विविध कार्यक्रम गरी मनाइयो आदिकवि भानुभक्त आचार्यको २०८ औँ जन्मजयन्ती

काठमाडौँ– आदिकवि भानुभक्त आचार्यको २०८ औँ जन्मजयन्ती मंगलबार विविध कार्यक्रमको आयोजना गरी मनाइएको छ ।

आदिकवि आचार्यको जन्मजयन्तीको अवसरमा नेपाल पज्ञा–प्रतिष्ठानद्वारा आदिकविको व्यक्तित्व कृतित्व विषयक प्रवचन तथा रचना वाचन गरेर मनाइएको छ।

प्रज्ञा भवन कमलादीमा रहेको आदिकवि आचार्यको शालिकमा माल्यार्पण गरी आदिकविप्रति श्रद्धासुमन समेत व्यक्त गरिएको छ।

नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले यस वर्ष भानु जयन्तीको अवसरमा विशेष कार्यक्रम गरी मनाउने योजना रहेको भएपनि कोभिड–१९ को संक्रमणको अवस्थाका कारण विशेष रुपमा मनाउन नसकिए पनि जनस्वास्थ्यको मापदण्ड पालना गरी भानु जयन्ती मनाइएको बताए।

उनले आदिकवि भानुभक्त आचार्य नेपाली पहिचान, भाषा सम्बन्धी र भावनात्मक एकतालाई नेपालमा जोड्ने नायक रहेको बताए।

उनले भने, ‘भानु हाम्रो पहिचानसँग सम्बन्धित, भाषासँग सम्बन्धित र भावनात्मक एकतामा नेपाललाई जोड्ने सांस्कृतिक नायक हुनुहुन्छ। उहाँलाई हामीले सम्झने र उहाँलाई सम्झिँदै उहाँका प्रेरणा लिँदै नेपाली वाङ्मय, नेपाली कला, साहित्य, संस्कृतिको प्रवर्द्धनका लागि सधैँ क्रियाशिल रहनुपर्छ।’

नेपाली साहित्य र संस्कृतिको प्रवर्द्धनमा नेपाल प्रज्ञा–प्रतिष्ठान निरन्तर लागिरहेको र आगामी दिनमा पनि अझ प्रभावकारी किसिमले अगाडि बढ्ने कुलपति उप्रेतिले बताए।

वि.सं. १८७१ असार २९ गते तनहुँको चुँदीरम्घा गाउँमा जन्मिएका भानुभक्तका वधुशिक्षा, प्रश्नोत्तर, भक्तमाला, रामगीता लगायतका कृतिहरु चर्चित रहेका छन्। उनको निधन वि.सं. १९२५ असोजमा भएको थियो।

असार २९, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्