डेढ करोड भ्याक्सिन आएको केपी ओलीको दाबी कति साँचो, कति झुट?

काठमाडौँ– मंगलबार निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले बिदाई सम्बोधनमा आफ्नो सरकार ढ्ल्ने बित्तिकै विपक्षी सरकारले आफूहरुले खोप ल्याएको भन्दै तमासा गर्न पछि नपर्ने आरोप लगाए।

खोपको विवरण दिँदै ओलीले भने, ‘अब हामीलाई खोपको अभाव छैन। ल्याइदिएको खोप। लगाइरहेको खोप। खोप लगाएका फोटो खिचेर अघिल्लो सरकार गयो हामीले खोप दिन थाल्यौँ भनेर तमासा सुरु हुनेछ। मानौँ जादु गरेर आजै खोप ल्याएको जस्तो प्रचार गर्नेछन्।’

खोपका लागि आफ्नो सरकारले सम्पूर्ण प्रक्रिया पूरा गरिसकेको उनले दाबी समेत गरे, सो सम्बोधनको क्रममा। उनले अब सम्पूर्ण नागरिकले खोप लगाउन पाउने भन्दै आफूहरु खोपका उत्पादक नभए पनि छोटो समयमा नै नागरिकलाई खोपको व्यवस्था गरेको उल्लेख गरे।

उनका अनुसार देश कोभिड–१९ को महामारीबाट गुज्रिरहेको र तयारीहीन अवस्थामा पनि कोभिडलाई परास्त गर्न सफल भयो।

ओलीले भने, ‘हामीले छोटो समयमा नै आफ्ना नगरिकलाई खोपको व्यवस्था गरेका छौँ। मोटामोटी रुपमा सन् २०२१ भित्र हामीले मूलतः जनसंख्याको ठूलो हिस्सालाई खोप लगाइ सक्नेछौँ। केही बाँकी रहला त्यसलाई पनि लगाउँदै जानेछौँ। र अब लगातार खोप लगाएर सम्पूर्ण जनतालाई खोप उपलब्ध गराउने छौँ।’

हालसम्म नेपालले १ करोड ५० लाख डोज खोप आयात गरेको दाबी गरेका थिए।

खोप कति आयो?


तर नेपालमा हालसम्म अनुदान र खरिद गरेर ९७ लाख ८२ हजार ८५० मात्रा खोप भित्रिएको छ।

माघ ८ गते भारतले सबैभन्दा पहिला नेपाललाई १० लाख मात्रा कोभिसिल्ड खोप अनुदानमा दिएको थियो। भारतले अनुदानमा खोप दिएपछि नेपालले माघ १४ गतेदेखि पहिलो चरणको खोप अभियान सुरु गरिएको थियो। त्यसपछि सरकारले आफैले अक्सफोर्ड एस्ट्राजेनेकाले विकास गरेको तथा सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको कोभिसिल्ड २० लाख मात्रा खरिद गरेको थियो।

तर भण्डारण क्षमताको अभावका कारण फागुन ८ गते १० लाख मात्रा मात्र नेपाल ल्याइएको थियो।

त्यस बाहेक भारतले अनुदानमा नेपाली सेनालाई छुट्टै एक लाख डोज कोभिसिल्ड दिएको थियो भने तीन लाख ४८ हजार डोज खोप अन्तर्राष्ट्रिय कोभ्याक्स कार्यक्रममार्फत नेपाल आएको थियो।

तर खरिद गरिएको २० लाख मात्रा खोपमध्ये १० लाख मात्रा खोप भने आउन बाँकी नै छ। कोभिड–१९ को दोस्रो लहरले विकराल रूप लिएसँगै भारतले खोप निर्यातमा पूर्णरुपमा बन्देज लगायो जसले गर्दा नेपालमा चलिरहेको खोप अभियान प्रभावित भयो।

भारतले खोपमा निर्यातमा रोक लगाएसँगै चीनले नेपाललाई कोरोना भाइरसविरुद्धको खोप अनुदान दिने घोषणा गर्‍यो। र चैत १६ गते ८ लाख मात्रा भेरोसेल खोप चीनले अनुदान स्वरुप नेपाललाई हस्तान्तरण गर्‍यो।

त्यसपछि फेरि चीनले अनुदानमै नेपाललाई १० लाख मात्रा भेरोसेल खोप दियो। पहिलोपटक ८ लाख र दोस्रो पटक १० गरि जम्मा १८ लाख मात्रा भेरोसेल नेपालले अनुदानमा प्राप्त गरेको थियो।

भारतबाट खोप निर्यातमा रोग लगाएपछि खोपका लागि विकल्प खोजिरहेको सरकारले चीनसँग खोप खरिद प्रकृया अगाडि बढायो।

स्वास्थ्य मन्त्रालयका अनुसार चीनसँग नेपालले ४० लाख मात्रा भेरोसेल खोप खरिद गरियो।

खरिद गरेको ४० लाखमध्ये असार १५ गते चीनको बेइजिङबाट ८ लाख मात्रा नेपाल आइपुग्यो।

सरकारले जिटुजीबाट खरिद गरेको ४० लाखमध्ये ८ लाख मात्रा खोप नेपाल आइपुगे पनि बाँकी ३२ लाख खोप अब पाँचपटक गरि ल्याइने छ।

यस्तै पछिल्लो पटक असार २८ गते अमेरिकाले अनुदानमा जोन्सन एण्ड जोन्सन कम्पनीको १५ लाख ३४ हजार ८५० मात्रा नेपाललाई दिएको छ। यो खोप एक मात्रा मात्र लगाए हुन्छ ।

यसरी नेपाल भित्रिएको ९७ लाख ८२ हजार ८५० मात्रा खोप मध्ये हालसम्म २६ लाखभन्दा बढीले पहिलो मात्रा खोप लगाएका छन्। ११ लाख भन्दा बढीले दोस्रो मात्रा खोप लगाएका छन्।

उसो त ओलीले २ करोडभन्दा बढी मात्रा खोप खरिदको प्रकृया टुङ्गो लागेको उल्लेख गरेका थिए। उनले भनेका थिए, ‘आगामी केही महिना भित्रै सबै नेपालीहरुले खोप पाउने सुनिश्चित आधार तयार भएको छ। प्रतिकूल अवस्थामा पनि कोभिड महामारीका विरुद्ध प्रभावकारी लडाई संचालन गरिएको छ।’

उनका अनुसार चीनसँगै थप ६० लाख मात्रा खोप खरिद प्रक्रिया अगाडि बढेको छ। ‘चीनले थप १६ लाख डोज खोप अनुदानमा दिने भनेको छ’, उनले भनेका छन्।

योसँगै मंगलबार जापानले एस्ट्राजेनिको करिब १६ लाख मात्रा अनुदान दिने घोषणा गरेको छ। तर कहिलेसम्म नेपाल आइपुग्ने हो, यसको भने टुङ्गो अझै लागिसकेको छैन।

ओलीले खोप आयातको विवरण सार्वजनिक गर्दै गर्दा लामो समयदेखि खोपको प्रतिक्षामा नेपालीहरु बसिरहेका छन्। कोही दोस्रो मात्रा लगाउन छट्पटाइरहेका छन् भने अधिकाशं पहिलो मात्रा कै लागि।

कोरोना भाइरसविरुद्धका लागि लगाइने खोपका लागि अझै कतिसम्म नगरिकहरु छट्पटिनु पर्ने हो, यो न त उनीहरुलाई थाहा छ न सरकारलाई नै।

ओलीले आफ्नो कार्यकालमा भएको खोप आयातको विवरण सार्वजनिक गर्दैगर्दा टुङ्गो नलागेका अनुदानलाई बारम्बार दाहोर्‍याइरहेका थिए।

उनी भन्दै थिए, ‘कोभ्याक्स सुविधाअन्तर्गत साउनमा ६० लाख मात्रा खोप क्रमशः प्राप्त हुनेछ। जोन्सनको ५० लाख, मोदेर्नाको ४० लाख, फाइजरको ४० लाख र कोभिसिल्ड–एस्ट्राजेनिकाको २० लाख गरी १ करोड ५० लाख मात्रा खोप सुविधा मूल्यमा प्राप्त भएको छ। हुँदैछ।’

असार ३१, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्