कसरी बन्याे देउवाले आजै विश्वासकाे मत लिने याेजना?

प्रधानमन्त्री शेरबहादुर देउवा।

काठमाडाैँ – शनिबार राति प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्तारुढ गठबन्धनका नेताहरु गाेप्य बैठकमा बसे।

बैठकमा सहभागी हुन प्रधानमन्त्री देउवा आफ्ना विश्वास पात्र कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काका साथमा गएका थिए।

स्थान नखुलाइएकाे उक्त बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड, एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादवसहित केही सीमित नेताहरु मात्रै सहभागी थिए।

उक्त बैठकले आइतबार नै प्रधानमन्त्रीले विश्वासकाे मत लिने निर्णय गर्‍याे। यसका पछाडि मुख्यतया दुईवटा कारण छन्।

एक, वरिष्ठ नेता नेपाल एमाले विवादका कारण अत्याधिक दबाबमा रहनु र अर्काे जसपाकाे उपेन्द्र खेमामा सांसदहरु थपिएर संख्या बढ्नु।

यही माैकामा विश्वासकाे मत जित्न सहज हुने भएपछि गठबन्धनकाे बैठकले आइतबार नै विश्वासकाे मत लिने निर्णय लियाे। याे निर्णय बिहान १० बजे विश्वासकाे मत लिने सूचना दर्ता गर्दासम्म गाेप्य राख्ने सहमति गरेर नेताहरु बैठकस्थलबाट उठे।

त्यसपछि आइतबार बिहान प्रधानमन्त्री देउवाले कांग्रेस सचेतक पुष्पा भुषाललाई बालुवाटार बाेलाएर विश्वासकाे मत लिने प्रस्ताव संसद सचिवालयमा दर्ता गराउन निर्देशन दिए बमाेजिम १० बजे नै उक्त प्रस्ताव दर्ता भएकाे हाे।

स्रोतका अनुसार शनिबार रातिकाे बैठकमा वरिष्ठ नेता नेपालले एमालेबाट दश जना सांसदकाे संख्या बढाउने आश्वासन दिएका छन्।

नेता नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई एमालेका कम्तीमा ३३ जना सांसदले विश्वासकाे मत दिने दाबी उक्त बैठकमा गरेका हुन्।

अदालतमा हस्ताक्षर बुझाउने २३ जना सांसद मध्ये केहीले साथ छाडे पनि याे संख्या बढाएर ३३ पुर्‍याउने आश्वासन नेता नेपालकाे थियाे।

ओली समूहमा रहेका १० जना सांसदहरु कित्ता फेरेर आफ्नाे पक्षमा उभिने उनकाे दाबी छ।

‘भीम रावलसहितका केही सांसदकाे भर छैन। तर तपाईँहरु ढुक्क हुनुहाेस् कि विश्वासकाे मत लिँदासम्म म एमालेका १० जना सांसद थप्छु’ बैठकमा माधव नेपालले भनेकाे स्रोतले बतायाे।

साउन ३, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्