सनातन यात्रा

भानुभक्तीय रामायणको मौलिक पाठ

नेपाली समाजमा आदिकवि भानुभक्त आचार्यका कृतिहरूको धार्मिक, सांस्कृतिक, दार्शनिक र साहित्यिक महत्त्व अत्यधिक रहेको देखिन्छ । उनका कृतिहरूको अनुशीलन गर्दा तिनमा विविध पाठभेद पनि देखा पर्दछन् । विभिन्न सम्पादकले भानुभक्तका रचनाहरू प्रकाशित गर्ने क्रममा आआफ्नै सुरले पनि भानुभक्तका भाषालाई सच्याइदिएको पाइन्छ । त्यसैले यहाँ भानुभक्त आफैँले लेखेका रामायणका मूल पाठका विषयमा संक्षेपमा चर्चा गरिँदै छ ।

वि.सं.२०६७ मा पिताजी शिवराज आचार्य कौण्डिन्न्यायनले भानुभक्तीय रामायणको पाठसमीक्षात्मक संस्करण निकाल्नुभएको थियो । त्यसपछि त्यसै संस्करणका आधारमा वि.सं.२०७३ मा भानुका सम्पूर्ण कृतिहरूको लोकानुकूल सुलभ संस्करणको पनि सम्पादन गर्नुभएको थियो । यस संस्करणले नेपालीहरूको लोकप्रिय सम्पूर्णाङ्ग आदिकाव्य भानुभक्तकृत भाषारामायणको भानुभक्तले नै लेखेको मौलिक रूपको अत्यन्त नजिकको पाठ जनसाधारणको पहुँचमा ल्याइदिएको छ । यसअघि विभिन्न सम्पादकबाट भएका संशोधन र थपघटबाट भानुका रचनालाई मुक्त पार्न गरिएको यस प्रयासबाट सम्पूर्ण साहित्यप्रेमी नेपालीहरूले भानुभक्तको मौलिक रूपको रसास्वादन गर्न पाएका पनि छन् । यहाँ केही प्रमुख पाठहरूको स्वरूपको चर्चा गरिन्छ ।

रामायणका प्रथम श्लोकमा (१।१) भानुभक्तले लेखेको पाठ यस्तो छ— “एक् दीन् नारद सत्यलोक् पुगिगया लोक्को गरू हीत् भनी”। हस्तलिखित पुस्तकमा “दीन् हीत्” यस्ता लेखाइ पाइन्छन् । यस्ता लेखाइ नै श्लोकको लयविशेषमा गरिने पाठको अनुकूल देखिन्छ । भानुभक्तले त्यस्तै लयविशेषमा उच्चारण गर्दै श्लोकको रचना गरेका होलान् । पछिका सम्पादकहरूले संस्कृतको वर्णानुपूर्वीका दृष्टिले दीन्‌लाई दिन्हीत्‌लाई हित् बनाइदिएको बुझिन्छ। भानुभक्तले भने वृत्तका (छन्दका) आवश्यकताका र अनुकूलताका दृष्टिले इकार–उकारलाई ह्रस्व वा दीर्घ बनाई प्रयोग गर्ने, संस्कृतका पदहरूको संस्कृतअनुसारको शुद्धताको वास्ता नगर्ने गरेको देखिन्छ ।

त्यसै गरी उक्त श्लोकमै (१।१) “गरू” यस पाठका रूलाई मुद्रणका बेलामा सम्पादकहरूमध्ये कसैले रूँ र कसैले रूं बनाइदिएको देखिन्छ। भानुभक्तको लेखाइमा रू नै रहेको बुझिन्छ। भानुभक्तका चिठीमा पनि “ढेरै क्या लेषु” भन्ने प्रयोग देखिन्छ, “लेषुँ” भन्ने प्रयोग देखिँदैन । तसर्थ भानुभक्तका प्रयोगमा गरूँ लेखुँ इत्यादिजस्ता अनुनासिकस्वरयुक्त प्रयोगहरू नभएको गरू लेखु इत्यादिजस्ता अनुनासिकरहित स्वर भएका प्रयोगहरू नै रहेको बुझिन्छ ।

दोस्रा श्लोकमा (१।२) भानुभक्तले लेखेको पाठ यस्तो छ— “आऊला जब यो कली उस बखत् प्राणी दुराचार् भयी”। सम्पादकहरूले यहाँ पनि पाठ केही परिवर्तन गरेको बुझिन्छ —“आऊला जब यो कली बखतमा प्राणी दुराचार् भई”। यहाँ जबसित सुसमन्वित हुने गरी प्रयोग भएको उस बखत् भन्ने पाठ नै वाक्यसंरचनाका दृष्टिले उपयुक्त देखिन्छ ।

भानुभक्तका समयमा उनका गाउँठाउँमा लोकबोलीमा ढेर् यस्तो रूप चलेकाले भानुभक्तले यस्तै रूपको प्रयोग गरेका थिए । पछिका सम्पादकले सदरिया भाषा बनाउन ढेर्‌लाई धेर् बनाइदिएका रहेछन् । भानुका हस्तलिखित चिठीका छायाप्रतिलिपि हेर्दा पनि “ढेरै क्या लेषु” भन्ने प्रयोग पाइन्छ । बालकाण्डका पाचौँ र बाइसौँ श्लोकहरूमा (१।५, २२) ढेर्ढेरैलाई क्रमशः धेर्धेरै बनाइएको देखिन्छ । सुन्दरकाण्डका एक सय आठौँ श्लोकमा (५।१०८) भएको “सीता खोज्न हुकम् हुँदा विरहरू ढेर् दश् दिशामा गया।” यस श्लोकको ढेर्‌लाई पनि सम्पादकहरूले नरुचाएर फेर् बनाइदिएको बुझिन्छ जुन पाठ असङ्गत छ । धेर् बनाएको भए बरु सङ्गत हुन्थ्यो । यसै अससङ्गत पाठलाई आधुनिक सम्पादकहरूले लिने गरेका छन् ।

बालकाण्डका बाह्रौँ श्लोकको (१।१२) प्रचलित पाठ यस्तो छ— “चारै वेद पढेर शास्त्रहरूको व्याख्यान गर्दा पनी”। यहाँ पनि सम्पादकहरूले पाठ केही परिवर्तन गरेको बुझिन्छ । लेखोट पुस्तकहरूमा पाइने “व्याख्यान् गर्‍याले” भन्ने पाठलाई पछिका सम्पादकले व्याख्यान गर्दा बनाएको देखिन्छ । “गर्‍याले” भनेको गरेकाले भनेको हुँदा अर्थ सङ्गत नै रहेको छ, पाठपरिवर्तन गर्नुपर्ने आवश्यकता देखिँदैन ।

बालकाण्डका तेह्रौँ श्लोकमा (१।१३) भानुभक्तले लेखेको पाठ यस्तो थियो— “तेस्ले तीर्थपिछे तुलापुरुषदान् सूय्र्यग्रहण्‌मा गर्‍यो”।  “सूय्र्यग्रहण्‌मा”को उच्चारणमा ग्रका गकारको द्वित्व भै पैलो गकार यका अकारले तानिई सूय्र्यग्ग्रहण् भन्ने उच्चारण हुने हुँदा वृत्तभङ्ग (छन्दोभङ्ग) हुँदैन । तथापि पछिका सम्पादकले “सूय्र्यै ग्रहण्‌मा” भन्ने बनाइदिएको देखिन्छ ।

बालकाण्डका चौधौँ श्लोकमा (१।१४) यस्तो पाठ देखिन्छ— “मान्छन् श्रीरघुनाथका प्रिय इ हुन् मान्न्या इनै हुन् भनी”। यहाँ पनि सम्पादकहरूले पाठ केही परिवर्तन गरेको बुझिन्छ । भानुभक्तका प्रयोगमा र हस्तलेखहरूमा पनि पाइने “मान्ना” भन्ने पदलाइ “मान्न्या” बनाइदिएको देखिन्छ । मान्ना भनेको त्यस वेलाका बोलीमा मान्न्य भनेको हो ।

बालकाण्डका सोह्रौँ श्लोकका (१।१६) माहात्म्यै–शब्दमा आकारको भानुभक्तले लघु रूपमा प्रयोग गरेका छन् । यस्ता स्थितिमा आकार पनि ह्रस्वै उच्चरित हुने हुँदा वृत्तभङ्ग नहुने हुनाले भानुभक्तले स्वाभाविक रूपमा आकारै लेखेका होलान्, महात्म्यै लेखेनन् होला। अरूले ह्रस्व बनाइदिएको बुझिन्छ । भानुभक्तले रामायणमा अनगिन्ती स्थलमा आकारको लघु रूपमा प्रयोग गरेका छन् । यहाँ संस्कृतको दीर्घ अवर्णमा र नेपालीको आकारमा भेद छ भन्ने कुरा बुझ्नुपर्छ। नेपाली भाषामा रहेको ह्रस्व आ–को विवेचना सर्वप्रथम “नेपाली वर्णोच्चारणशिक्षा”मा (साझाप्रकाशन, २०३१, पृ.२१३– २२९) गरिएको पाइन्छ ।

बालकाण्डका सैँतिसौँ श्लोकमा (१।३७)  भानुभक्तले बोलिचालीको “साछि” पद लेखेकामा पछिका सम्पादकले संस्कृतीकरण गरेर “साक्षि” बनाएका हुन् । यसो गर्दा भाषाप्रतिको भानुभक्तको दृष्टिकोणलाई ध्यानमा नराखिएको देखिन्छ ।

बालकाण्डका अड्तिसौँ श्लोकमा (१।३८) “आत्मा–ऽनात्म–परात्म–भेद् बुझिलिन्या गर्नू सदा काम् पनी” यस्तो पाठ लेखोटमा र एउटा पुराना छापामा समेत रहेको पाइन्छ । तर यस पाठलाई बालकाण्डका प्रथम सम्पादकले “आत्मा और परात्मलाइ बुझिलिया पाइन्छ मुक्ती पनी” भन्ने र पछिकाले “आत्मा और परात्मलाइ बुझदा पाइन्छ मुक्ती पनी” भन्ने बनाइदिएका छन् ।

बालकाण्डका त्रिपन्नौँ श्लोकमा (१।५३) “ऋष्यशृङ्ग” शब्द आएको छ । लोकबोलीमा रिस्स्यस्स्रिङ्ग नै उच्चरित हुने र त्यस्तो उच्चारण हुँदा वृत्तभङ्ग पनि नहुने हुँदा भानुभक्तले ऋष्यशृङ्ग लेखेका थिए । तर पछिका सम्पादकहरूले त्यसरी लेख्दा वृत्तभङ्ग भएको ठानेर “ऋष्यैशृङ्ग” बनाइदिएको देखिन्छ ।

बालकाण्डका असीऔँ श्लोकमा (१।८०) नेपाली भाषामा प्रचलित “सराप्” शब्द भानुभक्तले प्रयोग गरेकामा पछिका सम्पादकहरूले स्राप् बनाइदिएको देखिन्छ । स्राप–शब्द संस्कृत पनि हैन । तसर्थ त्यसो गर्नु उचित र आवश्यक पनि हैन ।

बालकाण्डका सन्तान्नब्बेऔँ श्लोकमा (१।९७) भानुभक्तले “नावै…नावैले” शब्द प्रयोग गरेको बुझिन्छ । यहाँ पछिकाले “डुङ्गा…डुङ्गाले” बनाएको देखिन्छ । नाउको र डुँगाको वाच्यार्थ फरक छ । धेरै काठ जोडेर बनाएको ठुलो नौकालाई नाउ भन्छन् । एउटै काठ खोपेर डुँडजस्तो गरी बनाएको सानो नौकालाइ डुँगा भन्छन् । काशीमा गङ्गामा नाउ चलेको देखेका भानुभक्तले गङ्गा तर्ने साधनलाई नाउ नै भनेको हुनुपर्छ ।

सुन्दरकाण्डका एक सय चउन्नौैँ श्लोकमा (५।१५४) रहेको  “तुलसि मात्र” भन्ने लेखोटका पाठलाई पछिकाले “तुलसिपत्र” बनाइदिएको देखिन्छ । अरू सामग्री जोर्नतिर नलागी तुलसी मात्रै चढाएर पनि जसले हरिको पूजा गर्छन् तिनै पनि संसारसागर तर्छन् भने हरिका दूतै भएका हनुमान्‌को त वर्णन गरेर के साध्य छ र भन्ने भाव स्पष्ट पार्न तुलसि मात्र भन्ने पाठ नै सबै दृष्टिले उचित हो । त्यसमा परिवर्तन गरिदिनु अबुझपनाको काम देखिन्छ ।

अयोध्याकाण्डका सातौँ श्लोकमा (२।७) “अह्राउ्ँछँन्” भन्ने प्रयोग भानुभक्तले गरेका थिए । तर पछिकाले स्वरको खुट्टो काट्ने गरी गरेको प्रयोग उचित भएन भनेर होला “कहन्छन्” बनाइदिए । लेखोटहरूमा त अह्राउँछँन् नै पाइन्छ । ह्रा पर भए पनि लघु नै उच्चरित हुने हुँदा वृत्तभङ्ग (छन्दोभङ्ग) हुँदैन । अथवा लेखनमा अह्राउँछँन् भए पनि उच्चारणमा त भानुभक्तका समयमा पनि अराउ्ँछन् नै भएकाले वृत्तभङ्ग हुने शङ्का नै हुँदैन भन्ने कुरा सम्झनुपर्छ । संस्कृतमा पनि “प्र ह्रे वा” भन्ने उक्ति प्रसिद्ध भएकाले प्र वा ह्र पर भएमा पूर्वाक्षर गुरु नहुने पक्ष पनि मान्य भएको कुरा बुझ्नुपर्छ।

अयोध्याकाण्डका छयान्नब्बेऔँ श्लोकमा (२।९६) रहेको “बिन्ति सधाइजावस्” भन्ने पाठलाई पछिकाले “फर्कि सधाइ जावस्” बनाइदिएको देखिन्छ । यहाँ बिन्ति सधाउनु भनेको बिन्ति स्वीकार्नु अर्थात् बिन्ति मान्नु हो । यो कुरा नबुझी पछिकाले पाठ फेरेको देखिन्छ ।

अयोध्याकाण्डका एक सय चौधौैँ श्लोकमा (२।११४) रहेको “नचाउ्ँछिन् त्रिभुवन पनि ता” भन्ने पाठलाई पछिकाले “नचाउँछिन् त्रिभुवनपति सब्” बनाइदिएको देखिन्छ । यसबाट अर्थै नमिल्दो हुन पुगेको छ । एउटा संस्करणमा चाहिँ “त्रिभुवन पनि सब् धन्य छन् तम्रि माया” भन्ने पाठ पाइन्छ ।

किष्किन्धाकाण्डका उनन्तिसौैँ श्लोकमा (४।२९) कुनै लेखोटमा र कुनै छापामा “यो ज्ञान् आज नद्यूँ भनी” भन्ने पाठ  छ । तर अरूले “नद्यूँ” को सट्टा “म द्यूँ” भन्ने पाठ लिएको देखिन्छ ।

किष्किन्धाकाण्डका त्रिहत्तरौैँ श्लोकको (४।७३) “लेपै हवैैन” भन्ने पाठलाई सम्पादकहरूले “लेखै हवैैन” बनाइदिएको देखिन्छ । अध्यात्मरामायणमा “प्रवाहपतितं कार्यं कुर्वन्त्यपि न लिप्यसे” (४।३।३५) भन्ने र वेदमा पनि “न कर्म लिप्यते नरे” (शुक्लयजुर्वेद४०।२) भन्ने वाक्य पाइने हुँदा जीवमा कर्म लिप्त हुने–नहुने कुरा विचार गरिँदै आएको भन्ने बुझिन्छ । तसर्थ लेखोटहरूमा पाइने “लेपै हवैैन” भन्ने पाठ नै समुचित देखिन्छ ।

सुन्दरकाण्डका एक सय अड्चालिसौैँ श्लोकमा (५।१४८) रहेको “बहूत् पोल्याकि छू” भन्ने लेखोटका पाठलाई पछिकाले “बहूत् बोल्याँ कछू” अथवा “बहूत् बोल्याकि छू” बनाइदिएका छन् । किन्तु यो परिवर्तन वा संशोधन असङ्गत छ । अध्यात्मरामायणको “दुरुक्तं भाषितं पुरा” (५।५।५४) भन्ने अंशको बहूत् पोल्याकि छू भनी भावानुवाद गरेको देखिन्छ । यो नै जीवन्त भाषाको प्रयोग हो ।

सुन्दरकाण्डका एक सय चउन्नौैँ श्लोकमा (५।१५४) रहेको  “तुलसि मात्र” भन्ने लेखोटका पाठलाई पछिकाले “तुलसिपत्र” बनाइदिएको देखिन्छ । अरू सामग्री जोर्नतिर नलागी तुलसी मात्रै चढाएर पनि जसले हरिको पूजा गर्छन् तिनै पनि संसारसागर तर्छन् भने हरिका दूतै भएका हनुमान्‌को त वर्णन गरेर के साध्य छ र भन्ने भाव स्पष्ट पार्न तुलसि मात्र भन्ने पाठ नै सबै दृष्टिले उचित हो । त्यसमा परिवर्तन गरिदिनु अबुझपनाको काम देखिन्छ ।

युद्धकाण्डका सोह्रौैँ श्लोकमा (६।१६) रहेको “छायेर कालम् बनी” भन्ने लेखोटका पाठलाई अरूले नबुझेर होला “लीयेर लङ्का बनी” बनाइदिएको देखिन्छ । “कालम् बनी” भनेको पृथ्वी ढाकेर कालाम्मे पार्दै भनेको देखिन्छ । यो काला लङ्गुरे बाँदरको फौजलाई लिएर भनिएको बुझिन्छ ।

युद्धकाण्डका एक सय एकसठ्ठिऔैँ श्लोकमा (६।१६१) रहेको “मध्यबीच वनमा” भन्ने पाठलाई पछिकाले “मध्यरात्रि बिचमा” बनाइदिएका छन् । “मध्य बीच” शब्दहरूको प्रयोगले पुनरुक्ति भएको मानी परिवर्तन गरेका होलान् । किन्तु मध्यबीच दुबै शब्द मिलाएर एउटै अर्थ स्पष्ट गरी भन्न खोजिएको बुझिन्छ । अध्यात्मरामायणमा पनि वन–शब्दको प्रयोग छ (एकदाऽहं वने सानौ ६।७।५९) ।

उत्तरकाण्डका साठिऔैँ श्लोकमा (७।६०) रहेको  “बैदाङ्गमा” भन्ने शब्दको अर्थ नबुझेर होला कुनै लेखोटका लेखकले र पछिका सम्पादकले “वेदाङ्गमा” लेखेको वा छपाएको देखिन्छ । बैदाङ्ग भनेको वैद्याङ्ग अर्थात् वैद्यको विद्या आयुर्वेद भनेको हो । अश्विनीकुमार स्वर्गका वैद्य मानिन्छन् । ती शिक्षा, कल्प, व्याकरण, निरुक्त, छन्द र ज्योतिष यी छ वेदाङ्गमा हैन बैदाङ्गमा पारङ्गत मानिन्छन् ।

उत्तरकाण्डका एकसयौैँ श्लोकमा (७।१००) लेखोटहरूमा रहेको “तरोस् यो लोक” यस पाठलाई पछिका सम्पादकहरूले “रहोस्” बनाइदिएको देखिन्छ ।

भानुभक्तका लेखाइमा प्रसङ्गअनुसार आधामा श्लोक छाडिएकामा मुख्यतया मोतीरामले श्लोक पूरा गर्ने भनी केही पाउहरू र कतैकतै श्लोकहरू पनि थपेका छन् (१।१३८, २।३८–४०, ३।१०९, ४।११८, ५।५३, ५८–५९, ६।५२, १०६, १०९, २०१, २१४, २७८, ३०९, ३१८, ३२६, ३६२, ७।६, २५, ८०–८१, १६२, १९३, १९६) । हस्तलेखमा नभएकाले यस्ता श्लोक वा श्लोकांश पछि थपिएका रहेछन् भन्ने बुझिन्छ ।

माथि दिइएका त केही उदाहरण मात्र हुन् । तीभन्दा अतिरिक्त पनि धेरै नमिल्दा पाठहरू रामायणका विभिन्न संस्करणहरूमा प्रकाशित गरिएका छन् । पाठकहरूमा यस विषयको चेतना र भानुभक्तका मौलिक पाठहरूप्रतिको जिज्ञासा तथा रुचि बढ्दै गएमा तिनमा संशोधन पनि हुँदै जानेछ भन्ने अपेक्षा गर्न सकिन्छ।

(आमोदवर्धन कौण्डिन्न्यायनको यो स्तम्भ ‘सनातन यात्रा’ हरेक शुक्लपक्षको प्रतिपदाको दिन प्रकाशित हुन्छ।)

असार २७, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्