आजकालको समय खासै निको छैन। सधैँजसो आकाशमा कालो बादल मडारिएको हुन्छ। बादल हटे चर्को घामले डढेलो लाग्ने पिर, नहटे पानिले भेल उर्लने डर-घरमा पनि मनमा पनि। आकाशको बादल देखिन्छ, आँखामा लागेको बादलको कसलाई मतलब छ र?

ज्या, उड्न पनि सक्दिन क्षितिजमा कपटको जाल फिँजारिएको छ। हौसलाको उडान भर्न चाहने सबैका उत्कट अभिलाषा द्वेषीको अँगालोमा बाँधिएको छ। आफ्नै स्वर कर्कश लाग्ने व्यथाको ओखति के होला ?

यो व्यथा आजभन्दा करिब करिब २० वर्ष अगाडिको हो। यो दौडको युग। सबै दौडमा थिए- कोहि पाउने, त कोहि गुमाउने।

आज मेरो पालो थियो। वारिबाट दौडिएर पारि पुग्ने। सीमा भित्र सुरु गरेर, सीमा बाहिर रोकिने। स्वभूमिबाट उडेर दसगजामा हराउने।

आज मेरो खोप मात्र हैन, दिन पनि अँध्यारो छ। सायद मेरो बिदाइको साक्षी कसैलाई हुन छैन होला। आँगनभरि ख्वामितले छरिदिएको अन्न छ, गएर टिप्ने भोक छैन, खालि झोला भर्ने लालसा छैन। भनिन्छ स्वतन्त्रता परम हुन्छ, तर आज मेरो स्वतन्त्रता किन मलाई आनन्दमय छैन? ख्वामितले खोपको ढोका खोलिँदिदा पनि किन मलाई अन्धकारको अधीनता प्यारो छ? के स्वतन्त्रता परिस्थितिगत हुन्छ र ? यो सारा उथल -पुथल यसैका निम्ति भएका हैनन् र ?

यो आँसु बेचेर हाँसो किन्ने जमाना हो। जमानाको जिम्मा वहन गर्न फिँजारिएका पखेटा यथार्थको बेगले लागेर भुइँमा पछारिँदा थाहा भयो – बाँच्नु र जिउनुको फरक। खैर, हिँड्ने मान्छे लड्छ तर खस्यो भने नि ?  जे होस् पारिको भारी त बोक्नु नै छ – कोही समुन्द्र वारि बसेर, कोही समुन्द्र पारि बसेर। उठेर धुलो टक- टक्याउदै पुन: उड्न खोज्दा पखेटा चलेन भने नि ? अनि त्यसै बखत भयङ्कर भेद खुल्यो भने नि ?

यो नाटक रहेछ, सबै आफ्नो चरित्र निभाउँदै छन्। मेरो तुच्छ दुर्घटना हुँदाकै बखत अर्को भयानक दुर्घटना लिपिबद्व हुँदै रहेछ। डाक्टर, भट्टाचार्यहरुको साथमा पटकथाको संवाद तयार हुदै थियो।  दुई प्रेमिल जोडीको बसाइमा प्रचण्ड पथको माधवी लता घिसरिन खोज्दै थियो। खड्गो उचित स्थानमा छ वा रहन्छ भन्ने भान नभएर हो?

मलाई आज पनि अन्धकारको अधीनता नै प्यारो छ, सायद स्वतन्त्रता परिस्थितिगत भएर होला। म खोपको परेवा, मेरो डाँक – शान्ति , शान्ति , शान्ति।

स्थान रोमाञ्चित थियो। यद्यपि वातावरण धुम्म थियो, सायद जानकार भएर पनि खतिको ओखती नभएर हो कि। अचम्मको कुरा त के भने उनीहरु निर्देशकको बुइँ चढेका रहेछन् तसर्थ खुट्टा भुइमा थिएन। म पनि धर्ति छोडेको, उनीहरु पनि धर्ति छाडेका। एकै कर्मको परिणाम किन अनेक? एकै कर्म गर्नेको उदेश्य किन अनेक ? यो सब गर्दागर्दी यही दिक्दार गद्दारीका लागि हो ?

निरस मेरा आँखा यसै रसाएर आए। त्यो आँसुको थोपाले पत्रको अक्षरलाई छरपस्ट पारेर होला, उनीहरुले मेरो उपस्थितिको सुइँको पाए। त्रासको बिजारोपण र रहस्य अप्रकट हेतु उनीहरुले हिंसाको सहारा लिए। गुलेलीको चोटले मेरो उडान भर्ने आकांक्षा भौतिक र मानसिक दुवै तवरले विच्छिन्न भए। विचरा मेरा सहचरहरुको के भुल भयो र ? आँशु बेच्दै गरेका निमुखालाई एक-आपसमा भिडाएर , तिमी शत्रु हजारौँको बलि दिने ?

हिजो पारि रुखमुनि बसेर १२ मास चैनको सम्झौता गर्दा, के ती प्रेमिल जोडी वा रचियताहरु खुसी थिए त? यताबाट दिल ली, दिल ली भनिरहँदा , उनीहरुले किन गद्दी गद्दी सुनेका होलान् ? अथवा त्यस पटकथामा अरु पात्र अनुबन्धित गरियो ? यहाँ उत्तर छ र ? किनकि दिन आजपनि निको छैन। कुहिरो मण्डलीमा न प्रकाश छिरेको छ न त् भुमि सिंचित छ। कसले के गर्दैछ न खुला देखिन्छ, न त् सुनेको ठम्याउन सकिन्छ। “कुहिरोको काग ” भनेको यही हो ? “लाटोकोसेरो” रैथाने हो कि फिरन्ते ?

अहिले पनि माधवी लताहरु घिसारिँदै छन् उही प्रचण्ड पथमा। निरन्तर हुनेछ जीवन रहुन्जेल सम्म। किनकि प्रेममा आज परेको हैन, यो बन्धन त युगदेखि युगसम्म। प्रगाढ माया छुटाएर छुट्न नसक्ने, लुकाएर लुक्न नसक्ने। पिरती बसेकै हो, षडयन्त्रमा फसेकै हो।  भर्खरै प्रतिगामी तरवारले खड्गो टार्ने परिघटना भयो, हुँदै जाने छन्। यो नास्तिकी सफलता कहिलेसम्म हो?

म त आज पनि पारि बसेर वारिको दु:खमा चिन्तित छु, यसको विपरीतमा उनीहरु वारि बसेर पारिको भलाइ सोच्दै छन्। भुइँमै टेक्दा पनि माटोले किन नछोएको होला? माटोलाई आफै त् दिएनन्, माटोले आफ्नो हक माग्दा पनि दिन किन कन्जुस्याइँ गरेको हो ? स्वर्ग देख्न मर्नै पर्ने हो, नमरी स्वर्ग देखिन्न र ? स्वर्ग जाने हो कि, बनाउने हो ?

वर्षौँ देखि भुलाएको उडान, अब गर्ने संकल्प गर्नु छ। किनकि ‘हामी यहाँ छौ’ भन्दा सबैले देख्ने आँखा, मैले “म यहाँ छु” भनिरहँदा वास्ता नहुँदो रहेछ। पारिका अनेकौँ बाधा सामना गरेर आफ्नो स्थान “खोप” फर्किने निधो गरे। स्वन्तन्त्रता प्राप्त मेरो मुलुकको क्षितिजमा  विचरण गरिरहदा नौलो आभाष भयो। पूर्वबाट सुरु गरेर पश्चिमसम्म पुग्दा स्वतन्त्रताको प्रभाव सबैजसोमा परेको रहेछ। देख्ने बोल्न नसक्ने, बोल्ने सुन्न नसक्ने र सुन्ने देख्न नसक्ने। परिवर्तनको परिणाम यति घातक हुन्छ र ?

आज फेरि मेरो पालो थियो। घरबाट सुरु गरेर, घरभित्रै हराउने। आशा लिएर निस्केको, निराशा बोकेर भित्रिने। दिन आज पनि अँध्यारो नै छ, सायद मेरो आगमनको  साक्षी कसैलाई हुन छैन होला। त्यसबेला जाँदा ममात्र निराश थिएँ, आज त सारा जगत खिन्न छ। हिजो अस्ति पारि लेखिने पटकथा, अहिले घरैमा मन्चन हुँदा पनि बोल्न सकेको छैन। फरक यत्ति हो, पहिला सूर्यको तापमा  कथा बुनिन्थ्यो, अहिले रुखको छहारीमा।

मलाई आज पनि अन्धकारको अधीनता नै प्यारो छ, सायद स्वतन्त्रता परिस्थितिगत भएर होला। म खोपको परेवा, मेरो डाँक – शान्ति , शान्ति , शान्ति।

साउन २, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्