इलाका प्रशासन कार्यालयमा प्रजिअको कार्यकक्ष !

दाङ – राजपुर गाउँपालिका–३ भैंसहवाका फुर्तीराम यादवलाई आफ्नो समस्या प्रमुख जिल्ला अधिकारी(सिडिओ) सँग सुनाउने मन थियो। तर, उनी घोराही जान सकेका थिएनन्।

यादवले इलाका प्रशासन कार्यालय लमहीमा प्रमुख जिल्ला अधिकारीलाई शुक्रबार भेटेर दुःखेसो पोखेका छन्।

यादवको परिवारका सदस्यसँग अंश विवाद छ। यो मुद्दा दाङ देउखुरी जिल्ला अदालतसम्म पुगेको छ। अदालतले यादवलाई तीनपुस्ते नाता प्रमाण खोजेपछि यादव वडा कार्यालयमा पुगे। वडाध्यक्षले नाता प्रमाणित सिफारिस दिन आलटाल गरेपछि न्याय माग्न उनी प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङलाई भेट्न इलाका प्रशासन कार्यालय लमही आइपुगेका हुन्।

‘सिडिओ सापले सबै कुरा सुन्नुभयो। एउटा पत्र लेखेर प्रहरीलाई दिनुभएको छ। अब न्याय पाउँछु भन्ने आशा पलायो’, यादवले भने, ‘बुवाको भाइका छोराहरूले सम्पत्ति सबै खान थाले। हामीलाई अन्याय भयो।’

इलाका प्रशासन कार्यालय लमहीमा कार्यकक्ष स्थापना गरेर सेवा दिन थालेका प्रजिअ कुरुम्बाङले जनताको पिर–मर्का सुन्न थालेका छन्।

‘कसैलाई अन्यायमा पर्न दिइने छैन। सबैका कुरा सुन्छु’, प्रजिअले भने, ‘मेरो तहबाट हुने कुनै पनि काम, सेवामा ढिलासुस्ती हुँदैन।’

जिल्ला तहमा तीन ठाउँलाई विकेन्द्रीकरण गरेर प्राथमिकतामा राख्नु सकारात्मक कार्य भएको सामाजिक अभियन्ता गंगाराम भट्टराईले बताए।

हरेक बुधबार इलाका प्रशासन कार्यालय तुलसीपुर र हरेक शुक्रबार इलाका प्रशासन कार्यालय लमहीमा प्रजिअ कुरुम्बाङले सेवा दिन थालेका छन्।

लमहीमै कार्यालय प्रमुखको बैठक

महिनाको एक पटक जिल्लाका सरकारी कार्यालयका प्रमुखहरूको घोराहीमा बैठक राख्ने गरिन्छ। तर, देउखुरी क्षेत्रका सरकारी कार्यालयका प्रमुखहरूको बैठक लमहीमा, तुलसीपुर क्षेत्रका कार्यालय प्रमुखको बैठक तुलसीपुरमा र घोराही क्षेत्रका कार्यालय प्रमुखको बैठक घोराहीमा राख्न थालिएको छ।

‘जिल्लाभरिको कार्यालय प्रमुख एक ठाउँमा हँुदा धेरै संख्या हुन्छ। सबैका कुरा सुन्न र राख्नसमेत समय पुग्दैन।

‘अब बैठकलाई क्षेत्रगत बनाइएको छ, कुरुम्बाङले भने, ‘कार्यालय प्रमुख बैठक पनि अलग–अलग ठाउँमा हुन्छ। शुक्रबार लमहीमा देउखुरी क्षेत्रका कार्यालय प्रमुखहरूको बैठक राखिएको छ।’

 

साउन १, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्