जेनी कुँवरको दुखद अन्त्य: अध्यात्मको यात्रादेखि मानसिक विचलनसम्म

बिहीबार बिहान सँगै खाना खाएर छुट्टिएका मनबहादुर कुवँरले साँझ घर फर्कदा श्रीमती (जेनी कुँवर) लाई झुन्डिएको देखे। कामका लागि निस्कँदा उनले आफ्नो श्रीमतीलाई सामान्य देखेका थिए तर साँझ जेनीले आफैले पासो लगाएर संसार छोडिन्। पत्रमा लेखिन्, ‘कसैलाई दुख नदिनु, आफैले हत्या गरेकी हुँ।’

उनको मृत्युको खबर ‘स्तब्ध’ बनाउने खालको थियो। किनकि एउटा सम्पन्न परिवारकी परिपक्व महिला, जो आर्थिक रुपमा सबल थिइन्, सन्तानलाई ‘सेटल’ गराइसकेकी थिइन्। त्योभन्दा पनि जीवनलाई उनले आध्यामिक तवरले बिताइरहेकी थिइन्। जेनीलाई नजिकबाट नियाल्नेहरुले उनमा नराम्रो, गलत विषयको विरुद्धमा आवाज उठाउने साहस देखेका थिए।

जेनीसँग सामाजिक काममा कयौँपटक साथ हिँडेका समाजसेवि प्रदीप घिमिरे भन्छन्, ‘उहाँ आफैँमा सक्षम र निडर पात्र हुनुहुन्थ्यो। उहाँले यस्तो गर्नुभयो भनेर विश्वास नै लागिरहेको छैन।’ प्रदीपले जेनीसँग संगत गरेको समयमा जेनी जीवन जीउने कलाका बारेमा कुरा गर्थिन्,जसबाट प्रदीप पनि प्रभावित थिए।

यस्तै उनको आध्यात्मिक जीवनशैलीबाट प्रभावित भएकी थिइन्, शोभिता सिम्खडा पनि । ‘१० वर्षभन्दा अगाडिको कुरा हो, उहाँ रविशंकर गुरुको भक्त हुनुहुन्थ्यो। गुरु नेपाल आएको बेला म पनि भेट्न गएको थिएँ। उहाँ त्यतिबेला भजन किर्तन गर्ने अर्कै खालको हुनुहुन्थ्यो। उहाँले गुरुसँग भेटाइदिनु भएको थियो।’

सिम्खडा र जेनी चलचित्र क्षेत्रका व्यक्तिहरु थिए तर यी दुईको चलचित्र क्षेत्रको बारेमा कहिले कुरा भएन। जेनी अभिनय गर्ने कलाकारका साथै चलचित्र निर्माता पनि हुन्। उनले लेखेको गीत ‘माया गर मायालुले’ पछिल्लो समयमा सामाजिक सञ्जालमा भाइरल बन्यो।

केही समय चलचित्र क्षेत्रमा व्यस्त भएर लागेकी जेनीले काम गरेको पहिलो चलचित्र ‘जिन्दगानी’ हो। त्यसपछि जेनीले ‘मैदान’, ‘जीवनदाता’, ‘कानून’, ‘अभिमन्यू’, ‘विन्तिपत्र’, ‘मलाई माफ गरिदेऊ’ लगायतमा काम गरिन्। उनी पछिल्लो पटक चलचित्र ‘हलचल’मा देखिएकी थिइन्।

शोभिताले देख्दा, कुरा गर्दा जेनी प्रभावशाली महिला थिइन्। ‘त्यो बेलामा सकारात्मक कुरा गर्नुहुन्थ्यो, जीवन कस्तो रमाइलो छ, सुन्दर छ भन्नुहन्थ्यो,’ शोभिताले भनिन्, ‘त्यसपछिको केही समय हाम्रो भेट भएन। म पनि चलचित्र क्षेत्रबाट टाढा भएँ, उहाँ पनि विस्तारै चलचित्र क्षेत्रबाट टाढा हुनुभयो। म उहाँ के गर्दै हुनुहुन्छ भनेर बेखबर थिएँ।’

त्यसरी टुटेको भेट तीन वर्ष अगाडि फेरि जुरेको रहेछ। ‘उहाँ मलाई खोज्दै तपोवन आउनुभएको रहेछ। हामी ३, ४ घण्टा जति कुराकानी गरेर बस्यौँ’ सिम्खडाले भनिन्, ‘तर उहाँलाई मैले अर्कै पाए। मैले उहाँलाई भनेँ पनि, ‘तपाई अर्कै हुनुभएछ, अर्कै कुरा गर्न थाल्नु भएछ। कसरी यस्तो भयो ? जवाफमा उहाँले भन्नुभयो, पहिला मैले बुझेको सब गलत रहेछ, मैले एक जना माता भेटेको थिएँ, उहाँ राम्रो हुनुहुन्छ। म पनि तिमीलाई लिएर जान्छु।’

सिम्खडासँग जेनीको पहिलको भन्दा फरक बोली व्यवहार देखेपछि सिम्खडाले प्रतिक्रिया पनि जनाएको बताइन्, ‘तपाईँ पहिला जस्तो आनन्दित हुनुहुन्न।’ त्यस दिन शोभिताले जेनीलाई ध्यान गर्न जाउँ पनि भनेकी हुन् तर आफू व्यस्त भएको बताउँदै जेनी निस्किइन्।

त्यसको केही समयपछि शोभितासँग भेट्नकै लागि जेनी फेरि तपोवन आइन्। पहिलोपल्ट भेटिएको भन्दा झन फरक उनको स्वाभाव थियो।

‘फोटो खिच्यै खिच्यै गर्ने, अलि चञ्चल मन थियो उहाँको। त्यतिबेलामा पनि मैले ध्यान गर्न जाम भनेको थिएँ तर उहाँ मान्नुभएन,’ सिम्खडाले भनिन्, ‘त्यसपछि उहाँसँग पशुपतितिर आक्कल झुक्कल भेट हुन थाल्यो। अनि उहाँका भाइरल इन्टरभ्यूहरु यूट्युबमा आउन थाले।’

जेनीलाई नियाल्नेले अध्यात्म अनि धर्मको बाटोमा हिँडिरहेकी उनलाई समय अनुसार परिवर्तन भएको ठाने। उनको फेरिएको भेष अनि बोलिभित्र के थियो सिम्खडाले चाल पाइनन्, मात्र उनलाई लाग्यो- केही गडबढ छ। व्यक्तिगत व्यवहार र परिवारको कुरा पहिला पनि हुँदैनथ्यो, शोभिताले सम्झाइन् मात्र।

‘भाइरल भिडियो अन्तर्वार्ता आइरहेको केही दिनमा उहाँ मलाई भेट्न फेरि आउनुभएको थियो। त्यो समयमा उहाँ पुरै कालो पहिरनमा हुनुहुन्थ्यो। मैले उहाँको फरक खालको बोली देखेर तपाईँलाई केही समस्या छ कि? म सहयोग गर्न सक्छु? भनेर सोधेको पनि थिएँ,’ उनले भनिन्, ‘मैले उहाँलाई तपाईँ अलि फरक बाटो हिँडिरहनु भएको छ, ध्यान गर्नु साधना गर्नु भनेको थिएँ। उहाँलाई मेरो त्यो बेलाको कुरा मन परेन। अनि उहाँ जानुभयो। त्यसपछि फोनमा एकपल्ट कुरा हुँदा ध्यान बस्न आउँछु भन्नु भएको थियो तर आउनुभएन।’

जेनीले पशुपतिक्षेत्रमा आफ्नो धेरै समय बिताउने गर्थिन्। कोरोना महामारीको समयमा उनी कोरोना संक्रमितको स्वास्थ्य लाभ र कोरोनाबाट ज्यान गुमाउनेहरुको आत्माको शान्तिको लागि पूजा लगाउँदै आएकी थिइन्।

पशुपति क्षेत्रमा रहँदा उनलाई केही कुरा चित्त बुझ्थेन। पशुपति क्षेत्रमा भएका साधुहरुसँग एकपल्ट झगडा गरेको भिडियो पनि युट्युबमा आएका थिए। पशुपति क्षेत्र परिसरमा यस्ता घटना घटाएको भन्दै उनलाई प्रहरी हिरासतमा पनि राखिएको थियो।

त्यसपछि उनका केही इन्टरभ्यूहरु भाइरल भयो। भजनमा नाच्दै हिँडेको पनि देखिन थालिन्। यूट्युबमा उनलाई आफ्नै धुनमा मस्त भएको देखिएको थियो।

तर जेनीको आफ्नो फेसबुकमा भने उनले धेरै पोस्ट गरेकी छैनन्। उनलाई ट्याग आएका पोस्टहरु भएपनि उनी आफैले सन् २०२१ मार्च १९ मा फेसबुकमा पोस्ट गरेकी छन्। उनलाई बाहिरबाट देख्नेले धनले सम्पन्न देखेका थिए, जोसिली, खुसी देखेका थिए। तर उनको मानसिक अवस्थाबारे उनका निकट मानिने धेरैलाई थाहा नभएको अवस्था थियो।

बिहीबार जेनीका श्रीमानले प्रहरी अनुसन्धानको क्रममा जेनी ६ महिनादेखि नियमित रुपमा ओम अस्पतालमा धाउँदै आएको बताएका थिए। उनलाई डिप्रेशन भएको उनका श्रीमानले प्रहरीलाई बताएका थिए।

‘डिप्रेशन ‘बेखुसी’ हुने अवस्था हो। जब यसको तह बढ्दै जान्छ, यसले मानिसमा शारीरिक समस्या निम्त्याउनुका साथै आफैलाई हानि गर्ने अवस्थासम्म पुर्‍याउँछ,’ मनोचिकित्सक डा रितेश थापा भन्छन्, ‘ कहिलेकाहिँ उदास जो पनि हुन्छ, कहिलेकाहिँ निन्द्रा नलाग्नु, खुशी हुनु, कहिलेकाहिँ उदास हुनु सामान्य हो। तर प्रायजसो समय, दिन मन उदास रहिरह्यो, पहिलाको जस्तो फुर्ती नआउने भयो, जाँगर नलाग्ने भयो भने डिप्रेशनको अवस्था हुन सक्छ। यही समस्या निरन्तर रहिरह्यो भने त्यसले रोग निम्त्याउँछ।’ मनोचिकित्सकहरु डिप्रेशनको शारीरिकका साथै भावनात्मक लक्षणहरु देखिने बताउँछन्।

चिकित्सकका अनुसार डिप्रेशन हुने बित्तिकै बिरामी खतरनाक अवस्थामा पुग्छ भन्ने हैन, यसका विभिन्न चरण हुन्छन्। डिप्रेशनको समयमा नै पहिचान र सही उपचार भयो भने बिरामी निको हुन्छ। नत्र भने उसले कतिबेला आफूलाई हानि गर्छ थाहा हुँदैन।

जेनी उपचारमा त पुगेकी थिइन् तर उनले आफैलाई हानि गरिन्। उनका श्रीमानको बयान अनुसार मानसिक समस्याले अफ्ठेरोमा परेकी उनले पत्रमा लेखेकी थिइन्, मेरा श्रीमानले मलाई धेरै माया गर्छन्, मैले डिप्रेशनको कारणले आफ्नो हत्या गर्ने निर्णय लिएकी हुँ।’

उनको मृत्युमा खेद गर्ने धेरैले उनलाई श्रद्धाञ्जलि दिए। शोभिताले पनि ध्यानमा ल्याउनसकेको भन्दै दुखमनाउ गरिन्। किनकि जेनीलाई सहयोग गर्ने विकल्पमा अब पूर्णविराम लागेको छ।


जेनीको अन्तिम संस्कार शुक्रबार पशुपतिमा भयो । उनको अन्तिम संस्कारमा निर्देशक सुचित्रा श्रेष्ठ पनि पुगेकी थिइन्। जेनीलाई नजिकबाट चिनेकी उनले जेनीको आत्महत्या पत्याउन गाह्रो भएको बताइन्। उनले भनिन्, ‘संसारसँग लड्ने जेनी आफूैसँग हारिन् !’

हार्दिक श्रद्धाञ्जलि !

असार २६, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्