भारत सिक्किमको चर्चित भानु पुरस्कार पूर्व लोकसभा सांसद भण्डारीलाई प्रदान गरिने

झापा – भारतको हिमाली राज्य सिक्किमको चर्चित भानु पुरस्कार यस पटक पूर्व लोकसभा सांसद दिलकुमारी भण्डारीलाई प्रदान गरिने भएको छ।

आगामी जुलाई १३ तारिक भारतमा आदिकवि भानुभक्त आचार्यको जन्म जयन्ति मनाउने गरिन्छ। सोही दिन हरेक वर्ष प्रदान गरिने भानु पुरस्कार पूर्वसांसद दिलकुमारी भण्डारीलाई प्रदान गरिने भएको हो।

भण्डारी पूर्व मुख्यमन्त्री नरबहादुर भण्डारी नेतृत्वको सिक्किम संग्राम परिषदबाट दुई कार्यकालका लागि भारतको तल्लो सदन लोकसभा सदस्यमा निर्वाचित भएकी थिइन्।

उनकै पालामा सन् १९९२ मा भारतमा नेपाली भाषाले मान्यता पाएको थियो। भारतमा नेपाली भाषालाई भारतको संविधानको आठौँ अनुसूचिमा गाभ्न सफल भएको र सोही कामका लागि भारतको तल्लो सदनमा दह्रो आवाज उठाएकाले उनलाई भानु पुरस्कार प्रदान गर्न लागिएको नेपाली साहित्य परिषद सिक्किमका अध्यक्ष रुद्र पौडेलले जानकारी दिए।

सन् १९९२ मा नेपाली भाषाले मान्यता पाएपछि सिक्किममा भएको कार्यक्रममा सहभागी पूर्व मुख्यमन्त्री नरबहादुर भण्डारीका साथ तत्कालिन लोकसभा सांसद दिलकुमारी भण्डारी।

उनले भने, ‘भण्डारीले भारतमा रहेका नेपाली भाषीको शीर उँचो बनाउने काम गर्नु भएको छ।’

नेपाली साहित्य परिषदले सन् १९८५ देखि नेपाली भाषा-साहित्यको दीर्धकालदेखि सेवा पुर्याउँदै आउने भाषा-साहित्य सेवीहरूलाई प्रत्येक वर्ष भानु जयन्तीको अवसरमा भानु पुरस्कारले विभूषित गर्दै आइरहेको छ।

भण्डारी पूर्व मुख्यमन्त्री तथा सिक्किमका दिवंगत नेता नरबहादुर भण्डारीकी श्रीमती पनि हुन्।

कोरोना महामारीका कारण यस वर्षको भानु जयन्ति सानो तरिकाले मनाउने परिषदका अध्यक्ष पौडेलले जानकारी दिएका छन्।

असार २६, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्