पिँजडामा बन्द किशोरी अनि गिद्ध जस्तै झम्टने मानिसहरु

रेकर्डिङ्ग कक्ष साँघुरो छ। केही महिलाहरु पर्खिरहेका छन्। उनीहरुलाई आफ्नो कहानीहरु रेकर्ड गराउनु छ। उनीहरुलाई भनिएको छ की यो उनीहरुको सहयोगी पनि हुन सक्छ। कोही उनीहरुको कहानी सुनेर बचाउन आउन सक्छ । उनीहरुका लागि यो आशाको सामान्य किरण जस्तो थियो।

उमेरको तेस्रो दशकको अन्त्यतिर पुगेकी एक महिला यी युवतिहरुको परिचय गराउँछिन्। यी युवतिहरु बिहारको केही क्षेत्रमा हुने विवाह समारोह वा पार्टीमा बोलाइने, खास किसिमको अर्केस्ट्रा व्याण्डमा नाचने गाउने काम गर्छन्। तर उनकीहरुमाथि उक्त प्रदर्शनीको समयमा धेरैजसो ज्यादति हुने गर्दछ।

उनीहरुलाई जबरजस्ती छोइन्छ, उनीहरुको स्तनमा समातिन्छ र कतिपल्ट उनीहरुको बलात्कार हुन्छ ।

विवाहमा हुने यो जमघटमा गरिने ‘फाइरिङ’ त सामान्य कुरा हुन्छ। यसरी भएको फाइरिङमा यस्ता युवतिहरु मारिएको खबर आइरहन्छ। २४ जुनमा नालन्दामा यस्तै एउटा विवाह समारोहमा भएको फाइरिङमा स्वाती नाम गरेकी एक युवतिको मृत्यु भयो। गोली उनको टाउकोमा लाग्यो । एक पुरुष ‘डान्सर’ लाई पनि गोली लाग्यो।

कोरोनाले महिला ‘डान्सर’ को स्थिति दयनीय

रेखा वर्मा

महिला ‘डान्सर’ भन्छन्, कोरोना भाइरस महामारीले उनीहरुलाई अझ धेरै कमजोर बनाएको छ। लकडाउनको कारण काम पाउन नै मुश्किल भएको छ। कहाँबाट घर भाडा दिर्ने, परिवारलाई कसरी पाल्ने। अर्केस्ट्रा व्याण्डमा गीत गाउने रेखा वर्मा भन्छिन्, ‘केहीलाई त ‘देहको धन्दा’ (वेश्यावृत्ति) मा पनि लाग्न परेको छ।

रेखा राष्ट्रिय कलाकार संघकी अध्यक्ष हुन्। अर्केस्ट्रामा काम गर्ने यस्ता पुरुष र महिला कलाकारको हकको लडाईको लागि सन् २०१८ मा उनले यो संगठन बनाएकी थिइन्।

यही महिलामध्ये एक आफूमाथि परेको समस्यालाई सुनाउँदै सुकसुकाउँछिन्। आँशुले उनको अनुहार भिजिसकेको छ र मस्कारा बगेर गालासम्म आइपुगेको छ। कपाल रंगिन छ र उनले निलो रंगको कुर्ता र चम्किलो रंगको सल लगाएकी छन्। उनको हातमा सुनौलो रंगको पर्स छ ।

आँखा ठूला ठूला छन् र बायाँ हातमा पुतलीको ट्याटु बनाएको छ। नाम दिव्या हो तर यो उनको वास्तविक नाम हैन। उनलाई दिवंगत अभिनेत्री दिव्या भारती धेरै राम्री लाग्ने बताइन्। उनी पनि अभिनेत्रीजस्तै बन्न चाहान्थिन्, त्यसैले आफ्नो नाम दिव्या राखिन्। तर जीवन सहज छैन।

दिव्या प्रदर्शनको लागि घेरा बारेर बनाइएको ठाउँ अथवा स्टेजमा नाँच्ने गर्थिन्। उनलाई रक्सीको नशामा लठ्ठ पुरुषको बिचमा बसेर नाँच्न पर्छ। यिनीहरु महिला डान्सरको स्तन समात्न पुग्छन्। उनीहरुमाथि ढुंगा बर्साउछन् र यहाँसम्म की उनीहरुमाथि बन्दुक पनि ताक्ने गर्छन्। दिव्या यहि समूहको हिस्सा हुन्।

श्रीमानबाट पीडितदेखि स्टेजसम्मको यात्रा

दिव्या बिहारको पूर्णियामा जन्मिएकी हुन् । जब उनी किशोरी भइन्, उनको परिवार कामको खोजीमा पंजाब गयो। १३ वर्षको उमेरमा उनको विवाह गरिदिइयो। त्यसपछि उनी श्रीमानसँग बस्न गइन्।

श्रीमान ड्राइभर थिए, जो प्रायजसो कुटपिट र गाली गलौज गर्थे। एक दिन जब श्रीमानले घरबाट निकाले तब छोरीहरुलाई लिएर उनले पटना जाने रेल चढिन्। अनलाइनमा भेट भएको एउटा व्यक्तिले दिव्यालाई ‘सुटिङ’ मा काम मिलाइदिने भरोसा दिलाएका थिए।

उनले दिव्यालाई आफ्नी प्रेमिकासँग मीठापुरको एक फ्ल्याटमा राखेर भने, ‘तिमी स्टेज शो’ मा काम गरेर पैसा कमाउन सक्छौ।’ दिव्या भन्छिन्, ‘१७ वर्षसम्म म श्रीमानको हातबाट पीडित हुँदै आएँ।’

अन्तिममा यो वर्ष फेब्रुअरीमा उनले ‘डान्सलाइन’ जोइन गरिन्। उनलाई थाहा छ कि यो उनले पुग्न रहर गरेको ठाउँ हैन। तर माहामारी र उनको आफ्नो परिस्थितीले उनलाई बाध्य बनाइदियो।

बिहार र उत्तर प्रदेशमा हुने विवाह समारोह, यहाँसम्मकी जन्मदिनको पार्टीमा पनि कम अथवा छोटा कपडा लगाएर महिला डान्सरले नाच्नु सामान्य कुरा हो। तर पछिल्लो केही वर्षमा स्टेजमा यी महिलामाथि हुने ज्यादती बढिरहेको छ। नाचेको हेर्न आएका मानिसहरु स्टेजमा यी महिलाहरुलाई जबरजस्ती समात्छन् र कतिपल्ट त बलात्कार नै गर्छन्।

यो परिस्थितीलाई बयान गर्दैगर्दा दिव्या रोइन्। उनी भन्छिन्, ‘केही इज्जत छैन, म अरु केही बन्न चाहन्थेँ। तर यहाँ पुगेँ अनि अहिले फसिसेककी छु।’

उनी भन्छिन्, ‘तपार्इँलाई थाहा छ मलाई के चिजसँग धेरै घिन लाग्छ? मलाई पिँजडामा नाच्न पर्छ। यसलाई भिडको बिचमा राखेर पूरै गाउँ घुमाइन्छ। मानिसहरु हाम्रो भिडियो बनाउँछन्, ताना मार्छन् र गाली बर्साउँछन्।

पिँजडामा नृत्य अनि गिद्धको जमघट

यी महिलाहरु जसलाई पिँजडामा नाच्न लगाइन्छ, त्यो जालिले बनाइएको हुन्छ। महिला डान्सरलाई बाहिरबाट छुन नसकियोस भनेर यसको व्यवस्था गरिएको हो। अर्केस्ट्रा व्याण्डको आयोजकले यो महिलाहरुको सुरक्षाको लागि भएको बताएका छन्। तर यसरी पिँजडामा नाँच्नु यी महिलाहरुलाई आफ्नो गोपनियतामा दखल दिएको जस्तो लाग्छ। दिव्या भन्छिन्, ‘आखिर पिँजडा त पिँजडा नै हो।’

जब दिव्या स्टेजमा हुन्छिन्, उनले आफू जान चाहेको ठाउँको एक हिस्सा भएको दिव्याले महशुस गर्छिन्।

जुन महिनाको एक रात झलक्क झल्कने कपडा लगाएका ३ महिला यस्तै एउटा पिँजडामा नाचिरकेका थिए । केही पुरुषहरुलाई घेरेर आफ्नो आफ्नो मोबाइलमा भिडियो बनाउन थाले। ट्रली आफ्नै गतिमा विवाह स्थलमा जाँदै थियो।

त्यहाँ पुग्दा पुग्दै ट्रली कयौँपल्ट रोकियो। लाउडस्पिकरमा कोही भोजपुरी गीत ठूलो ठूलो आवाजमा बजाइरहेका थिए। पिँजडामा बन्द महिलाहरु चाँदी रंगको चराहरु जस्तो देखिएका थिए। यो ‘अर्केस्ट्रा व्याण्ड’ मा जुन प्रकारको नृत्य हुन्छ, महिलाहरु आफ्नो कम्मर हल्लाइरहेका थिए, छाती हल्लाइरहेका थिए।

पूर्व फोटो पत्रकार निरज प्रियदर्शी काइलवर (विहार) मा आफ्नो घरबाट यो जुलुस हेरिरहेका थिए। यो सम्पूर्ण माहौललाई उनले आफ्नो ट्वीटरमार्फत साझा गरे। हेर्दा हेर्दै भिडियो भाइरल भयो। धेरैले यो दृश्य हेरेर विवाह र पार्टीमा नाच्ने महिलाको गरिमामा हमला गरे।
निरज भन्छन्, ‘तपाईँ जनावरसँग पनि यस किसिमको व्यवहार गर्नुहुन्न । मैले यस्तो दृश्य कहिले पनि देखेको थिइन।’

महिलाहरुको लागि यस्तो पिँजडा केही वर्ष अगाडि बनेको थियो। यस्तो समारोहमा नाच्ने महिलाहरुको विरुद्ध बढिरहेको हिंसालाई हेरेर ‘इनोवेशन’ गरिएको थियो। पिँजडा यस्तो पेशामा आएको गिरावट, अराजकता र शोषणको निशानी हो ।’

अब महामारी र यसको कारणले हुने लकडाउनले विवाहसँग जोडिएको कारोबारलाई लगभग ठप्प गरेको छ। यस्तो अवस्थामा यस्ता महिलाहरुलाई यस्तो अवस्थामा पुर्‍याइदिएको छ की जहाँबाट उनीहरु देहको धन्दामा समेत कुनै अरु काम गर्न बाध्य छन्। उनीहरुको सौदाबाजीको शक्तिको अस्तित्व सकिएको छ। उनीहरुलाई लाग्छ की पिँजडामा नाच्दा नाच्दै उनीहरु आफै चिडियाखानामा बन्द भएका जनावर जस्ता भएका छन्।

दिव्या भन्छिन्, ‘हाम्रो हालत त जनावरको भन्दा पनि गई गुज्रेको जस्तो छ। पुरुषहरु हाम्रो शिकार गर्छन्, यो नाच्ने पिँजडा होइन।

गरिबीको मारबाट बच्नको लागि ‘डान्स लाइन’ को बाटो

आकांक्षाकी बहिनीलाई एउटा यस्तै कार्यक्रममा गोली लाग्यो। गोलीले उनको टाउको छेडेको थियो तर उनी बचिन्। अहिले उनी खतराभन्दा बाहिर छिन्। तर यो घटनाले आकांक्षालाई भित्रैबाट तर्साएको छ। अर्केस्ट्राको मालिक मनिषका अनुसार उनले प्रहरीमा एफआईआर दर्ता गराउने कोशिश गरेका थिए तर प्रहरीले यो मुद्दा दर्ता गरेन।

आफ्नो घरमा नाच्नको लागि यी महिलाहरुसँग ‘कन्ट्याक्ट’ गर्ने राहुल सिंह यो कलाकारहरुको ठूलो समस्या रहेको बताउँछन्। उनीहरुको कसैले केही नसुन्ने सिंह बताउँछन्। उनका अनुसार जहाँ नृत्य भइरहेको थियो त्यहाँ उनी थिएनन्। त्यहाँ फायरिङ भएको थिएन।

आकांक्षा र उनकी बहिनी पछिल्लो तीन वर्षदेखि विहारमा ‘अर्केस्ट्रा व्याण्ड’ भनिले एक समूहसँग जोडिएका छन्। उनीहरुले सुन्ने गरेका थिए कि यस्ता नाच्ने कार्यक्रममा महिलाहरुलाई गोली हानेर मारिन्छ। गिज्याउने गरिन्छ। रक्सी पिएर नाचेको हेर्न आएका पुरुषहरु स्टेजमा गएर महिलाहरुमाथि ज्यादति गर्छन्।

आकांक्षा भन्छिन्, ‘हामीले कहिलेकाँही बन्दुकको आडमा हामीमाथि बलात्कार हुन्छ भन्ने पनि सुनेका थियौँ।’ तर यी दुई बहिनीसँग अरु कुनै विकल्प थिएन । उनीहरुसँग भएका सबै विकल्प वर्षौँ पहिले सक्किएका थिए, जब उनीहरुको बुवाको मृत्यु भयो। यी दुई ग्वालियरबाट आएका हुन्।

उनीहरुकी आमा अरुको घरमा काम गर्न जान्छिन्, परिवासँग आयको दोस्रो स्रोत थिएन, त्यसैले विद्यालयको शूल्क तिर्न सकेनन्। बाध्यताले यिनीहरुको पढाई छुट्यो।

आकांक्षाले छिमेकको ‘डान्स स्कूल’ मा ‘कन्टेम्पररी डान्स’ सिक्न सुरु गरिन्। कहिलेकाँही कुनै समारोहमा नाचे बापत पैसा पाउँथिन्। यहीबाट नै उनको विहार जाने यात्रा तय भयो। डान्स स्कूल चलाउने व्यक्तिले उनलाई कोमल नामकी एक महिलासँग भेट गरायो।

यही महिलाले उनलाई राम्रो मौका र पैसा दिने वाचा गरिन् । दुई बहिनीलाई भनियो यदि उनीहरु विहार जान्छन् भने टेलिभिजनमा पफर्मेन्स र स्टेज शोको लागि अडिशन दिने मौका मिल्छ। छानिएमा धेरै पैसा र काम पाइने बताइयो।

आमाले धेरै चाख राखिनन् तर बहिनी उत्साहित थिइन्। आकांक्षा आफ्नी आमाका लागि घर बनाउन चाहन्थिन् धनिको जस्तै। जसको भुईँमा टायल बिच्छाइएको होस्। त्यतिबेला उनीहरु छाप्रोमा बस्थे। महल बनाउने सपना पूरा गर्न त धेरै समय लाग्थ्यो तर यो प्रस्तावले सपना पूरा हुने छाँटकाँट देखायो। आकांक्षाको कयौँ इच्छाहरु थिए, उनलाई आमाको लागि चाँदीको गहना किनिदिनु थियो।

दुई बहिनी जब पटना आए तब कोमलले उनलाई पावापुरीमा एक कोठामा राखिन् र भनिन्, उनीहरुले नाचेर पैसा कमाएर कोमललाई दिनुपर्छ। कोमल उनीहरुलाई एकदमै जरुरी परेमात्र कोठाभन्दा बाहिर जान दिन्थिन्।

आकांक्षाले आफ्नो बहिनीलाई भनिन्, ‘सायद हामी गलत ठाउँमा आयौँ।’ दुवै बहिनी पैसा कमाउन चाहन्थे तर लगातार घण्टौँ नाँच्दा पनि उनीहरुलाई दिनमा जम्मा १७ सय रुपैयाँमात्र दिइन्थ्यो। उनिहरुले हिसाब गरे यदी उनीहरु जागरण नाचे भने पनि यो भन्दा धेरै कमाउथे र केही रुपैया बचाएर घर फर्कन पाउथे।

दुई बहिनीले सोचे यदि लगातार यसरी नै नाँचिराखे भने अन्तिममा सबै बिस्तारै ठीक हुँदै जानेछ तर यसै बिच आकांक्षाको बहिनीलाई गोली लाग्यो।

अर्केस्ट्रा व्याण्डमा मानिसहरु रक्सी पिएर नाचेको हेर्न आउँछन्। रक्सी पिएर आएका मानिसहरु हावामा गोली पड्काउनु सामान्य कुरा हो यो ठाउँका लागि । यसपछि उनीहरु स्टेजमा भएका महिलाहरुसँग नाच्न जान्छन् र उनीहरुमाथि हातपात, जबरजस्ती गर्छन्। दुई बहिनीलाई लागेको थियो उनीहरु यो अवस्थालाई सम्हाल्न सक्छन्, तर यहीबिचमा पुरुषहरुबिच झगडा सुरु भयो र गोली पड्कन थाल्यो।

यहि बिचमा आकांक्षाको बहिनीलाई गोली लाग्यो र जसोतसो पटनाको एक अस्पतालमा भर्ना गरियो। पटनको निजी अस्पतालमा उपचार गर्नको लागि संभव थिएन। त्यसैले उनलाई कामबाट छुट्टी दिइयो।

‘पूँजीवादी माहोलमा नयाँ प्रविधि र कोरोना कहर भएपछि अर्केस्ट्रा व्याण्डमा काम गर्ने महिलाहरुको हालत दयनीय भएको हो।’ दिल्ली विश्वविद्यालयमा प्रोफेसर मुन्ना कुमार पाण्डे भन्छन्, ‘पहिला पनि शोषण थियो तर पछि यस्तो लाग्थ्यो महिला कलाको साहारामा बलिया हुनेछन्। तर यस्तो भएन, यी महिलाहरुलाई सम्झौता गर्न बाध्य बनाइयो। यो डरलाग्ने कुरा हो।’

पार्टी र विवाहमा नाच्ने रेखा वर्मा भन्छिन्, ‘यी महिलाहरु कमजोर पृष्ठभूमिका हुन् र यिनीहरु पहिलादेखि नै यस्तो जीवन जिउँदै आएका छन्, जसमा कुनै पनि गरिमा छैन।’ रेखाले यी महिलाको सुरक्षा र अधिकारको लागि एक संगठन बनाएका छन्। सरकारले यी महिला कलाकारहरुलाई कुनै पनि मान्यता दिएको छैन। त्यसैले सरकारको कल्याण कार्यक्रमका पनि हिस्सामा पर्दैनन्।

रेखा भन्छिन्, ‘म उनीहरुलाई संरक्षण दिने कोशिश गरिरहेको छु। हामीलाई त कलाकारको मान्यता पनि दिने गरिँदैन।

आफ्नो काहानी बताउने सयमा रेखा वर्माको आवाज अड्कन थाल्यो। आफ्नो जीवनमा सहेको अपमान र प्रताडनालाई बताउँदा उनको बोली काप्न थाल्छ। कम उमेरमा उनी प्रहरीको पदको लागि दिइएको परीक्षामा पास भएकी थिइन्। तर आर्थिक चलखेलको कारणले उनी अन्तिममा चयन हुन पाइनन्।

परिवारमा पैसाको कमीका कारण उनलाई अर्केष्ट्रा व्याण्डमा मिसिन प¥यो। पहिला जागरणमा गाउन सुरु गरिन् अनि विवाह समारोहमा । राम्रो गाउनको लागि एक गायकसँग सिक्न सुरु गरिन्। तर आर्थिक अभावको कारण यो काम पनि अपूरो नै रह्यो।

उनि भन्छिन्, ‘हामीले नै गाएर गायकलाई लोकप्रिय बनाउँछौँ, नत्र उनीहरुको नाम कसले थाहा पाउँछ र ! तर हामी सँधै पर्दाको पछाडि नै रहन्छौँ।’

मानव तस्करीको शिकार यी महिलाहरु

यो अर्केस्ट्रा व्याण्डमा काम गर्ने धेरैजसो महिलाहरु मानव तस्करीको शिकार भएका छन्। यिनीहरुलाई देशको अलग अलग राज्यहरु र विहारसँग जोडिएको नेपालसम्म लगिन्छन्। पछिल्लो वर्ष १० डिसेम्बरमा रक्सोलमा अर्केस्ट्रामा काम गर्ने एक यस्तै महिलालाई गोली हानिएको थियो।

२३ सेप्टेम्बर, २०२० को समस्तीपुरमा एक युवकले एक डान्सरलाई गोली हानेका थिए। यिनीहरुमध्य धेरैजस्ता घटनाहरु चर्चामा आइपुग्न नै पाउँदैनन्, प्रहरी कहिले काहीँ मात्रै कुनै केश दर्ता गर्छन्, किनकी यस्तो मुद्दामा छिट्टै नै प्रमाण र साक्षी भेटिदैनन्। दोस्रो यी महिलाहरुलाई कलंकित सम्झिइन्छ र समाजमा यिनीहरुको बारेमा धेरै नै गलत धारणा छ। यी महिलाहरु ढाकिएको– लुेकेको जसरी बस्छन्। यी महिलालाई समाजको केही पनि साथ मिल्दैन, त्यसैले धेरै संस्थाहरुसँग यिनीहरुको विश्वास उठिसकेको छ।

राष्ट्रिय कलाकार महासंघका संस्थापक अखलाक खान भन्छन्, ‘समस्या गरिमाको हो। विहारमा अर्केष्ट्रा व्याण्ड यस्तो अराजक भएको हो किनकी यिनीहरु गैर कानूनी काम गर्छन्। यस्ता व्याण्ड आफ्नो रजिस्ट्रेशन पनि गराउँदैनन्। यो मनोरञ्जन हैन अरु केही हो।’

उनी अगाडि भन्छन्, ‘समाजले यी महिलाहरुप्रति जुन धारणा र नजरिया बनाएको छ, त्यसकै कारणले उनिहरुका लागि लड्न कोही पनि अगाडि आउँदैनन्। ठूला मालिकहरु केही पनि गर्दैनन्। उनीहरु त मात्र यी महिलालाई चुसेर छोड्छन्। विहार अनि उत्तर प्रदेशमा मनोरञ्जनको आडमा बनेका यस्ता हजारौँ अर्केस्ट्रा व्याडहरु छन्, र यो महिलाहरुमाथि हुने शोषणको लागि अड्डा बनेको छ।’

प्रोफेसर मुन्ना कुमार पाण्डे भन्छन्, ‘पछिल्लो केही वर्षदेखि विवाह अथवा पार्टी समारोहमा नाँच्नको लागि महिला बोलाउने चलन स्टेटस सिम्बल बनेको छ। यस्ता समारोहमा झगडा हुने गर्छ र गोली ताकिन्छ। यो विहारको बिडम्बना को की यहाँ रक्सी निषेध छ तर विवाह र पार्टीमा यो सजिलै उपलब्ध हुन्छ ।’

आजकल स्क्रिनमा यौन भावना जगाउनलाई जस्तो किसिमका दृश्यहरु देखाइन्छ, यसले दर्शकको रुचिमा गहिरो असर परेको छ। यस्तो दृश्य हेरिसकेपछि मानिसहरु यस्तै प्रत्यक्ष प्रस्तुति अर्केस्ट्रा व्याण्डको कार्यक्रममा हुनुपर्ने माग राख्न थालेका छन्। कतिपय महिलाहरु यसको प्रभावमा आउँछन्।

धेरैजस्तो महिलाहरु नाबालिग हुन्छन् र उनीहरुलाई पैसाको आवश्यकता हुन्छ। यिनीहरु तालिमप्राप्त ‘डान्सर’ हुँदैनन्।

दिव्याको लागि तालिमप्राप्त ‘डान्सर’ हुनु महत्व राख्दैन। महिलाहरुले छोटो कपडा लगाएर नाँच्ने अपेक्षा गरिन्छ। दिव्यालाई भलै यो कुरा राम्रो लाग्दैन तर उनलाई राम्ररी थाहा छ यो इन्डस्ट्रीमा उनको लागि केही सालमात्र बाँकी रहेको छ। आयोजकले उनको पैसा राखिदिएको छ। उनलाई घरको भाँडा तिर्नु छ, बच्चाको विद्यालयको फि तिर्नु छ।

दिव्या भन्छिन्, ‘हामीले मोलमोलाई गर्ने आफ्नो शक्ति गुमाइसकेका छौँ।’

आँखा माथि उठाएर आफ्नो कपडालाई सम्हाल्दै उनी भन्छिन्, ‘पुरुषहरु हाम्रो सामुन्ने गिद्ध जसरी आउँछन्, हाम्रो कपडा पनि च्यातिदिन्छन्।’
स्टेजदेखि पिँजडासम्म हरेक समय यिनीहरुको शिकार भइरहन्छ। यहि यिनीहरुको जीवन हो। पिँजडामा बन्द चराको जीवन। दिव्या फेरी पनि सपना देख्छिन् र भन्छिन्, चलचित्रको उनमा कतिसम्म चाह थियो।

जब कुनै रातमा भएको डान्स कार्यक्रममा उनको चारैतर्फ ‘गिद्ध’ हरु मडराउँन शुरु हुन्छ, उनि त्यही सुन्दर अभिनेत्रीलाई सम्झन्छिन्, जसको नामबाट नै उनले आफ्नो नाम दिव्या राखेकी थिइन्।

(बिबिसी हिन्दीबाट साभार)

असार ३०, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्