कोटेश्वरमा विपक्षी गठबन्धनको बैठक सुरु, भीम रावल पुगे बालुवाटार

काठमाडौँ – एमालेको माधवकुमार नेपाल समूह विभाजित भएको छ।

नेकपा र एमालेको आन्तरिक संघर्षमा सधैँ साथ दिँदै आएका नेता भीम रावल एमालेको स्थायी कमिटि बैठकमा भाग लिन बालुवाटार पुगेका छन्। त्यही बेला कोटेश्वरस्थित नेपाल वन पैदावरको कार्यालयमा नेता नेपालसहित विपक्षी गठबन्धनको बैठक सुरु भएको छ।

विपक्षी गठबन्धनको बैठकमा नेपालसहित नेता रघुजी पन्त सहभागी भएका छन्। आइतबार नेपालको असहमति हुँदाहुँदै रावल नेतृत्वको कार्य दलले ओली पक्षसँग दश बुँदे सहमति गरेको थियो। त्यसप्रति नेपाल समूहले असहमति जनाएको छ।

यसअघि विपक्षी दलको गठबन्धनमा रावलले सहभागिता जनाउँथे।

सोमबार सर्वोच्च अदालतको फैसला आएपछि भावी रणनीति तय गर्न विपक्षी गठबन्धन र एमाले स्थायी समिति बैठक एउटै समयमा बसेको हो। सर्वोच्चले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको छ।

अब सरकार निर्माण र विश्वासको मतका लागि विपक्षी गठबन्धनले रणनीति तय गर्न लागेको हो। बैठकमा देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री पुर्ण बहादुर खड्का, पुर्व महामन्त्री कृष्ण प्रसाद सिटौला , प्रमुख सचेतक बालकृष्ण खाँड सहभागी छन्।

माओवादी केन्द्रका तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पूर्व सभामुख कृष्ण बहादुर महरा, बर्षमान पुन, नारायण काजी श्रेष्ठ, देव गुरुङ सहभागी भएका छन्। त्यस्तै जसपाबाट अध्यक्ष उपेन्द्र यादव, डा. बाबुराम भट्टराई, महेन्द्र राय यादव र राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेल सहभागी छिन्।

असार २८, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्