अघिल्लो दिनसम्म हाँसीखुसी बिरामी हेरेका यी साइक्याट्रिस्टले किन रोजे कहिल्यै नफर्कने बाटो?

आइतबार बिहान उनी अस्पतालका लागि घरबाट निस्के। तर अस्पताल भने पुगेनन्। अस्पतालमा उनले फोन गरे र आफूलाई विसञ्चो भएको कारण काम गर्न नसक्ने भन्दै बिदा मागे।

जस्तोसुकै परिस्थितिमा पनि काममा पुग्ने उनले आइतबार बिदा मागेका थिए। उनको बिदा स्वीकृत पनि भयो। परिवारलाई लागेको थियो, उनी अस्पतालमा सधैँ जस्तो बिरामीको सेवामा खटिरहेका छन्।

अस्पतालमा उनका साथीभाइ सोच्दै थिए, सन्चो नभएर उनी घरमा आराम गरिरहेका छन्। न त उनी अस्पतालमा थिए, न त घरमा नै।

मानसिक अस्पताल पाटनका कन्सल्ट्यान्ट साइक्याट्रिस्ट डा. सुदिप अर्याल बूढानीलकण्ठस्थित एक होटलमा पुगिसकेका थिए।

आफूलाई निको नभएका कारण बिदामा बसेको बताएका डा. अर्याल सोही होटलमा आइतबार साँझ मृत फेला परे। मृत फेला परेका उनीसँगै कोठामा विष भेटिएको थियो।

बूढानीलकण्ठसम्म डा. अर्याल केका लागि पुगे, उनको परिवार अनि साथीभाइले अनुमान लगाउन सकेका छैनन्। धेरैलाई उनको मृत्युको खबरमा विश्वास लागेन। डा. अर्यालले यो कदम उठाउलान्, यो सबैको सोच बाहिरको कुरा थियो।

उनका नजिकका साथीभाइलाई छट्पटी भयो। लाग्यो– मृतक अरु कोही हुनुपर्छ। तर मनमा कताकता चिसो पसिसकेको थियो। धेरै ठाउँ फोन गरेपछि मृतक डा. अर्याल आफ्नै सहकर्मी भएको यकिन भएको अर्यालका साथी डा. बासुदेव कार्कीले बताए।

‘उहाँको मृत्युको खबर हामीलाई पत्याउन गाह्रो भयो। उहाँ होइन होला भन्ने लागेको थियो। धेरै पटक फोन गरेर कन्फर्म गर्‍यौँ। खबर साँचो नै थियो। अब उहाँ हामीमाझ हुनुहुन्न भन्ने कुरा विश्वास गर्न गाह्रो भइरहेको छ’, डा.अर्यालका सहकर्मी डा. कार्कीले भने।

डा. अर्याल शुक्रबारसम्म पनि आफूहरुसँगै काम गरेको डा. कार्कीले बताए। डा. कार्कीले भने, ‘शुक्रबारसम्म हामीले सँगै काम गरेका थियौँ। सँगै काम गरेको अन्तिम दिनसम्म पनि उहाँको व्यवहारमा त्यस्तो कुनै पनि परिवर्तन आएको देखिएको थिएन। पहिला जस्तो हुनुहुन्थ्यो उस्तै नै रहेर काम गरिरहनुभएको थियो। उस्तै नै स्वभाव देखाइरहनु भएको थियो।’

डा. कार्कीका अनुसार डा. अर्याल आफ्नो कामप्रति एकदमै लगनशील थिए। कामलाई असाध्यै माया गर्थे। बिरामीसँग चाँडै नजिकिन्थे। त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थाबाट पढाइ पूरा गरेका डा. अर्यालले केही महिना अगाडि मात्र पाटन अस्पतालमा सेवा सुरु गरेका थिए।

यो घटनाको अनुमान लगाउनका लागि डा. अर्यालले कुनै पनि संकेत समत नदेखाएको डा. कार्की बताउँछन्। उनले भने, ‘सधैँ रमाइलो गर्नुहुन्थ्यो। एकदमै मिलनसार व्यवहार थियो, उहाँको। सँगै काम गरिरहँदा उहाँको व्यवहारमा कुनै पनि फरक आएको थिएन। उहाँले उठाएको यो कदमबारे हामीले कल्पनासम्म पनि गरेका थिएनौँ।’

मृत फेला परेका डा. अर्यालको कोठामा विष फेला परेका कारण प्रारम्भिक अनुसन्धान अनुसार विष सेवन गरेको हुन सक्ने काठमाडौँ प्रहरी परिसरका एसपी रमेश बस्नेतले बताए। उनले भने, ‘हाम्रो प्रारम्भिक अनुसन्धानमा विष सेवनबाट मृत्यु भएको देखिन्छ। थप अनुसान्धान गरिहेका छौँ। पोष्टमार्टमको रिपोर्ट बुझेपछि के भएको भन्न सकिएला।’

उनको मृत्युको कारण पत्ता लगाउनका लागि त्रिवि शिक्षण अस्पतालमा पोष्टमार्टम गरिएको थियो। अस्पतालले सोमबार परिवारलाई शव बुझाएपछि पशुपतिमा अन्तिम संस्कार गरिएको डा. कार्कीले बताए।

डा. अर्यालको तीन महिनाअघि मात्रै विवाह भएको थियो। बबरमहलमा घर भएका उनको परिवारमा बुवा–आमा र श्रीमती छन्। भाइ र भाइबुहारी भने विदेशमा छन्।

असार २८, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्