आठ स्रष्टा सम्मानित

काठमाडौँ – लुनकरणदास–गंगादेवी चौधरी साहित्यकला मन्दिरले विभिन्न विधाका आठ व्यक्तित्वलाई सम्मान प्रदान गरेको छ।

२६ वर्षदेखि निरन्तर प्रदान गर्दै आएका यी सम्मान साहित्यकला मन्दिरका अध्यक्ष वसन्त चौधरी तथा नेपाल संगीत नाट्य प्रज्ञाप्रतिष्ठानका कुलपति एवं यस कलामन्दिरका सदस्य संगीतकार रायनले संयुक्त रूपमा प्रदान गरेका छन्।

यस क्रममा नेपाली वैज्ञानिक महावीर पुनआबद्ध राष्ट्रिय आविष्कार केन्द्रलाई गंगादेवी चौधरी स्मृति सम्मान, अग्रज साहित्यकार तथा पत्रकार प्राध्यापक चूडामणि रेग्मीलाई सरस्वती गद्यसम्मान, वरिष्ठ इतिहास–संस्कृतिविद् प्राडा वीणा पौडेललाई इतिहासशिरोमणि बाबुराम आचार्य शोधसम्मान, वरिष्ठ चित्रकार प्राज्ञ रागिनी उपाध्यायलाई अरनिको ललितकलासम्मान, वरिष्ठ कवि विश्वविमोहन श्रेष्ठलाई गोपालप्रसाद रिमाल काव्यसम्मान वरिष्ठ देउडागायक प्राज्ञ नन्दकृष्ण जोशीलाई नारायणगोपाल संगीतसम्मान, वरिष्ठ रंगकर्मी वीरेन्द्र हमाललाई बालकृष्ण सम रङ्गसम्मान तथा प्रसिद्ध युवा क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई ‘नेपाल नवप्रतिभासम्मान’ द्वारा सम्मानित गरिएको छ।

सामाजिक भौतिक दूरी कायम गरी सीमित स्रष्टामाझ गरिएको यस ‘स्रष्टासम्मान समारोह’ मा आफ्नो मन्तव्य व्यक्त गर्दै संस्थाका अध्यक्ष कवि वसन्त चौधरीले भने, ‘धेरै सम्मान र पुरस्कार पाइसक्नुभएका यहाँहरूका लागि यो सम्मान सानै होला तर यो हाम्रो हृदयसँग जोडिएको सम्मान हो।’

साउन २, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्