साप्ताहिक विश्लेषण (असार २० देखि २६)

विगतका प्यान्डेमिक भन्दा अहिलेकाे काेराेना कति खतरनाक?

भनिन्छ प्यान्डेमिक एक सताब्दीमा एक पटक आउँछ। हाम्रो जीवनकालमा हामीले देख्न पाउने प्यान्डेमिक सायद वर्तमान कोरोना प्यान्डेमिक नै पहिलो र अन्तिम प्यान्डेमिक हुनु पर्दछ। प्यान्डेमिक कसैको लागि पनि सुखद कुरा हुन सक्दैन, बरु एक विपदकाे कुरा हो। विश्वमा आइपर्ने विभिन्न किसिमका प्रलय मध्येको एक हो यो।

यसको पूर्वसूचना र  रोकथाम मानव क्षमता भित्र पर्दैन। यद्यपि नियन्त्रण र उपचारको कोसिस भने पक्कै पनि गर्न सकिन्छ। यस्तो विपदकालमा सोक र सन्तापमा मात्रै डुबेर हुँदैन। यसलाई धैर्यताका साथ्  सहन र भोग गर्न सक्नु पर्दछ। त्यति मात्रै नभई विपदको मौकाको फाइदा उठाई यसका विविध पक्षहरुको अध्ययन र अनुसन्धान गर्नु एक अब्बल मानवीय गुण हुन सक्दछ। हामी सबैले यस्तो प्रयास गर्नु पर्दछ।

प्यान्डेमिक कालमा आफूले भोगेको, देखेको, सुनेको, अध्ययन र अनुसन्धान गरेको आदि कुराहरुलाई लिपिबद्ध गरी संग्रह गरी राखेमा वर्तमान र भविष्यका पुस्ताहरुको लागि  शिक्षाप्रद मात्रै हुन नगई इतिहासको अध्ययन  र खोजको लागि पनि राम्रो श्रोत हुन सक्दछ।

प्यान्डेमिकको इतिहासको कुरा गर्दा हालसम्मकै सबैभन्दा पुरानो प्यान्डेमिक चीनको उत्तरपूर्वी भागमा करिब ५००० वर्ष पहिले देखिएको थियो जुन ठाउँ अहिले एक सुन्दर संग्रहालयको रुपमा सुरक्षित राखिएको छ। पुरातत्व र मनावशास्त्र सम्बन्धी अध्ययनहरुले उक्त प्यान्डेमिक कुन रोगले लागेको भन्ने थाहा नभएता पनि त्यस रोग निकै तीव्र गतिमा फैलिई विभिन्न उमेरका असंख्य मानिसलाई प्रभाव परेको थियो र त्यस ठाउँमा फेरि लामो समयसम्म कुनै बस्ती बसेको थिएन।

त्यसपछि करिब २४५० वर्ष पहिले ग्रिसको एथेन्समा प्लेग रोगको प्यान्डेमिक फैलिएको थियो जुन करिब ५ वर्षसम्म रहेको थियो र यसले करिब एक लाख मानिसको ज्यान लिएको थियो। त्यसपछि निरन्तर प्लेगका  कैयौँ महामारी या प्यान्डेमिक विश्वका धेरै ठाउँहरुमा धेरै पटक आए अनि गए जसले पचासौँ  लाख, त्यति बेलाको करिब १०% जनसंख्याको ज्यान लिएको  थियो।

त्यस्तै सन् १३४६ तिर प्लेगको अर्को प्यान्डेमिक फैलिएको थियो जुन एसियाबाट युरोपमा फैलिएको थियो। त्यति बेला यति धेरै मानिस मरे कि त्यसलाई कालो मृत्यु (Black  death)को संज्ञा दिइएको थियो। त्यति बेला काम गर्ने मानिसको यति धेरै हाहाकार मच्चियो कि त्यसैले गर्दा विज्ञान र प्रविधिको विकास हुने क्रम सुरु भयो भनेर भनिन्छ। त्यस पछि पनि प्लेगको प्यान्डेमिक अमिरिका र युरोपमा थुप्रै पटक फैलिई पछि एल्लो फिवर, फ्लु आदिको प्यान्डेमिक पनि हुन थाल्यो।

स्प्यानिस फ्लुको नाम त हामी मध्ये धेरैले सुनेकै कुरा हो। प्यान्डेमिकको इतिहासमा पछिल्लो सबैभन्दा ठूलो प्यान्डेमिक यही स्प्यानिस फ्लुको प्यान्डेमिक थियो जसले ५० करोडभन्दा धेरै, त्यति बेलाको विश्वको एक तिहाई जनसंख्यालाई संक्रमण गरेको थियो र ती मध्ये अमेरिकामा मात्रै करिब ६७५००० र विश्वमा करिब ५ करोड मानिसको मृत्यु भएको थियो।

स्प्यानिस फ्लु सन् १९१८ देखि १९२० सम्म पहिलो विश्व युद्धको लगत्तै युरोपमा देखिएको थियो जसले ५ वर्ष भन्दा मुनिका बालबालिका, बयश्क र बृद्धहरु सबै उमेरका मानिसलाई संक्रमण गरेको थियो। सन् १९१८को बसन्तमा अमेरिकाको एक सैनिकमा देखापरी युरोप र तुरन्तै विश्वभरि फैलिएको स्प्यानिस फ्लुको कारक N1H1 जीवाणु (भाइरस)द्वारा हुने रुघा या फ्लु थियो। शारीरिक रुपमा तन्दुरुस्त २० देखि ४० उमेरका बयश्कहरुमा पनि कडा संक्रमण भई मृत्यु अत्यधिक हुनु उक्त प्यान्डेमिकको विशेषता थियो।

स्प्यानिस फ्लु पश्चात अन्य साना साना महामारीहरु पनि विश्वमा धेरै आए जस्तै एसियन फ्लु, एड्स, N1H1, अफ्रिकन इबोला, जीका आदि जसले त्यति धेरै ठूलो रुप लिन पाएन।

स्मरण रहोस् वर्तमान कोरोना प्यान्डेमिकले हालसम्म करिब साढे अठार करोडलाई संक्रमण गरेको छ भने करिब ४० लाख अर्थात् २.१५% को ज्यान लिएको छ। स्प्यानिस फ्लुभन्दा वर्तमान कोरोना प्यान्डेमिक  हालसम्म धेरै कम र सानो देखिएको छ। कल्पना गरौँ कोरोना प्यान्डेमिक पनि स्प्यानिस फ्लु जत्तिकै भयावह भयाे भने यो संसार कस्तो हुन्छ होला। त्यसैको लागि हामी सबैले सावधानी र प्रतिबन्धका आवश्यक कुराहरुको कडाईका साथ पालना गर्नु पर्दछ।

हाल दक्षिण एसियामा समग्र दैनिक कोरोना संक्रमण कम हुँदै जाने क्रम जारी रहेता पनि पछिल्लो समय करिब एक महिनादेखि संक्रमण र मृत्यु घट्ने क्रम रोकिएको छ। दक्षिण एसियाको विगत १५ दिनको समग्र दैनिक संक्रमण र दैनिक मृत्युको प्रवृत्ति चित्र न.१ मा देखाइएको छ।

चित्रमा देखाइए जस्तै दक्षिण एसियामा हाल दैनिक संक्रमण औसतमा करिब ६०००० छ भने दैनिक मृत्यु करिब १२५० छ। वर्तमान लहर सुरु हुनुभन्दा अगाडि दैनिक नयाँ संक्रमण र मृत्यु क्रमश: न्युनतम करिब १५००० र १०० थियो।

तर दक्षिण एसियामा पछिल्लो समय प्यान्डेमिकको स्थिति एकनासको देखिँदैन।

चित्र न.२ ले दक्षिण एसियाको पछिल्लो १५ दिनको दैनिक संक्रमणको प्रवृत्ति देखाएको छ जसमा भारतको दैनिक संक्रमण प्रवृत्ति स्थिर देखिन्छ भने बंगलादेशको संक्रमण अत्यधिक बढ्दै गई हालसम्मकै सबैभन्दा उच्च पुगेको छ। अन्य देशहरुको संक्रमण संख्या भने तुलनात्मक रुपमा कम देखिन्छ।

त्यस्तै चित्र न. ३ ले दक्षिण एसियाको पछिल्लो १५ दिनको दैनिक मृत्युको प्रवृत्ति देखाएको छ जसमा भारतको दैनिक मृत्यु केही कम हुँदै गएको देखिन्छ भने  बंगलादेशको दैनिक  मृत्यु पनि अत्यधिक बढ्दै गई हालसम्मकै सबैभन्दा उच्च पुगेको छ। अन्य देशहरुको संक्रमण संख्या भने तुलनात्मक रुपमा काम देखिन्छ।

पछिल्लो समय  विश्वको कुल दैनिक कोरोना संक्रमणको करिब १३% र दैनिक कोरोना मृत्युको करिब १२% दक्षिण एसियामा भेटिने गरेको छ।स्मरण रहोस् दक्षिण एसियामा वर्तमान प्यान्डेमिक लहर उच्च बिन्दुमा पुगेको बेला, मे महिनाको पहिलो सातातिर, यी अनुपातहरु क्रमश: ५५% र ४०% सम्म पुगेका थिए।

चित्र न.४ ले दक्षिण एसियाली देशहरुको गत पछिल्लो १५ दिनको,जोन्स होप्किन्स विश्वविद्यालय (Johns Hopkins University)रआवर ओर्ल्ड इन डाटा (Our World in Data)का अनुसार, साप्ताहिक औसत  संक्रमण दरको प्रवृत्ति देखाएको छ। चित्रमा देखाइए जस्तै नेपालको संक्रमण दर अझै पनि अन्यको भन्दा निकै उच्च देखिन्छ भने बंगलादेशको संक्रमण दर पछिल्लो समय निकै बढ्दै गई नेपालको भन्दा माथि पुगेको छ जुन विश्वको सातौँ स्थानमा छ।

सार्क डिजास्टर म्यानेजमेन्ट सेन्टर (SAARC Disaster Management Center, SDMC) द्वारा जारी गरिएको विवरण अनुसार दक्षिण एसियामा जुलाई ८का दिन सम्ममा ३३७७९५९० जनामा यो संक्रमण लागिसकेको छ भने ४६११३३ जनाले यसैका कारण आफ्नो ज्यान गुमाइसकेका छन्।

यसै सेरोफेरोमा नेपालमा कोरोना प्यान्डेमिकको साप्ताहिक विश्लेषण गर्ने क्रममा गतहप्ता,सन् २०२१ जुलाई ४ देखि १० (असार २० देखि २६)जम्मा ७ दिनको विश्लेषण विभिन्न स्रोतहरुबाट प्राप्त तथ्यांकको आधारमा तल देखाइए बमोजिम प्रस्तुत गरिएको छ।

यस लेखमा उधृत गरिएका तथ्यांकहरु विभिन्न श्रोतहरुबाट लिइएका हुन्। जस्तै नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय (MOHP), जोन्स होप्किन्स विश्वविद्यालय (Johns Hopkins University), WHO, ओर्ल्ड़ोमिटर (Worldometer), आवर ओर्ल्ड इन डाटा (Our World in Data), सार्क डिजास्टर म्यानेजमेन्ट सेन्टर (SAARC Disaster Management Center, SDMC)आदि।

गतहप्ता पनि प्यान्डेमिकका तथ्यांकहरु विश्वभरि र नेपालमा पनि  उतारचडाव हुने क्रम जारी रह्यो। निम्न केही तथ्यांकको आधारमा गएको हप्ता नेपालमा कोरोना प्यान्डेमिकको अवस्था कस्तो रह्यो केही विश्लेषण गरी हेरौँ।

दैनिक नयाँ संक्रमण


यो हरेक दिन नेपालमा देखिएका या देखिने नयाँ संक्रमितहरुको संख्या हो। सन् २०२१ जुलाई ४ देखि १० (असार २०देखि २६)जम्मा ७ दिनको नेपालभरिको दैनिक परीक्षण, नयाँ संक्रमण र मृत्युको संख्या चित्र न.५ मा प्रस्तुत गरिएको छ। यस लेखमा पीसीआर परिक्षणलाई मात्रै गन्ती गरिएको छ।

नेपाल सरकारबाट प्राप्त तथ्यांक हेर्ने हो भने गत हप्ताको सात दिन,अषाढ २६ गते शनिबारसम्म,देशभरि जम्मा १०६३२ जना नयाँ संक्रमित थपिई जम्मा संक्रमितको संख्या ६५४२१२ पुगेको छ। मे महिनाको दोस्रो साता उच्च बिन्दुमा पुगेको नेपालको कोरोना प्यान्डेमिकको वर्तमान लहर विगत डेढ महिनादेखि केही कम हुँदै गई साप्ताहिक संक्रमण संख्या गतहप्ता ११२५४ बाट १०६३२ मा झरेको हो। त्यस्तै, चित्रमा देखाइए जस्तै,दै निक मृत्युमा पनि कमि आउने क्रम जारी छ। दुई हप्ता अघि साप्ताहिक मृत्यु जम्मा २३३ भएको मा गत हप्ता यो संख्या १६४ रह्यो।

गतहप्ता काठमाडौँ उपत्यकाको दैनिक संक्रमण समग्र नेपालको औसतमा ३२%  जति देखिएको छ। दुईहप्ता अगाडि यो अनुपात २६% थियो। विगत केही हप्तादेखि यो अनुपात क्रमश: झर्दै गएकोमा पछिल्लो समय केही बढेको देखिन्छ जुन लकडाउन खुकुलो भई मानिसको आवतजावत बढेको कारणले हुन सक्दछ। पछिल्लो समय कोरोना संक्रमण उपत्यका बाहिर कास्की, सुनसरी, चितवन,कैलाली आदि ठाउँहरुमा बढेको देखिन्छ।

दैनिक संक्रमण (पोजिटिभिटी)दर(Positivity Rate)


प्यान्डेमिकको मापदण्डहरु मध्ये पोजिटिभिटी(संक्रमण दर) एक सबैभन्दा भरपर्दो मापदण्ड हो जसले परीक्षण गरिएका मध्ये कति जनामा संक्रमण पोजिटिभ देखियो भन्ने देखाउँदछ। चित्र न.६ ले  नेपालको गतहप्ताको दैनिक संक्रमण दर देखाएको छ। गतहप्ता पनि नेपालको प्यान्डेमिक ओरालो लाग्ने क्रम जारी रहेता पनि पहिलाको दाँजोमा संक्रमण दर (पोजिटिभिटीदर) घट्ने क्रम रोकिएको जस्तो देखिन्छ।गतहप्ता पोजिटिभिटीदर न्यूनतम २०.७२% देखि अधिकतम २६.५१% सम्म रही साताभरिको औसत पोजिटिभिटी दर२२.८१% रह्यो भने दुई हप्ताअघिको औसत संक्रमण दर २४.१% थियो। नेपालको संक्रमण दर अझै पनि दक्षिण एसियामा अन्यको भन्दा निकै माथि छ।

संक्षेपमा, पछिल्लो समय दक्षिण एसिया र नेपालमा संक्रमण घट्ने क्रम सुस्त देखिन्छ। दैनिक संक्रमण र मृत्युको संख्यामा केही कमि आएको देखिएता पनि त्यो मुलतः दैनिक परीक्षणमा आएको कमिको कारण हो। केही हप्ताअघि सातामा जम्मा ५४४५० पीसीआर परीक्षण गरिएकोमा गतहप्ता जम्मा ४६२७४ मात्रै परीक्षण गरिएको थियो। दक्षिण एसियाको बंगलादेशमा प्यान्डेमिकको नयाँ लहर सुरु भएको छ र संक्रमण हालसम्मकै सबैभन्दा उच्च देखिन्छ भने भने अफगानिस्तान र पाकिस्तानमा पनि संक्रमण विस्तारै बढ्न थालेको देखिन्छ।

तर यस क्षेत्रका देशहरुमा परीक्षण निकै कम गरिने भएको हुनाले प्यान्डेमिकको वास्तविक स्थिति थाहा पाउन कठिन छ। बेलायतमा संक्रमण दर झन्डै सुन्ना बराबर भएकोमा पछिल्लो समययो बढेर २.५% पुगेको छ। यी सबै तथ्यहरुले विश्वमा कोरोना संक्रमण र प्यान्डेमिकको जोखिम अझै पनि खतम भइनसकेको देखिन्छ।

प्यान्डेमिकको यस्तो नाजुक र अनिश्चित अवस्थामा अनुशाशित जीवनशैलीनै एक मात्र यस्तो हतियार हो जसले विश्वलाई कोरोनामुक्त बनाउन सक्दछ। तसर्थ तथ्यांकले जेसुकै देखाए पनि प्यान्डेमिकको यथार्थलाई एक पटक फेरि आत्मसाथ गर्नु पर्ने बेला आएको छ। हरेक व्यक्तिले भौतिक दूरी कायम गर्ने, मास्क लगाउने, हात राम्ररी धुने, अनावश्यक भिडभाड नगर्ने आदि सावधानीका कुराहरु कडाईका साथ अपनाउनु पर्ने देखिन्छ। पछिल्लो समय अन्य देशहरुमा संक्रमण फेरि बढ्ने प्रवृत्ति देखिएको बेला नेपालमा पनि त्यसो नहोला भन्न सकिँदैन।

prabinshrestha@hotmail.com

डा. श्रेष्ठ ग्वार्को ललितपुरस्थित बीएन्डबी अस्पतालका कन्सल्टेन्ट न्युरोसर्जन हुन्।

असार २७, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्