काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभामा विश्वासको मत प्राप्त गरेका छन्। आइतबार प्रतिनिधि सभामा विश्वासको मत लिएका प्रधानमन्त्री देउवाको पक्षमा १६५ सांसदले मतदान गरे। यस्तै विपक्षमा ८३ जनाले मतदान गरे भने १ जना तटस्थ बसे।

आइतबार पुनःस्थापित प्रतिनिधि सभाको पहिलो बैठक बसेको हो।

निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक गरेको प्रतिनिधि सभा विघटन सर्वोच्च अदालतले बदर गरिदिएको थियो। सर्वोच्चको आदेशबाट पुनःस्थापना भएपछि आइतबार प्रतिनिधि सभाको पहिलो बैठक बसेको हो।

सर्वोच्चले नेपाली कांग्रेसका सभापति देउवालाई संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्रीमा नियुक्त गर्न आदेश दिएको थियो।

असार २९ गते प्रधानमन्त्री नियुक्त भएका देउवाले संसदको पहिलो बैठकमै विश्वासको मत लिएका हुन्।

कांग्रेस सभापति देउवा नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एमाले नेपाल–खनाल समूह  र राष्ट्रिय जनमोर्चाको समर्थनमा प्रधानमन्त्री बनेका हुन्।

आइतबार प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने क्रममा संसदमा देखिएको दृश्य (तस्बिरहरु)