सुरजवीर बज्राचार्यको ‘हाकु मैंचा’ सार्वजनिक

काठमाडौँ– सुरजवीर बज्राचार्यको ‘हाकु मैंचा’ बोलको म्युजिक भिडियोलाई एक कार्यक्रमबीच लोकार्पण गरिएको छ।

बालमुकुन्द प्रजापतिको निर्देशन रहेको नेपाल भाषाको ‘हाकु मैंचा त्वइसेच्वंका गन वनेत्यना’ बोलको गीतले माता पिरती साट्ने बखतको सौन्दर्यलाई अर्थ्याउँछ।

थिमीको प्यासिफिक फुडल्यान्डमा आयोजित कार्यक्रममा मध्यपुर थिमी नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले म्युजिक भिडियो लोकार्पण गरेका हुन्।

कार्यक्रममा मेयर श्रेष्ठले नेपालभाषामा निर्माण गरिएको गीतलाई व्यवसायीकरण गर्नुपर्नेमा जोड दिए। सांगीतिक अभिव्यक्तिलाई जुनसुकै समुदाय, वर्ग र भाषामा बनाएर अन्तर्राष्ट्रियकरण गर्न सकिने उनको भनाइ थियो।

‘नेपाल भाषालाई सम्वर्द्धन गर्ने खालको गीतलाई प्रचारप्रसार गर्दै अघि बढ्नुपर्छ। यसमा म आफैँले पनि सक्दो सहयोग गर्नेछु’, मेयर श्रेष्ठले भने।

यस्तै, गीतका रचनाकार तथा गायक सुरजवीर बज्राचार्यले ‘हाकु मैंचा’ लाई प्यारोडी गर्ने सोचसाथ तयार गरेको बताए। तर, समायान्तरमा वरिष्ठ संगीतकार जुगल डंगोलसँगको सहकार्यमा नयाँ प्राण भर्न सफल भएको उनले स्मरण गरे।

हुन पनि हाकु मैंचा बोलको गीत नेपालभाषा संगीत क्षेत्रका लागि थप नयाँ जग हुन सक्छ।

समृद्धिको कुरो गरिरहँदा भौतिक विकास मात्रले त्यसलाई सार्थकता दिँदैन। बरु भाषा, मूर्त र अमूर्त सम्पदाको संरक्षण, साहित्य सिर्जना र गीत/संगीतको विकासले निर्धारण गरेको हुन्छ।

कार्यक्रममा भक्तपुर नगरपालिकाका पूर्वउपमेयर ओमचरण अमात्यले कला, संस्कृति तथा गीत संगीतको विकास गर्नुपर्नेमा जोड दिए। ‘म आफैँले पनि बहुभाषी चलचित्र ‘हिम आँधी’ बनाउँदै छु। यसलाई अंग्रेजी, नेपाली, नेपालभाषा तथा चिनियाँ भाषामा अनुवाद गरेर अन्तर्राष्ट्रियकरण गर्ने सोच बनाउँदै छु’, अमात्यले भने।

नेपाल सांस्कृतिक उत्थान परिषद्को ब्यानरमा तयार भएको म्युजिक भिडियोको मुख्य भूमिकामा अणु खड्का, रमेश बल्ल तथा आशाराम सिल्पकार छन्।

त्यस्तै, कलाकारहरूमा डेरिका छन्त्याल, आरती भासिमा, अस्मिता मानन्धर तथा लिजा र निशा प्रजापति छन्। देवेन्द्र प्रजापतिको छायांकन तथा सम्पादन रहेको भिडियोमा दीपक बज्राचार्य र सागर बनमालाले संयुक्त रूपमा कोरियोग्राफी गरेका हुन्।

साउन ३, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्