‍नीलकण्ठ पदमार्गको विशेषता

हिन्दूहरू समुद्र मन्थन र देवादिदेव महादेवले कालकुट विष सेवन गरी सृष्टि संरक्षण गरेकोमा गर्व गर्छन्। देवादिदेव महादेवका क्रियाकलापको सम्झनामा उहाँको शक्तिलाई सम्मान गर्न संसारका विभित्र स्थानमा प्रशस्त शिला, मूर्ति तथा मन्दिर स्थापना गरिएका तथा भइरहेका छन्।

कालकुट विषपान गरी यात्रा गर्नुभएको पूर्णमार्गको यकिन गरी थप जानकारी ल्याउन सके देवादिदेव महादेवप्रति एउटा सम्मान र सम्झनाको पाटो रहने थियो।

श्रीमद्भागवत महापुराण, विष्णु पुराण तथा हिन्दूशास्त्रका अन्य कथाअनुसार सत्ययुगमा देवता र दानवबीच दुग्ध (क्षीर) सागरमा मन्दराचल पर्वतको मदानी र वासुकी नागको नेती बनाएर अमृत प्राप्तिका लागि समुद्र मन्थन गरेका थिए। समुद्र मन्थनबाट अमृतसहित धेरै राम्रा चिज निस्किए। निस्कने क्रममा सर्वाधिक विषालु हलाहल कालकुट विष पनि निस्कियो।

हलाहल कालकुट विषले समुद्र मन्थनमा लागेका देव–दानवहरूलाई जलाउन थाल्यो साथै ब्रह्माण्डमा सृष्टि भएका सारा जीव, निर्जीव वस्तुहरू पनि ध्वस्त हुने खतरा बढ्यो। देव–दानवहरू आत्तिन थाले र उनीहरूले यसको समाधानका लागि देवादिदेव महादेवको आराधना गर्न थाले।

देव–दानव तथा मानवहरूको आराधना र कालकुट विषको प्रभाव देखेर भगवान् शिव कैलाशबाट सवार भै जगत् कल्याणका लागि हलाहल कालकुट विष आफैँले पिएर जगत् बिवनाशबाट बचाउन प्रयत्न गर्नुभयो।

हलाहल कालकुट विष सेवनलाई फोक्सो, मुटु तथा पेटमा नपुर्‍याउन ज्यानको सुरक्षार्थ पार्वतीले देवादिदेव महादेवको घाँटीमै अड्काइदिनुभयो र शिवको कण्ठ नीलो हुन गयो। त्यसैबेलादेखि शिवलाई ‘नीलकण्ठ’ भनिन थालियो।

कण्ठमा अड्केको हलाहल कालकुट विषको दहनमा शीतलता तथा छुटकारा पाउन छटपटिँदै क्षीर सागरबाट कैलाशतर्फ फिर्ती सवार हुनुभयो।

हिन्दूहरूको विश्वासअनुसार समुद्र मन्थनमा प्रयोग भएको मदानी भारतको, बिहार प्रान्त, बाँका जिल्लाको भागलपुरस्थित मन्दार पर्वतलाई मन्दराचल पर्वत भनी हरेक वर्ष माघमा धार्मिक मेला लाग्ने गर्छ।

नीलकण्ठ कैलाश फर्कने क्रममा समुद्रबाट गंगा नदी हुँदै नेपालको सप्तकोसी, बराहक्षेत्रबाट सुनकोसी, कुशेश्वरबाट रोसी, पुण्यमाता र महादेव पोखरी हुँदै गोसाइँकुण्ड र कैलाशतर्फ सवार भएको सुनाउने गर्छन्। वासुकी नाग पनि नीलकण्ठसँग आएर पनौतीको त्रिवेणी (उत्तर प्रयाग) घाटमा विराजमान भएका थिए भत्रे जनविश्वास छ।

स्थानीयको कथनअनुसार लडकेश्वर र रोसी दोभानबाट खोपासी, किटनी हुँदै रोसी नदी किनारमा ३ किमि सुरुङमार्ग थियो।

विष दहनबाट छटपटिएर रोसी खोलाको बाटो भएर सवार हुनुभएका नीलकण्ठलाई महामायाँ पार्वतीले नेपाने (बल्थली), रोसी खोला किनारस्थित सुरुङमार्गबाट भित्र लैजान सुरुङको मुखमाथि अदृश्य भई शीतलता दिन आफ्नो दूध झार्नुभयो।

देवदेवीहरू उक्त सुरुङको मुख नजिक बसेर नीलकण्ठको शान्तिको पुकार गर्न थाले। महादेव पनि शीतलता र शान्तिका लागि दूधको झरना ग्रहण गर्दै सुरुङमार्गभित्र पस्नुभयो। पछि उक्त सुरुङमार्गको मुखमा ढुंगाको शिला स्थापना गरी लडकेश्वरको नामले नीलकण्ठको पूजा गर्न थालियो। सुरुङको अर्कोतर्फ किटनी – खोपासी, रोसी नदीकिनारमा रहेको सुरुङमार्गको मुख माथिबाट नीलकण्ठलाई शीतलता दिन महामाया पार्वतीले आफ्नो दूध झार्नुभयो।

त्यहाँ पनि देवदेवीहरू उक्त सुरुङको मुखअगाडि बसेर नीलकण्ठका लागि शान्तिको पुकार गर्न थाले। दूधको झरना ग्रहण गर्दै महादेव सुरुङमार्गबाट निस्केर रोसी खोलैखोला माथितिर लाग्नुभयो। पछि उक्त सुरुङमार्गको मुखमा ढुंगाको शिला स्थापना गरी फडकेश्वरको नामले नीलकण्ठको पूजा गर्न थालियो। हाल आएर लडकेश्वर र फडकेश्वरमा दैनिकी पूजा, प्रर्थनाको साथमा ठूलो एकादशी अर्थात् हरिशयनी एकादशी (निर्जला एकादशी) का दिन चतुर्मास अन्त्यको ठूलो मेला लाग्छ।

नीलकण्ठ महादेव र वासुकी नाग रोसी, रुद्रावती र पुण्यमाताको संगम त्रिवेणी, उत्तर प्रयाग पनौती पुग्नुभयो। वासुकी नाग उक्त त्रिवेणीमै विराजमान हुनुभयो।

लिच्छविकालमा कामारु कामाक्ष गएका वासुकी नाग, करुणामय मत्स्येन्द्रनाथ ल्याएपछि पाटनका ज्यापुसँगै गएर शंखमूल धाटमा बस्न गएका र पनौतीको ज्याःपुहिँ (जात्रा) को चार दिनपहिले हुरी–पानीसँग आउने र जात्रा सकेपछि त्यसरी नै फर्कने जनविश्वास छ।

नीलकण्ठ भगवान् पुण्यमाता नदी पछ्याउँदै उत्तरतर्फ लाग्नुभयो।

मनमाया पर्वत (तपोवन) अर्थात् रत्नागिरि पर्वत हालको नगरकोटमा पुगेपछि नीलकण्ठले जमिनबाट जल उत्पन्न गरी कुण्ड सिर्जना गरी स्नान सकेर गाँजा खाई एकरात विश्राम गर्नुभयो। कुण्डमा ऋषिमुनीहरू आई तपस्या गरेर रत्नचुदेश्वर महादेव नामक शिवलिंग स्थापना गरी दैनिकी पूजा प्रार्थनाको अतिरिक्त हरेक वर्ष जनैपूर्णिमाका दिन शैवमार्गी र बौद्धमार्गीको ठूलो मेला लाग्ने गर्छ।

शिवपुरी जंगलमा तपस्यारत ॐ बाबाका अनुसार नीलकण्ठको उत्तर यात्राको क्रममा राम्रो जंगलमा खुसी भएर जंगलभित्र सवार हुँदै जाँदा प्रफुल्ल भई हाँस्दा मुक्तिका लागि सृष्टि गर्नुभएको वाग्द्वारबाट बागमती नदी बहेको छ।

वाग्द्वारमा रहेको पत्थरलाई शतरुद्रेश्वर १०८ मध्ये ७० औं रुद्र हुन् भनिन्छ। उक्त जंगलको नाम पनि शिवपुरी रहन गयो।

विषको डाहबाट जंगलभित्र भौँतारिँदै उत्तरतर्फ सवार नीलकण्ठले बीच बाटोमा प्यास लागेर आफूसँग ल्याएको बेतको लठ्ठी धर्तीमा गाडेर पानी निकाल्नुभएको र नदी बन्यो, अहिले उक्त नदी वेत्रावती नदी नामले प्रसिद्ध छ।

लिच्छविकालमा कामारु कामाक्ष गएका वासुकी नाग, करुणामय मत्स्येन्द्रनाथ ल्याएपछि पाटनका ज्यापुसँगै गएर शंखमूल धाटमा बस्न गएका र पनौतीको ज्याःपुहिँ (जात्रा) को चार दिनपहिले हुरी–पानीसँग आउने र जात्रा सकेपछि त्यसरी नै फर्कने जनविश्वास छ।

स्कन्दपुराण र हिमवतखण्डका अनुसार विषले छटपटाउँदै हिँडेका नीलकण्ठले एउटा हिम पहाडमा त्रिशूलले घोपी पानी निकालेर पीडा शान्त पारेको र उक्त ठाउँबाट निस्किएको जलकुण्ड जो अहिलेको गोसाइँकुण्डमा विराजमान भई कालकुट विषको पापबाट मुक्ति प्राप्त गरी रसुवा गढी, केरुङको बाटो हँुदै आफ्नो वासस्थान कैलाश प्रस्थान गर्नुभएको जनश्रुति छ।

गोसाइँकुण्डनजिकै भैरवकुण्ड, सरस्वतीकुण्ड, सूर्यकुण्ड, दूधकुण्ड, गणेशकुण्डसहित नजिक र टाढा गरी साना–ठूला गरी १०८ कुण्ड छन्।

गोसाइँकुण्डबाट निस्केर बगेको पानी त्रिशूली नदीको नामले प्रसिद्धि कमाएको छ। कान्तिपुरका मल्ल राजाहरूले राजगद्दीमा बसेका पहिलो अथवा दोस्रो वर्षमा सुन्दरीजलको बाटो भएर गोसाइँकुण्डमा स्नान गर्ने चलन भएको इतिहासमा उल्लेख छ।

नेपाल मण्डल स्वर्णयुगका राजाहरूको गोसाइँकुण्ड धार्मिक तीर्थाटनबाट फर्केर चाँगुनारायण र पशुपतिमा गएर पूर्णता दिने प्रथा चलाएका थिए।

विभित्र धर्मावलम्बीमध्ये हिन्दू, बौद्ध र बोन्पो (तान्त्रिक) समूहले गोसाइँकुण्डलाई आ–आफ्नै ढंगले व्याख्या गरेका छन्।

हिन्दू किंवदन्ती – कालकुट विषले छटपटाउँदै हिँडेका नीलकण्ठले एउटा हिम पहाडमा त्रिशूलले घोपी पानी निकालेर पीडा शान्त पारेको र उक्त ठाउँबाट निस्किएको जलकुण्ड, गोसाइँकुण्डमा विराजमान भई कालकुट विषको पापबाट मुक्ति प्राप्त गर्नुभएको जनश्रुति छ।

पोखरीभित्र उत्तानो परेर सुतिरहेको मानव आकारको ढुंगा छ। तीर्थयात्री बेलाबखत महादेव कैलाशबाट आएर पोखरीभित्र सयन गर्ने र यो दृश्य धर्मात्मा भक्तजनले मात्र देख्न सक्ने जनविश्वास छ।

बौद्ध किंवदन्ती – गोसाइँकुण्डभित्र मानव आकारको प्राकृतिक ढुंगाको मूर्ति छ। तिब्बतीहरू तालभित्र भएको मूर्ति आकारको ढुंगालाई फाग्स–पा थग्स–ज्रे चेन–पो (अवलोकितेश्वर) भनेर मान्छन्। त्यो मूर्ति खरानी–नीलो रंगको छ। नौ वटा सर्पका टाउकाले संरक्षण दिइरहेको देखिने उक्त मूर्ति पानीमा उत्तानो परेर सुतिरहेजस्तो देखिन्छ। उनीहरूले आफ्नो भूगोलको किताबमा ‘द्जाम–ग्लिङ–ग्योस–बसाद’ मा उक्त नाम दिएका छन्।

बोन्पो (तान्त्रिक) किंवदन्ती – तामाङ बान्पोहरू गोसाइँकुण्डलाई विभिन्न नाम दिएका छन्, छो कर – सेतोकुण्ड, ह््याप क्षेग्याल– पिता, ह््युम फमा डोल्मा – माता र ल्हाक्षेम्पो मादेउ – ठूला भगवानको रूपमा मान्ने चलन छ।

बोन्पो झाँक्री धेरै कुण्ड पुज्ने गर्छन्। तीमध्ये गोसाइँकुण्डलाई सबैभन्दा ठूलो देवताको रूपमा लिन्छन्– सयौँ बान्पो भेला हुने पवित्र धाम भनिन्छ। उहिले भैरवकुण्ड (छोना) को नागले गोले बोन्पोलाई तानेर कुण्डभित्र लगेको जनश्रुतिअनुसार तामाङ समुदायकै गोले वंशका बोन्पो झाँक्रीहरू भने गोसाइँकुण्ड जाँदैनन्।

गोसाइँकुण्डमा हिन्दू तथा बौद्धमार्गीबाट दैनिकी पूजा प्रार्थनाको अतिरिक्त वर्षको दुई पटक मेला लाग्ने गर्छ।

१) गंगा दशहरा – वेगवान गगालाई पृथ्वीमा ल्याउने क्रममा महादेवले जटामा राखेर थामिदिएको पुराणमा वर्णित छ। गंगा पृथ्वीमा अवतरण भएको दिन जेष्ठ शुक्ल प्रतिपदाबाट सुरु भई दशमीसम्म लगातार १० दश दिन मनाउने गरिन्छ। पौराणिक मान्यताअनुसार यसदिन गंगा स्नान गर्नाले विशेष फल प्राप्त हुन्छ तसर्थ यस दिन कुनै पवित्र नदी वा तलाउको पूजा अर्चनाका साथ देवादिदेव महादेवलाई जलाभिषेक गरिन्छ। दश प्रकारका पाप नाश हुने यस दिन दान तथा उपवासको विशेष महत्व छ,

२) जनैपूर्णिमा – श्रावण शुक्ल पूर्णिमाका दिन सबै देवी, देवताको गोसाइँकुण्डमा जमघट हुने र भगवान शिव पनि जनैपूर्णिमाका दिन कैलाशबाट गोसाइँकुण्डको तलाउमा आएर विराजमान हुने विश्वासले उक्त दिन कुण्डमा पूजा तथा स्नान गर्दा सबै देवताको दर्शनबाट मोक्ष प्राप्त हुने र धर्म मिल्ने जनविश्वास छ।

तागाधारीहरूले जनैपूर्णिमाका दिन सक्नेहरू गोसाइँकुण्डमा र नसक्नेहरू नजिकै ताल, तलाउ, नदी वा कुण्डमा गई वैदिक रुद्राभिषेक पद्धतिबाट मन्त्रिएको जनै तथा रक्षाबन्धन धारण गर्छन्।

बौद्धमार्गी गोसाइँकुण्डलाई बोधिसत्व अवलोकितेश्वरका रूपमा पनि पुज्ने गर्छन्। उनीहरूका अनुसार अवलोकितेश्वर आफ्नो करुणाका कारण कुनै पनि रूप धारण गरेर दीन–दुःखी प्राणीको सहायता गर्छन्। महायान बौद्ध धर्म सम्प्रदायको सबैभन्दा लोकप्रिय बोधिसत्व अवलोकितेश्वर हो। यी देवमा अपार करुणा हुने कुरा धार्मिक कथनमा बताइएको छ।

बोम्बो धर्म मान्ने तामाङ जातका लामा झाँक्रीहरूको सिद्धि प्राप्तिको थलो बनेको छ। नयाँ झाँक्री सिकेपछि कुण्डमा गएर पूजा गर्नुपर्छ। बोन्पो झाँक्रीको मृत्युपछि उनको आत्मा (बेन्से) लाई गोसाइँकुण्डमा पूजा गरेर कुण्डदेखि पश्चिममा रहेको डुप्खङ गुफामा तोर्मो बनाएर बिदाइ गर्ने परम्परा छ।

तामाङ तथा लामाहरू मृतकको नाममा बत्ती बाल्ने, लुङ्डर चढाउने, कोरछ्याङ (दान) र छो (प्रसाद) बाँड्छन्। जीवनका विभित्र कर्मकाण्डको शुद्धीकरणका लागि समय सापेक्ष गोसाइँकुण्डमा पूजा प्रार्थनाका लागि जाने गर्छन्। गोसाइँकुण्डमा स्नान गरेपछि दुःख–बिमार र ग्रहदशा शान्ति हुन्छ भत्रे विश्वास छ।

तीर्थालुहरू गोसाइँकुण्डमा स्नान गरे मनले चिताएको पूरा हुने मान्यता राख्छन्। जीवनभरि सके तीनपटक नसके एकपटक भए पनि गोसाइँकुण्डमा गएर पूजा गर्दा आफ्नो लक्ष्य र उद्देश्य पूरा हुने तामाङ समुदायमा धार्मिक विश्वास छ।

गोसाइँकुण्डमा हरेक वर्ष मनाइने माथिका दुई मेलाका अतिरिक्त अर्को दुई मेला लाग्ने
३) कात्तिक पूर्णिमा

४) फागु पूर्णिमा।

यी मेलामा खासगरी स्थानीय र पर्यटकीय दृष्टिले जाने धर्मालम्बी तथा प्रकृतिप्रेमीले भाग लिने गर्छन्। भारतको बिहार राज्य, बाँका जिल्ला, भागलपुरमा अवस्थित मन्दार पर्वतदेखि गंगा नदी, नेपालको सप्तकोसी, सुनकोसीबाट रोसी नदीको लडकेश्वरसम्म र गोसाइँकुण्डदेखि रसुवा गढी, चीनको केरुङ भएर मानसरोवर कैलाशसम्म नीलकण्ठ देवादिदेव महादेवको पदमार्ग पहिचान गर्न सके विश्वकै ठूलो धार्मिक क्षेत्र बत्रेछ।

हाललाई देवादिदेव महादेवले पदार्पण गर्नुभएको स्थान यकिन गरिएका नेपालभित्रको भूमिलाई ऐतिहासिक मौलिकतामा नेपाल सरकारको विभित्र तह र तप्का तथा देशका विभित्र धार्मिक एवं सामाजिक संघसंस्था तथा व्यक्तिबाट स्थानीय प्राकृतिक स्रोत–साधन मात्रको प्रयोगका साथ समुदायमा आ–आफ्नो इलाकामा अपनत्व लिएर प्रस्तुत हुन सके देवादिदेव महादेवप्रति आस्था राख्ने विश्वका तीर्थालु तथा अन्य वर्गका यात्रीको आगमनमा वृद्धि हुने थियो।

स्थानीय प्राकृतिक स्रोत र साधनको प्रयोगका साथै ऐतिहासिक मौलिकतामा बत्रे पर्यटकीय क्षेत्र पर्यावरणीय हुनेछ। पर्यावरणीय र धार्मिक पर्यटकीय संरचनाको स्थापनाले यस क्षेत्रले द्रुतगतिमा पर्यटकलाई आकर्षण गर्नुका साथै स्थानीय समुदायको जीविकोपार्जन र आयवृद्धि तथा स्थानीय, प्रादेशिक, संघीय सरकारको आय वृद्धिमा समेत योगदान पुर्‍याउनेछ।

साउन २, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्