नेपाली कांग्रेसका महामन्त्री शंशाक कोइरालाको अन्तर्वार्ता

‘पार्टी नेतृत्व हस्तान्तरण हुनेबेला आइसक्यो, म, विमलेन्द्र र प्रकाशमानमध्ये एक जना सभापतिको उम्मेदवार बन्छौँ’

नेपाली कांग्रेसका महामन्त्री शंशाक कोइरालाले पार्टीको आगामी नेतृत्व दोस्रो पुस्ताका नेताले गर्ने बताएका छन्। उनले पार्टी नेतृत्व हस्तान्तरण हुने बेला आइसकेकाले अबको नेतृत्व आफू, विमलेन्द्र निधि र प्रकाशमान सिंहमध्ये एक जनाले लिने दावी गरे।

पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले अभिभावकत्वको भूमिका निर्वाह गर्नुपर्ने भन्दै उनले नेताद्वयलाई आफूले त्यस किसिमको भूमिकाका लागि आग्रह गर्ने बताए। तेरो र मेरो भन्ने स्वभावका कारण सभापति देउवा पार्टीको सफल सभापति बन्न नसकेको उनले टिप्पणी गरे।

नेपाली कांग्रे‍सको आसन्न महाधिवेशन , क्रियाशिल सदस्यता तथा नयाँ नेतृत्वका सम्बन्धमा नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालासँग गरिएको कुराकानीको सम्पादित अंशः

महाधिवेशनको तयारी कहाँसम्म पुगेको छ, व्यक्तिगत र संस्थागत रुपमा?

सबैभन्दा पहिला म पार्टीकै तयारीको कुरा गर्न चाहन्छु। अहिलेसम्म क्रियाशिल सदस्यताको टुंगो लाग्न सकेको छैन। यो अन्त्यसम्म आइपुगेको छ। मलाई लाग्छ, यो महिनाको अन्त्यसम्म क्रियाशिल सदस्यताको अन्तिम टुंग्गो लाग्छ र एउटा खाका तयार हुन्छ त्यसपछि हामी अधिवेशनतर्फ जान्छौँ।

अहिले पार्टीको ध्यान नै क्रियाशिल सदस्यतातर्फ छ। आज पनि हाम्रो मिटिङ भएको थियो। क्रियाशिल सदस्यतामा के गर्ने भनेर कुरा भएको थियो। हामी क्रियाशिल सदस्यतालाई कसरी टुंगो लगाउने भनेर छलफल गर्दै थियौँ। क्रियाशिल टुंगो नलगाइकन त हामी महाधिवेशनमा जान सक्दैनौँ। त्यही नै अवस्था हो।

क्रियाशिल सदस्यता तत्काल टुंगो लाग्न सक्ने अवस्था देखिएको छैन। यसले महाधिवेशनलाई पो प्रभाव पार्छ कि भन्ने आशंका पैदा भएको छ नि?

यो महिनाभित्र क्रियाशिल सदस्यता टुंगा लगाउन सकिएन भने त आशंका त भइहाल्यो नि। हरेक जिल्लामा क्रियाशिल सदस्यताबारे केही न केही जटिलता छ। ४६ जिल्लामा भइसक्यो। त्यसमा पनि उजुरीहरु आएको छ, त्यसलाई पनि हेर्नुपर्‍यो। तसर्थ अहिलेको अवस्थामा भन्न सकिँदैन, समयमा नै अधिवेशन हुन्छ कि हुँदैन। प्रश्न चिन्ह चाहीँ छ। तर हाम्रो ध्यान त्यतैतिर गएको छ। र हामी क्रियाशिल सदस्यता छिटो टुंग्याउँ भनेर भरमग्दुर प्रयास गर्दैछौँ।

अहिले शीर्ष नेताका तीन जना पुत्र नेताहरुको संयुक्त भेटघाटलाई लिएर विभिन्न विश्लेषण भएका छन्। अर्को गुट आउन खोज्यो अथवा शक्ति केन्द्रीत गर्न खोजियो भनेर पनि टिप्पणी भएका छन्। खासमा के थियो तपाईहरुको बैठकमा?

हाम्रो भनाई के थियो भने, हामी पनि एकै ठाउँमा उभिनुपर्‍यो। सभापतिका लागि हामी तीन जनामध्ये कोही लड्छ भने ठिकै भयो। हामीमध्ये एकता हुनुपर्‍‍यो भन्ने कुरा आयो। यसमा धेरै कुराहरु उत्पन्न छन्।

एउटा त विमलेन्द्र निधिले शेरबहादुर जीलाई छाड्नुभयो भन्ने पनि संकेत देखिन्छ। दोस्रो कुरा हामी तीनै जनामध्ये एकजना लड्ने, तर त्यत्तिले पुग्दैन। रामचन्द्र दाइ, शेखर दाइ हुनुहुन्छ, प्रकाशमान र म त छँदैछु। विमलेन्द्र निधि हुनुहुन्छ। मैले के भनेँ भने– हामी तीन जनाबाट ५ जना गरौँ, ५ जनाबाट ७ जना गरौँ, ताकि हामी एउटै सुत्रमा बाँधिन सकौँ भन्ने धारणा हाम्रो थियो। तर यता आएर हाम्रो बीचमा केही छलफल भएको छैन।

हामी तीनजना एकठाउँमा उभियौ भने वेभ पनि आउँछ र पार्टी संगठनलाई राम्रो गर्छ भन्ने दृष्टिकोणले नै गर्नुभएको रहेछ विमलेन्द्र निधिले। राम्रो पनि भयो। नकारात्मक पक्षहरु पनि छन् तर त्यो भन्दाभन्दै पनि हामीले तीनै जना एकै ठाउँमा ठाउँमा उभियौँ भने नेपाली कांग्रेस एकैठाउँमा आउँछ भन्ने संकेत चाहीँ प्रष्टै रुपमा दिएको छ।

मुलुकको समूल राजनीतिक अवस्था प्रतिकूल भएकाले नेतृत्व परिर्वतन नगरौँ भन्ने आवाज पनि छ। फेरि यता नेतृत्व परिवर्तनका लागि तपाईंहरुको पहल पनि भइरहेको छ। ठयाक्कै समय आएको हो पुस्तान्तरण वा नेतृत्व परिवर्तनको ?

समय त आएको छ। मेरो भनाई के हो भने, अधिवेशन आउँदैछ। हामीले अधिवेशनमा नेतृत्व परिवर्तन गर्नुपर्छ। किनभने हाम्रो दुर्दशा भएको छ अहिलेको अवस्थामा। यसलाई दृष्टिगत गरेर नेतृत्व परिवर्तन गर्नुपर्छ भन्नेमा हामी तीन जना नेता पुगेका छौँ।

कसरी हुन्छ परिर्वतन? कसले गर्छ परिर्वतन? त्यो प्रश्न त आजसम्म यथावत नै छ। तसर्थ, हामी ३ जना, ५ जना, ७ जना हुँदै समूहलाई ठूलो पार्दै गयो भने एकै ठाउँमा उभिन सक्ने संभावना हुन्छ। त्यसले पार्टीलाई पनि मजबुत पार्छ। एकै ठाउँमा उभिँदा शक्ति पनि मिल्छ र एकजना मात्रै उम्मेदवार भयो भने हामी सजिलोसँग पुस्ता हस्तान्तरण गर्न सजिलो हुन्छ भन्ने ध्येयले हामीले यो प्रोग्राम सञ्चालन गरेको हो।

तीनै जना नेतृत्वको आकांक्षी हुनुहुन्छ, कि त व्यवस्थापन गर्न पर्‍यो, कि त तीनै जना लड्नु पर्‍यो। व्यवस्थापन गर्न सकिन्छ? कुनै उपायहरु छन्?

यो त हामीबीचको वार्ताबाट नै समाधान हुनसक्छ। होइन भने त तीनै जनाले लड्नुपर्‍यो। वार्तामा बसेर कुनै टुंगोमा त पुर्‍याउनु पर्‍यो नि। हामीलाई लाग्छ कि नेतृत्व परिर्वतन हुनुपर्छ र हामी गम्भीर छौँ भनेर त एकजना मात्रै उभिनु पर्‍यो नि। तीनै जना उभियौँ भने त फेरि परिर्वतन हुँदैन। त्यसैले हामी तीन जनाले यति चाहीँ के भन्नुपर्‍यो भने हामी मध्ये एकजना उभियौँ भने चाहीँ सजिलोसँग हस्तान्तरण हुन्छ भन्ने कुराको पुष्टि हुन्छ भन्ने मलाई लागेको छ।

अनि त्यो समयमा रामचन्द्र पौडेल र शेर बहादुर देउवाको व्यवस्थापन कसरी गर्नुहुन्छ?

शेरबहादुर जीको त धेरै उमेर पनि भइसक्यो। रामचन्द्र दाइ पाको मान्छे हुनुहुन्छ। उहाँको राजनीति धेरै उतारचढाब भयो। तर मलाई लाग्छ, उहाँले पनि अघि आएर अभिभावकको रुपमा लिनुपर्ने हो ठाउँ तर उहाँ पनि प्रत्यासी त हुनुहुन्छ। उहाँलाई हामीले सम्झाउन सक्नुपर्‍यो कि तपाईं अभिभावकको भूमिका खेलेर हामीलाई गाइड गर्नुहोस्।

मलाई लाग्छ, शेरबहादुर जीको पनि त्यही नै अवस्था देखिन्छ। धेरै बुढो भइसक्नुभयो। उहाँहरु कतिञ्जेलसम्म राजनीति गरिरहनुहुन्छ त? अभिभावक बनेर हामीलाई गाइड गर्नुपर्ने बेलामा उहाँहरु आफै लड्ने विचार गर्दै हुनुहुन्छ। यसरी चाहीँ अप्ठयारो हुन्छ।

अहिले महामन्त्री हुनुहुन्छ। तपाईंको आफ्नो तयारी कस्तो छ? आफ्नो उम्मेदवारीलाई कसरी स्थापित गर्नुहुन्छ?

सबैभन्दा पहिले त मैले अधिराज्यभरीका कांग्रेसका कार्यकर्ताहरुसँग भेटघाट गरिरहेको छु। उनीहरुको राय, सल्लाह, सुझाव एउटा त्यो भयो। दोश्रो कुरा नेताहरुबीचमा पनि संवाद हुनु जरुरी छ। हुन त कुरा भइरहेको छ, नभएको होइन।

शेखर दाइ, प्रकाशमानजी, रामचन्द्रजी र विमलेन्द्र जीसँग पनि कुरा त भइरहेको छ। हामी यही आधारमा अगाडि बढ्यो भने हामी एउटा टुंगोमा पुग्छौँ। म हुन्छु वा को हुन्छ। जो सुकै होस् एकजना उभिनुपर्छ अहिलेको दृष्टिकोण मेरो त्यही नै हो।

आफ्नो कार्याकालमा शशांक कोइरालाले बोल्नुपर्ने बेलामा बोलेनन्, कार्यकाल सकिएको समितिले भटाभट नियुक्तिहरु गर्‍यो, त्यसमा दह्रो गरी बोलेनन्, नेतृत्वले आफ्नो हिसाबले पेलेर नियुक्ति दिने, मनोनय गर्ने कुराहरु भए, त्यो बेला पनि बोलेनन्, जुन बेला नबोल्नुपर्ने थियो धर्मनिरपेक्षता लगायत विषयमा त्यसबेला बोले किन?

म भन्न चाहन्छु, एउटा त शेरबहादुर हाम्रो सभापति। हाम्रो यत्रो हार भयो चुनावमा। हरेकले उहाँलाई विरोध गरे। म मात्रै एउटा व्यक्ति थिएँ जसले उहाँलाई डिफेण्ड गरेँ। मैले के भनेँ भने उहाँको मात्रै गल्ति होइन। हामी पनि पदाधिकारीहरु हौँ। हाम्रो पनि उत्तिकै गल्ती हो। म ढाल बनेँ शेर बहादुर जीको।

मैले शेरबहादुर जीलाई धेरै सेभ गरेको हो। र मैले नै विरोध गरिदिएको भए त पार्टी एक त छिन्नभिन्न छन् झन् बिग्रेर जान सक्ने अवस्था देखेर मैले शेरबहादुर जीको ढाल बनेर उहाँलाई प्रोटेक्ट गरेको हुँ। नत्र भए त मैले पनि त बोल्न सक्थेँ नि। तपाईले भन्नुभयो किन बोलिनस् भनेर? त्यही उत्तर म तपाईंलाई दिँदैछु। मैले बोलेको भए उहाँको विरोधमा बोल्नुपर्थ्यो। विरोधमा बोलेको भए अवस्था के हुन्थ्यो पार्टी भित्र? त्यो हिसाबले मैले नबोलेको।

तर यता पार्टी विधान, संविधानभन्दा बाहिर गएर बोलेको चाहीँ? एक पटक होइन, तीन–तीन पटक धर्मको बारेमा बोल्दिनुभयो नि?

हाम्रो संविधान बन्दै थियो। त्यो बेला मैले सुशिल दालाई भनेँ– ‘हेर्नुहोस् सुशिल दा, यो बिपी कोइरालाले बनाएको पार्टी, यो चारतारे झण्डामा एउटा तारा धर्म स्वतन्त्रताको प्रतिक हो। तपाईंले धर्मनिरपेक्षता किन गर्दैहुनुहुन्छ?’

उहाँ हतारमा हुनुहुन्थ्यो। ५, ७ दिन मात्रै बाँकी थियो। उहाँले भन्नुभयो ‘यो प्रेसर छ, मलाई के गर्छस्। पछि यो चेञ्ज गरौँला’।

त्यो भनिसकेपछि मैले बोल्ने कुरा आएन। किनभने संविधान नै दिनुभएन भने त सुशिल कोइराला पनि फेलियर भएर जानुहुन्छ। उहाँले अन्तमा संविधान दिन त सफल हुनुभयो नि। यो त नेपाली कांग्रेसका लागि ठूलो उपलब्धि हो नि। त्यो उपलब्धि पनि जान सक्ने संभावना देखेँ। त्यसैले मैले धेरै प्रेसर गरिनँ उहाँलाई।

सभापतिको उम्मेदवारी दिँदै गर्दा तपाईंका मुद्दाहरु के–के हुनेछन् ?

सबैभन्दा पहिला पार्टीलाई एकजुट बनाउने कुरा छ। हाम्रो धरासायी हुने प्रथम काराण के हो भने टुक्रा टुक्रा भएको, गुट उपगुटहरुले ध्वस्त पारेको छ। सभापति आजको मितिमा पनि तेरो मान्छे, मेरो मान्छे भन्नुहुन्छ। उहाँ त सबैको सभापति हो नि। उहाँले आफ्नो धारणा परिर्वतन गरेको भए उहाँनै सफल सभापति हुनुहुन्थ्यो तर उहाँले आजको मितिसम्म ‘उसको मान्छे, मेरो मान्छे’ भन्नुहुन्छ।

म के चाहन्छु भने पार्टीलाई एक बनाऔँ। पार्टीभित्र अहिलेको विधान राम्रो विधान होइन। बिपी कोइरालाले सभापतिय पद्धतिमा जानुपर्छ अर्थात् सबैलाई चुनाव लड्न नदिएर केही सिटहरु चाहीँ मनोनित हुनुपर्छ, किनभने प्रेसिडेन्सियल सिस्टममा प्रेसिडेन्ट त चुनावबाटै आउनुपर्‍यो तर ऊ आइसकेपछि उसले आफ्नो शक्तिलाई सन्तुलित राख्नका लागि मनोनित गर्ने ठाउँ हुनुपर्‍यो। सबैले लडेर हुँदैन। अधिवेशन भइसकेपछि महासमिति डाकेर यो विधानमा परिर्वतन ल्याउनुपर्छ भन्ने मैले सोचेको छु।

शासकीय स्वरुपलाई पनि सत्तारुढ दलले बहसमा ल्याउनुपर्छ भनेको छ। प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको कुरा गरिरहेको छ। यसमा तपाईको टिप्पणी के छ?

प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको विषय धेरै वर्षदेखि उठिरहेको छ। म चाहीँ वेस्ट मिनिस्टर सिस्टममा नै विश्वास गर्छु। पहिले दलको नेता हुन्छ। हाउसमा आफ्नो बहुमत ल्याउँछ। त्यही अनुसार हामी जानुपर्छ। प्रेसिडेन्सियल सिस्टम, डाइरेक्ट चुनाव प्रेसिडेन्सको, त्यो हाम्रो लागि राम्रो हुँदैन।

अन्त्यमा, अब महाधिवेशनकै प्रसंग, क्रियाशिल सदस्यको छिनोफानो, उम्मेदवारको टुंगो लागेर महाधिवेशनको अर्को कार्यतालिका कहिलेसम्म आउला ?

सबैभन्दा पहिला त क्रियाशिल सदस्यतालाई यो महिनाको अन्तिमसम्म टुंग्याउनुपर्छ। त्यसमा हामी लागि रहेका पनि छौँ। समिति बनाएर जिम्मा पनि लगाएका छौँ। अरु पार्टीबाट आएका पनि समावेश हुनुपर्‍यो।

विजय गच्छदारको पार्टी, सुनिल थापा जीको पार्टीको क्रियाशीलहरु पनि समावेश हुनुपर्‍यो र त्यसपछि हाम्रो आन्तरिक पनि समावेश हुनुपर्‍यो। मलाई लाग्छ, यो शीघ्र नै सम्पन्न हुन्छ। त्यसमा फेरि विवाद भयो भने हाम्रो अधिवेशनलाई नै असर गर्छ।

असार २६, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्