प्रधानमन्त्रीले भने- यस्तो कृति पढ्न पाए पो भन्ने होस्

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले आ–आफ्ना सिर्जनाले सामाजिक उत्थानका लागि योगदान गर्न सर्जकहरूलाई आह्वान गरेका छन्।

सरकारका तर्फबाट विभिन्न विधाका सर्जकलाई दिइने प्रतिभा पुरस्कार प्रदान गर्न शुक्रबार बालुवाटारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भने, ‘हामीले रचना गर्दा हाम्रो कृति पढ्ने समय बर्बाद नहोस् । यस्तै कृति पढ्न पाए पो भन्ने होस्। समय खेर गएको भन्ने महसुस नहोस्।’

कलाका जुनसुकै विधाले पनि नेपालीको एकता मानवता र शान्तिको भावना प्रतिविम्बित गर्नुपर्ने उनले बताए। उनले नेपाली सिर्जनामा एउटा ठूलो पुनर्जागरण आवश्यक रहेको धारणा व्यक्त गरे।

‘हाम्रा पुर्खा विश्वमै विशिष्ट सर्जक हुन्, बीचमा हामी दैनिक जीवनयापनमै अलमलिएछौं, पुस्तौं गएछ’, उनले भने।

नेपाल संसारको अनुपम देश भए पनि विभिन्न कारणले पछाडि परेको उनको भनाइ थियो। उनले भने, ‘पछाडि पर्न हुँदैनथ्यो परेछौं, पर्न मान्न हुँदैनथ्यो, मानेछौं । गरिब हुन मानेछौं, अनपढ हुन मानेछौं।’

विश्वमा कसैका पुर्वजभन्दा नेपालका पुर्वज ज्ञान र कलामा अग्रणि भएको उनको भनाइ थियो। ‘गत वर्ष यसै ठाउँबाट भनेको थिएँ । राम जन्मभूमि नेपालमै हो’, उनले थपे।

राम र लक्ष्मणलाई शिक्षा दिन ऋषि विश्वामित्र कोसीबाट पश्चिमतर्फ लागेको प्रसंग उल्लेख गर्दै उनले भने, ‘महाभारतको लडाइँ कुरुक्षेत्रमा भए पनि ग्रन्थको रचना नेपालमै भएको र जनकको दरबारमा हुने शास्त्रार्थ र सांख्य दर्शनसम्मको इतिहासले नेपाल आदि ज्ञानभूमि भएको पुष्टि गर्छ।’

वेद, पुराण आदिको रचना छन्दमा गरिएबाट यस भूमिमा छन्दमय जीवन रहेको उनले बताए। दोहोरी गीतको रूपमा अहिले पनि छन्द निर्माणको प्रतिभा नेपालीले बोकिरहेको उनको विचार थियो।

पुर्खाका यिनै जगका आधारमा तला थप्दै लैजान सक्ने भन्दै उनले पछिल्लो समयमा विगतलाई होच्याउने, इतिहास केही होइनजस्तो गर्ने प्रवृत्ति बढेको पनि प्रधानमन्त्रीले बताए।

सम्बोधनका क्रममा प्रधानमन्त्रीले युगकवि सिद्धिचरण श्रेष्ठका नाममा साहित्य पुरस्कार प्रदान गर्ने व्यवस्था मिलाउन र दुई वर्षअघि आफूले स्थापना गरेको प्रधानमन्त्री प्रतिभा पुरस्कार वितरण गर्न पनि सम्बद्ध निकायलाई निर्देशन दिए।

स्रष्टाहरूलाई अन्य कुनै आधारमा नभई उनीहरूको योगदान पहिचान गरेर योग्य पात्रलाई सम्मानित गरिएको प्रधानमन्त्रीले बताए।

कार्यक्रममा प्रधानमन्त्रीले चार विधागत क्षेत्रका स्रष्टालाई जनही एक लाख रुपैयाँको राष्ट्रिय प्रतिभा पुरस्कार र सातवटै प्रदेशबाट चारवटै विधागत क्षेत्रका स्रष्टालाई पचास हजार नगदको प्रादेशिक प्रतिभा पुरस्कार र सम्मानपत्रबाट सम्मानित गरेका थिए।

कार्यक्रममा यस वर्षको राष्ट्रिय प्रतिभा पुरस्कार भाषा साहित्यतर्फ गोपीकृष्ण गौतम, संगीत तथा नाट्यतर्फ मदनकृष्ण श्रेष्ठ, डा. संस्कृतितर्फ कैलाश प्याकुरेल, ललितकलातर्फ हरिप्रसाद शर्मालाई प्रदान गरिएको थियो।

यसैगरी, महाकवि देवकोटा पुरस्कार पाँच जनालाई, भगत सर्वजित मानव मर्यादा राष्ट्रिय पुरस्कार तीन जनालाई र गोपालप्रसाद रिमाल राष्ट्रिय पुरस्कार दुई जना सर्जकलाई प्रदान गरिएको थियो।

असार २६, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्