नेपालमा कोभिड प्यान्डेमिकको एक झलक: साप्ताहिक विश्लेषण (असार २७ देखि साउन २)

काेराेना प्यान्डेमिकको अन्त्य हुने कुनै लक्षण देखिएको छैन

विश्वमा कोरोना प्यान्डेमिकले ठूलो आरोह अवरोह पार गरिसकेको छ। यसै क्रममा विश्वको पछिल्लो लहर २०२१ को फेब्रुअरीको अन्तिम साता सुरु भई अप्रिलको अन्तिम सातातिर उच्च बिन्दुमा पुगी जुनको मध्येतिर न्यूनतम बिन्दुमा झरेको थियो।

हालसम्म विश्वमा जति पनि कोरोना प्यान्डेमिकका लहरहरु आए प्रत्येक पटक लहरको उच्च बिन्दु अग्लो हुँदै गएको छ र न्यूनतम बिन्दु (Base Line) पनि पहिलाको भन्दा माथि नै देखिएको छ।

WHO का अनुसार विश्वको पछिल्लो लहरको दैनिक संक्रमणको सबैभन्दा अधिकतम संख्या ८९५००० थियो भने त्यस पछिको सबैभन्दा न्यूनतम संख्या करिब २९१००० थियो। जुन महिनाको मध्यतिर देखिएको उक्त न्यूनतम संख्या पछिल्लो समय फेरि बढ्दै गएको लक्षण देखिन्छ जुन हाल ४००००० देखि ५०००००का बीच रहेको छ। यसरी हाल विश्वमा फेरि दैनिक संक्रमण बढ्न खोज्नु सुखद कुरा पक्कै पनि होइन।

त्यस्तै दक्षिण एसियाको पछिल्लो प्यान्डेमिकको बेला सबैभन्दा उच्च दैनिक संक्रमण ४३६००० सम्म पुगेको थियो भने तत्पश्चात जुन महिनाको तेस्रो सातातिर न्यूनतम ८०००० सम्म झरेको थियो। हाल फेरि दैनिक संक्रमणमा बृद्धि हुँदै गई हाल दैनिक १००००० नाघेको छ। पछिल्लो समय दक्षिण एसियामा मात्रै होइन फेरि नयाँ लहर आउने लक्षण विश्वका धेरै ठाउँमा देखिएको छ।

दक्षिण एसियाको कुरा गर्दा पछिल्लो समय बंगलादेशमा  नयाँ लहर आइरहेको छ जुन हालसम्मकै सबैभन्दा उच्च मात्र होइन पहिलाको भन्दा दुई गुणाभन्दा ठूलो भइसकेको छ। त्यस्तै इन्डोनेसियामा हालसम्मकै सबैभन्दा ठूलो लहर आइरहेको छ जुन पहिलाको भन्दा तीन गुणा ठूलो भइसकेको छ। दक्षिण कोरिया कोरोना संक्रमण र प्यान्डेमिक सफलतापूर्वक नियन्त्रण गरेको देशमध्ये गनिन्छ। तर पछिल्लो समय त्यहाँ पनि संक्रमण बढ्दै गई हाल संक्रमण दर करिब ५% पुगेको छ जुन केही हप्ताअघिसम्म २% भन्दा कम थियो।

युरोपमा पछिल्लो समय सबैभन्दा न्यूनतम दैनिक संक्रमण जुन महिनाको मध्यतिर करिब ४०००० भएकोमा हाल यो संख्या १२०००० भन्दा धेरै भएको छ। बेलायतमा पछिल्लो समय फेरि दैनिक संक्रमणमा बृद्धि भई संक्रमण दर ३% नाघेको छ जुन केही हप्ता अघिसम्म सुन्ना समान थियो। त्यतै स्पेन, रसिया आदि देशहरुमा पनि पछिल्लो समय फेरि दैनिक संक्रमणमा उल्लेख्य बृद्धि भएको देखिन्छ।

त्यतै इस्टर्न मिडाटिर्यनियन क्षेत्र जुन मिडाटिर्यनियन सागरको पूर्वमाअवस्थित छ जहाँ टर्की, इजिप्ट, इज्राएल, ग्रिस आदि देशहरु पर्दछन्, त्यहाँ हाल चौथो लहरको प्यान्डेमिक चलिरहेको छ जुन पहिलाको जत्तिकै ठूलो भइसकेको छ। त्यहाँको पछिल्लो दैनिक न्यूनतम संक्रमण, करिब एक महिना अगाडि, हालको भन्दा एक तिहाई मात्रै थियो।

त्यस्तै वेस्टर्न प्यासिफिक क्षेत्र जुन प्यासिफिक महासागरकको  पश्चिममा पर्दछ जहाँ उत्तरमा जापान, चीन, कोरियादेखि फिलिपिन्स, अस्ट्रेलिया, न्युजिल्याण्ड आदि देशहरु पर्दछन्, त्यहाँ पनि पछिल्लो समय हालसम्मकै सबैभन्दा ठूलो प्यान्डेमिक लहर चलिरहेको छ जुन पहिलाकोभन्दा दुई गुणाभन्दा ठूलो भइसकेको छ।

अफ्रिका महादेशको कुरा गर्दा त्यहाँ पनि पछिल्लो समय हालसम्मकै सबैभन्दा ठूलो प्यान्डेमिक लहर चलिरहेको छ जुन पछिल्लो न्यूनतम दैनिक संक्रमणभन्दा करिब १० गुणा ठूलो भइसकेको छ।

दक्षिण अमेरिकामा भने पछिल्लो समय कोरोना संक्रमण र प्यान्डेमिकको लहर नदेखिए तापनि दैनिक संक्रमण  निरन्तर चलिरहेको छ जुन यसै वर्षको सुरुवातीमा देखिएको हालसम्मकै सबैभन्दा ठूलो लहरभन्दा केही सानो छ। स्मरण रहोस् ब्राजिलमा हालसम्मकै सबैभन्दा धेरै दैनिक संक्रमण केही हप्ताअघि मात्रै देखिएको थियो जुन करिब ११४००० जति थियो।

अमेरिकामा पनि हाल दैनिक संक्रमण निकै न्यून देखिएको छ। तर पछिल्लो केही हप्तादेखि त्यहाँ पनि दैनिक संक्रमणमा बृद्धि भई संक्रमणदर करिब २%बाट ६%मा बढेको छ।

माथिका यी सबै तथ्यहरुले के देखाउँछ भने कोरोना प्यान्डेमिक सुरु भएको यति लामो समय भइसके तापनि,कोरोना रोकथाम र उपचारमा यति धेरै प्रगति भइसके तापनि पछिल्लो समय पृथ्वीको अधिकांश भूभागमा कोरोना प्यान्डेमिकको लहर निरन्तर चलिरहेको मात्रै होइन झन् झन् ठूलो हुँदै गएको देखिन्छ मानौँ अझै ठूलो लहर आउन बाँकी नै छ। यसले के कुराको पुष्टि गर्दछ भने कोरोना संक्रमण हाम्रो समाजमा अझै पनि लुकेर बसिरहेको छ,प्यान्डेमिक अझै पनि अनिश्चित अवस्थामा नै छ र यो अझै निकै लामो समय चल्ने लक्षण देखिन्छ।

हाल दक्षिण एसियामा समग्र दैनिक कोरोना संक्रमण कम हुँदै जाने क्रम जारी रहेता पनि पछिल्लो समय करिब एक महिनादेखि संक्रमण र मृत्यु घट्ने दरमा कमि आएको छ।विश्व र दक्षिण एसियाको विगत १५ दिनको समग्र दैनिक संक्रमण र दैनिक मृत्युको प्रवृत्ति चित्र न.१ मा देखाइएको छ।

चित्रमा देखाइए जस्तै दक्षिण एसियामा हाल दैनिक संक्रमण र दैनिक मृत्यु स्थिर देखिएता पनि विश्वमा भने यी दुवै तथ्यांकहरु बढ्दै गएको देखिन्छ। दक्षिण एसियामा हाल दैनिक संक्रमण औसतमा करिब ५५००० छ भने दैनिक मृत्यु करिब ११०० रहेको छ। वर्तमान लहर सुरु हुनुभन्दा अगाडि दैनिक नयाँ संक्रमण र मृत्यु क्रमश: न्युनतम (base line) करिब १५००० र १०० थियो।

चित्र न.२ ले दक्षिण एसियाली देशहरुको पछिल्लो १५ दिनको दैनिक संक्रमणको प्रवृत्ति देखाएको छ जसमा भारतको दैनिक संक्रमण प्रवृत्ति घट्दै गएको देखिन्छ भने बंगलादेशको संक्रमण बढ्दै गएको छ। अन्य देशहरुको संक्रमण संख्या भने तुलनात्मक रुपमा कम देखिन्छ।

त्यस्तै चित्र न.३ ले दक्षिण एसियाली देशहरुको पछिल्लो १५ दिनको दैनिक मृत्युको प्रवृत्ति देखाएको छ। जसमा भारतको दैनिक मृत्यु केही कम हुँदै गएको देखिन्छ भने  बंगलादेशको दैनिक  मृत्यु पनि बढ्दै गई हालसम्मकै सबैभन्दा उच्च पुगेको छ। अन्य देशहरुको मृत्यु संख्या भने तुलनात्मक रुपमा कम देखिन्छ।

पछिल्लो समय  विश्वको कुल दैनिक कोरोना संक्रमणको करिब १२% र दैनिक कोरोना मृत्युको करिब १६% दक्षिण एसियामा भेटिने गरेको छ। स्मरण रहोस् दक्षिण एसियामा वर्तमान प्यान्डेमिक लहर उच्च बिन्दुमा पुगेको बेला, मे महिनाको पहिलो सातातिर, यी अनुपातहरु क्रमश: ५५% र ४०% सम्म पुगेका थिए।

चित्र न.४ ले दक्षिण एसियाली र अन्य केही देशहरुको गत पछिल्लो १५ दिनको,जोन्स होप्किन्स विश्व विद्यालय (Johns Hopkins University)र आवर ओर्ल्ड इन डाटा (Our World in Data)का अनुसार,साप्ताहिक औसत  संक्रमण दरको प्रवृत्ति देखाएको छ। चित्रमा देखाइए जस्तै बंगलादेशको संक्रमण दर पछिल्लो समय निकै बढ्दै गई नेपालकोभन्दा माथि पुगेको छ। त्यस्तै अमेरिका र बेलायतको पनि संक्रमण दरमा केही बृद्धि भएको देखिन्छ।

सार्क डिजास्टर म्यानेजमेन्ट सेन्टर (SAARC Disaster Management Center, SDMC) द्वारा जारी गरिएको विवरण अनुसार दक्षिण एसियामा जुलाई ५ का दिन सम्ममा ३४१८४०७५जनामा यो संक्रमण लागिसकेको छ भने ४७०८२१ जनाले यसैका कारण आफ्नो ज्यान गुमाइसकेका छन्।

यसै सेरोफेरोमा नेपालमा कोरोना प्यान्डेमिकको साप्ताहिक विश्लेषण गर्ने क्रममा गतहप्ता,सन् २०२१ जुलाई ११ देखि १७ (बि.सं. २०७८ असार २७ देखि साउन २)जम्मा ७ दिनको विश्लेषण विभिन्न स्रोतहरुबाट प्राप्त तथ्यांकको आधारमा तल देखाइए बमोजिम प्रस्तुत गरिएको छ।

यस लेखमा उधृत गरिएका तथ्यांकहरु विभिन्न श्रोतहरुबाट लिइएका ह्न्। जस्तै नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय (MOHP), जोन्स होप्किन्स विश्व विद्यालय (Johns Hopkins University), WHO, ओर्ल्ड़ोमिटर (Worldometer), आवर ओर्ल्ड इन डाटा (Our World in Data), सार्क डिजास्टर म्यानेजमेन्ट सेन्टर (SAARC Disaster Management Center, SDMC)आदि। 

गतहप्ता पनि प्यान्डेमिकका तथ्यांकहरु विश्वभरि र नेपालमा पनि  उतारचडाव हुने क्रम जारी रह्यो। निम्न केही तथ्यांकको आधारमा गएको हप्ता नेपालमा कोरोना प्यान्डेमिकको अवस्था कस्तो रह्यो केही विश्लेषण गरी हेरौँ।

दैनिक नयाँ संक्रमण


यो हरेक दिन नेपालमा देखिएका या देखिने नयाँ संक्रमितहरुको संख्याहो। सन् २०२१ जुलाई ११ देखि १७ (बि.सं. २०७८ असार २७ देखि साउन २) जम्मा ७ दिनको नेपालभरिको दैनिक परीक्षण, नयाँ संक्रमण र मृत्युको संख्या चित्र न.५ मा प्रस्तुत गरिएको छ। यस लेखमा पीसीआर परीक्षणलाई मात्रै गन्ति गरिएको छ।

नेपाल सरकारबाट प्राप्त तथ्यांक हेर्ने हो भने गत हप्ताको सात दिन, श्रावण २ गते शनिबारसम्म, देशभरि जम्मा ११६७४ जना नयाँ संक्रमित थपिई जम्मा संक्रमितको संख्या ६६५८८६पुगेको छ। विगत करिब डेढ महिनादेखि साप्ताहिक संक्रमण संख्या कम हुँदै गएकोमा गतहप्ता भने त्योभन्दा अगाडिको हप्ताको दाँजोमा साप्ताहिक संक्रमण संख्या करिब १०००ले वृद्धि भई १०६३२ बाट ११६७४ पुगेको हो। त्यस्तै,गत हप्ताको साप्ताहिक मृत्यु पनि त्यो भन्दा अगाडिको हप्ताभन्दा १ ले बृद्धि भई १६५ पुगेको छ। यसरी साप्ताहिक संक्रमण र मृत्यु बढ्नु गत हप्ता दैनिक परीक्षण केही बढी गरिएको कारण ले गर्दा हो। दुई हप्ता अगाडिजम्मा ४६२७४ परीक्षण गरिएकोमा गतहप्ता जम्मा ५३११७ गरिएको थियो। यसले फेरि पनि कोरोना संक्रमण हाम्रो समाजमा लुकेर बसेको पुष्टि हुन्छ।

गतहप्ता काठमाडौँ उपत्यकाको दैनिक संक्रमण समग्र नेपालको औसतमा ३२% जति देखिएको छ। विगत केही हप्तादेखि यो अनुपात क्रमश: झर्दै गएकोमा पछिल्लो समय केही बढेको देखिन्छ जुन लकडाउन खुकुलो भई मानिसको आवतजावत बढेको कारणले हुन सक्दछ। पछिल्लो समय कोरोना संक्रमण उपत्यका बाहिर सुनसरी, मोरङ, झापा,कास्कीआदि ठाउँहरुमा बढेको देखिन्छ।

दैनिक संक्रमण (पोजिटिभिटी)दर(Positivity Rate)


प्यानडेमिकको मापदण्डहरु मध्ये पोजिटिभिटी (संक्रमण दर) एक सबैभन्दा भरपर्दो मापदण्ड हो जसले परीक्षण गरिएका मध्ये कति जनामा संक्रमण पोजिटिभ देखियो भन्ने देखाउँदछ।

चित्र न.६ ले  नेपालको गतहप्ताको दैनिक संक्रमण दर देखाएको छ। गतहप्ता पनि नेपालको प्यान्डेमिक ओरालो लाग्ने क्रम जारी रहेता पनि पहिलाको दाँजोमा संक्रमण दर (पोजिटिभिटीदर) घट्ने क्रम रोकिएको जस्तो देखिन्छ। गतहप्ता पोजिटिभिटीदर न्यूनतम१९.१% देखि अधिकतम २४.७९% सम्म रही साताभरिको औसत पोजिटिभिटी दर२२%रह्यो जुन दुई हप्ताअघि२३% थियो। नेपालको संक्रमण दर अझै पनि दक्षिण एसियामा अन्यको भन्दा निकै माथि छ।

संक्षेपमा, विश्वमा कोरोना प्यान्डेमिकका कैयौँ लहरहरु आउने र जाने क्रम जारी छ र हालसम्म यस प्यान्डेमिकको अन्त्य हुने कुनै लक्षण देखिएको छैन। पछिल्लो समय विश्वका लगभग सबै ठाउँहरुमा कोरोना संक्रमणको संख्या फेरि केही बढ्न खोजेको जस्तो देखिन्छ र फलस्वरुप विश्वको समग्र दैनिक कोरोना संक्रमण फेरि बढेको छ। करिब एक महिना अघिको दाँजोमा हालको विश्वको दैनिक संक्रमण करिब डेढ गुणाले बढिसकेकको छ मानौँ यो अर्को नया लहरको सुरुवात हो। संक्रमण बढेसँगै कोरोना मृत्यु संख्या पनि बढेता पनि मृत्यु दरमा भने बृद्धि भएको देखिँदैन बरु घट्दै आएको देखिन्छ। एक महिना अघिको विश्वको कोरोना मृत्यु दर २.२५% बाट हाल करिब १.५% जतिमा घटेको छ।

प्यान्डेमिकको यस्तो नाजुक र अनिश्चित अवस्थामा अनुशाशित जीवनशैली नै एक मात्र यस्तो हतियार हो जसले विश्वलाई कोरोनामुक्त बनाउन सक्दछ। तसर्थ तथ्यांकले जेसुकै देखाए पनि प्यान्डेमिकको यथार्थलाई एक पटक फेरि आत्मसाथ गर्नु पर्ने बेला आएको छ। हरेक व्यक्तिले भौतिक दूरी कायम गर्ने, मास्क लगाउने, हात राम्ररी धुने, अनावश्यक भिडभाड नगर्ने आदि सावधानीका कुराहरु कडाईका साथ अपनाउनु पर्ने देखिन्छ। पछिल्लो समय अन्य देशहरुमा संक्रमण फेरि बढ्ने प्रवृत्ति देखिएको बेला नेपालमा पनि त्यसो नहोला भन्न सकिँदैन।

prabinshrestha@hotmail.com

डा. श्रेष्ठ ग्वार्को ललितपुरस्थित बीएन्डबी अस्पतालका कन्सल्टेन्ट न्युरोसर्जन हुन्।

साउन ३, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्