अमेरिकाको ओरिगन राज्यमा फैलिएको डढेलोले भीषण रुप लिँदै

अमेरिकाको ओरिगन राज्यमा फैलिएको डढेलोले भीषण रुप लिँदै गएको छ। अमेरिकामा हाल सक्रिय रहेका डढेलो मध्ये ओरिगनको जंगलमा फैलिरहेको आगो सबैभन्दा भीषण छ।

डढेलोका कारण अहिलेसम्म १२ सय १४ स्क्वायर किलोमिटर क्षेत्र जलेको छ। डढेलो बिस्तार हुँदै जाँदा आसपासका क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ।

ओरिगनको इतिहासमा भीषण मध्ये एक रहेको बूटलेग फायर भनिएको डढेलो नियन्त्रणका लागि दुई हजार भन्दा धेरै अग्निनियन्त्रक खटिएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन्।

जुलाई ६ मा सुरु भएको यो डढेलो लस एन्जलस शहर भन्दा ठूलो क्षेत्रमा फैलिइसकेको छ। अहिले अमेरिकाका १३ राज्यमा ठूलो आकारका ८० भन्दा बढि डढेलो सक्रिय छन्।

अत्याधिक गर्मी तथा तीव्र गतिको हावाका कारण डढेलो निरन्तर फैलिरहेको छ। गम्ची तथा तीव्र गतिको वायुका कारण अग्निनियन्त्रकहरुलाई नियन्त्रण प्रयासमा चुनौति भइरहेको छ।

बूटलेग डढेलोका कारण अधिकांश ग्रामीण क्षेत्रका कम्तीमा दुई हजार बासिन्दा आफ्नो घर छोड्न बाध्य भएका छन्। अहिलेसम्म कम्तीमा १६० घर ध्वस्त पारिएका छन्।

मौसम आफूहरुको नियन्त्रण प्रयासका लागि निकै प्रतिकुल रहेको र निरन्तर तापक्रम बढ्नु तथा हावा चल्नु आफूहरुका लागि चुनौतिको विषय रहेको स्थानीय अधिकारीले बताएका छन्। यो वर्ष अहिलेसम्म अमेरिकाको १२ लाख एकड क्षेत्रमा डढेलो लागिसकेको छ।

अहिलेसम्म डढेलोका चार हजार भन्दा बढि घटना भएका छन्, जुन अघिल्लो वर्षको कुल घटना भन्दा झण्डै दोब्बर हो।

साउन ५, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्