

‘एक त त्यसै पनि टांगाको नराम्रो दिन चलिरहेको थियो,’ सरफुदिन भन्छन्, ‘त्यसमाथि कोरोनाको महामारीले त ढाडै सेक्ने काम गरिदिएको छ।’

वीरगन्जको नगवा नजिकै एक छाडा छोडिएको घोडा।

उनका अनुसार रिक्सा वा मोटर चलाउने मानिसका निम्ति लकडाउन सुरु भएपछि तिनका सवारी साधन थन्क्याइ दिए मात्र पनि पुग्ने स्थिति थियो। तर, टांगा चालकका लागि त टांगा बन्द भए पनि घोडालाई पाल्नै पर्ने अवस्था आइपर्‍यो।

‘ऊ त जानवर हो,’ सरफुदिन भन्छन्, ‘उसलाई खुवाइपियाइ गर्नै पर्छ।’

उनका अनुसार घोडालाई घाँसबाहेक जौं, ढुटो, चोकर, चना र मिठ्ठा पनि खुवाउनु पर्छ। यस्तो स्थितिमा किफायती गरेर खर्च गर्दा पनि एउटा घोडालाई दिनको करिब तीन सय रुपैयाँको खर्च लाग्ने हुन्छ।

‘यस्तो अवस्थामा कतिपय टांगा चालकले घोडा पाल्न सकेनन्,’ सरफुदिन भन्छन्, ‘त्यसैले जे पर्ला पर्ला भनेर लकडाउन सुरु भएपछि आफ्ना घोडालाई बजारमा छाडा छोडिदिए।’

यसरी छाडिएका घोडाहरु करिब डेढ देखि दुई सयको संख्यामा मात्रै रहेको पनि सरफुदिनले स्पष्ट पारे।

‘म लगायत अधिकांशले आफ्ना घोडा छाडेका छैनौं,’ सरफुदिन भन्छन्, ‘जेनतेन गरेर पालेकै छौं।’

वीरगन्ज महानगरपालिकाले छाडा पशु थुन्नका निम्ति बनाएको थुनामा समातिएका घोडाहरूयसरी पछिल्लो पटक लकडाउन सुरु हुने बित्तिकै छाडिएका घोडाहरु भने बन्द जारीरहँदासम्म बजारमै डुलेर जे पाइन्छ त्यहि खाएर बाँच्दै आएका थिए। केही दिन यता भने वीरगञ्जको सहरी गतिविधि फेरि सुचारु बन्दै गएपछि महानगरपालिकाको नजरमा यी छाडा छाडिएका घोडाहरु पर्न थालेका हुन्।

यतिबेला बिस्तारै बजार खुल्न थाले पनि ओहोर दोहोर अझै सुचारु भइसकेको छैन। मूलतः वीरगञ्ज बसपार्क र घन्टाघरमै कुरेर यात्री ओसार्ने यी टांगाहरु सबैभन्दा बढी रक्सौलतर्फ नै जाने गर्छन्। यताका बस र रक्सौलका रेल अनि बसले ओसार्ने यात्रीहरुलाई ओहोर दोहोर गराउने नै यी टांगाहरुको मुख्य काम हो। जबकि अहिलेसम्म दुवै तर्फका लामो दूरीको सवारी साधन चलिसकेका छैनन्।

‘यस्तो अवस्थामा अहिले मुश्किलले दुई सय जति टांगाहरु फेरि चल्न सुरु भएका छन्,’ टांगा गुडाउँदै छेवैमा आइपुगेका वीरगन्ज–१५ भिस्वाका अरविन्दपटेल भन्दै थिए, ‘सवारी नै नपाउने भएकाले अहिले दिनभर टांगा चलाउँदा पनि तीन सय रुपैयाँ समेत बच्दैन।’

यस्तो स्थितिमा छाडा छाडेका घोडाधनीहरुले बजारबाटआफ्ना घोडा फिर्ता घर ल्याउने कि नल्याउने भनेर सोच्न नसकिरहेकै बेला महानगरपालिका सक्रिय भइदिएको हो।

‘हामीले यसरी बजारमा छाडा छोडिएका घोडाहरु समात्दै थुन्न थालेको दुई दिन भयो,’ वीरगञ्ज महानगरपालिकाको सुरक्षा प्रमुख हरिप्रसाद भूषाल भन्छन्, ‘अहिलेसम्म एकजना पनि घोडा मालिक छुटाउनका निम्ति आइपुगेका छैनन्।’

आदर्शनगरस्थित रंगशालाको मुखैमा वीरगञ्ज महानगरपालिकाले छाडाछाडिएका चौपायाहरुलाई थुन्ने स्थान बनाएको छ। त्यहाँ थुनिएका चौपायालाई छोडाउन खोज्ने पशुधनीले प्रति चौपायाको तीन हजार रुपैयाँ जरिवाना बुझाउनु पर्ने नियम छ।

‘दुई दिनमा बाह्र वटा घोडाहरु समातेर थुनिसकेका छौं जसमध्ये दुईवटा घोडा लंगडो भएकाले तिनका मालिकले कहिल्यै छुटाउन आउलान् जस्तो लाग्दैन,’भूषाल भन्छन्, ‘केहि दिन घोडा समात्ने क्रमलाई निरन्तरता दिएपछि त्यतिन्जेल छुटाएर नलगिएका सबै घोडा सहरभन्दा पर लगेर छाड्ने योजना बनाइरहेको छु।’

महानगरपालिकाले यसरी समातेका छाडा चौपायाहरुलाई पहिले पहिले चारकोसे झाडीमा लगेर छाडिदिने गरेको थियो।
‘हिजोआज सिमरामै पुलिसले रोकिदिन थालेको छ,’ भूषाल भन्छन्, ‘त्यसबाहेक पर्सा राष्ट्रिय निकुञ्जमा खटिएका सेनाले पनि जंगलमा चौपाया छाड्नबाट रोक लगाइरहेको छ।’

यस्तो अवस्थामा अब कतै परको गाउँ देहाततिर लगेर यी चौपायालाई महानगरपालिकाले छाडिदिने योजना गरिरहेको भूषालले जानकारी दिए। यसरी कारबाही अगाडि नबढाउने हो भने अवस्था झनै बिग्रँदै जाने उनको भनाइ छ।

‘आजै बिहान मात्र ८ वटा घोडा समात्यौं,’ बिहीबार भूषाल भनिरहेका थिए,‘अहिले दिउँसो पनि मानिस खटाउँछु।’

यस्ता घोडालाई समातेर लगेपछि महानगरपालिकाले उचित तवरबाट खुवाउने काम नगरिरहेको टांगा चालक अरविन्द बताउँछन्। यस्तो अवस्थामा कतिपय चौपाया त त्यहीँ मर्ने पनि गरेको उनले जानकारी दिए।

वीरगन्ज महानगरपालिकाले छाडा पशु थुन्नका निम्ति बनाएको थुनामा समातिएका घोडाहरू।

उता भूषालले भने प्रशस्त मात्रामा पराल राखिदिएको र पिउने पानीको पनि व्यवस्था गरिएको दाबी गरे। टांगा चालक अरविन्दका अनुसार एउटा औसत स्तरको घोडासहित नयाँ टांगा किन्दा अहिले अस्सी देखि नब्बे हजार रुपैयाँ पर्छ। यस्ता टांगा वीरगञ्जमै बनेता पनि घोडा चाहिँ बाहिरबाट किनेर ल्याउनु पर्छ।

एशियाकै ठूलो पशुबजार लाग्ने विहारको सोनपुर बाहेक हरपुर, डुमरसन अनि नेपालको दुहबीतिरबाट पनि घोडाहरु वीरगञ्ज आउने गरेका छन्। एउटा घोडा किनेर त्यसको राम्रो पालनपोषण गर्ने हो भने त्यसले टांगाचालकहरुलाई २० वर्षसम्म सेवा दिने गर्छ।

अरविन्दका अनुसार घोडा पनि हेरेर हुन्छन्। यता पाइने सबैभन्दा उन्नत नश्लको भने मुल्तानी घोडा हो।

‘मुल्तानी घोडा त टांगा हाँक्न धेरै नै महँगो हुन्छ,’उनी भन्छन्, ‘छ फिट अग्ला ती घोडा टांगाका लागि असाध्यै अग्ला पनि हुन्छन्।’

डेढ लाख भारतीय रुपैयाँ भन्दा बढी मूल्य पर्ने त्यस्ता मुल्तानी घोडाहरु बिहे बरियातहरुमा भाडामा दिन काम लाग्ने उनले सुनाए। अन्यत्र त्यस्ता घोडाहरु सेनाले पनि प्रयोग गर्ने उनी बताउँछन्।

टांगा हाँक्नका निम्ति उचित मानिने जात गहुमन हो। गहुमनको मूल्य चाहिँ साठी हजार रुपैयाँबाट सुरु हुन्छ। टांगाकै निम्ति चल्ने सबु जाजातको घोडा पनि पाइन्छ।

‘त्यो अलिक नरम चरित्रको हुन्छ,’ अरविन्द भन्छन्, ‘गहुमन जस्तो हुइँकिएर भाग्दैन।’ उनका अनुसार महँगो घोडा राखेर टांगा चलाएको छ भने त्यसले त्यहि हिसाबको प्रतिफल पनि दिन्छ। चाँडै थाक्दैन र निकै वर्षसम्म सेवा पनि गर्छ। ‘जतिसुकै समय बदलियोस् टांगाको आफ्नो महत्व छ,’ अरविन्दले भने, ‘त्यो घट्दैन।’

जस्तो?

यसको उत्तरमा उनले ‘धेरै कारण छ’भने र एकछिन सोच्न थाले।

‘बोर्डरको लागि त टांगाजस्तो राम्रो अर्को सवारी साधन हुनै सक्दैन,’उनले कुनै ठूलै कुरा सम्झेजस्तो गरेर थपे, ‘यसमा नम्बर प्लेट हुँदैन र भन्सारले अर्को देशको नम्बर प्लेटवाला गाडीलाई रोकेजस्तो टांगालाई रोक्न सक्दैन।’

छेउछाउमा उभिएका मानिसहरु अरविन्दको तर्क सुनेर गलल्ल हाँस्न थाले। तर, ६६ वर्षे सरफुदिनलाई भने अब टांगा धेरै दिन चल्छ जस्तो लाग्न छाडेको छ। उनका अनुसार हिजो आज टांगा चलाउनेहरुलाई जताबाट पनि ‘दिक्कत’हुन थालेको छ।

‘बाबु बाजेको पालादेखि यहि व्यावसाय गर्दै आइरहेकोले हामीसँग कुनै विकल्प पनि छैन,’उनले भने,‘नत्र कसैले हामीलाई कुनै अरु सवारी उपलब्ध गराइदिए यो छाड्न पनि तयार थियौं।’

असार २५, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्