नेपालमा सन् १९४९ देखि विदेशी नागरिकलाई खुल्ला गरेपछि पर्यटन व्यवसायको विकास तथा विस्तार हुन थालेको हो। यो क्रम वि.स २००७ सालको ऐतिहासिक परिवर्तनपछि क्रमश बढ्दै आएको छ। पर्यटन क्षेत्रको विकासका लागि आवश्यक प्राकृतिक श्राेतको हिसावले नेपाल धनी छ। यही अद्धितीय प्राकृतिक तथा सास्कृतिक सम्पदाहरु नै पर्यटन विकासका प्रमुख आधार बनेको छ।

यहाँको जलस्रोत, प्राकृतिक स्रोत साधन, भौगोलिक बनावट जस्ता अतुलनिय सम्पदा तथा सस्कृतिले पर्यटकहरुलाई आकषर्ण गर्दै आएको छ। नेपालको भू–वनोट ६० मिटर देखि ८८४८ मिटरसम्मको उचाईमा फैलिएको हुनाले प्रत्येक १० कि.मिको अन्तरालमा फरक फरक हावापानी पाइन्छ।

भगवान गौतम बुद्धको जन्मभूमि र विश्वको अग्लो शिखर सगरमाथा लगायत १३०० चुचुराहरुले पर्यटकलाई आकर्षण गरको छ। यहाँ २८ वटा हिमशृखंलाहरु पूर्व देखि पश्चिमसम्म फैलिएर रहेको छ। यहाँ ५,१६० प्रकारका फूल तथा १८५ जातका माछा पाइन् । ८४८ प्रकारका चराहरु पाइन्छ भने ११८ वटा पारिस्थितिक प्रणालीहरु छन्। २३ वटा पारिस्थितिक प्रणालीहरुमा तराईमा, ५२ वटा मध्यपहाडमा र ३८ प्रकारका प्रणालीहरु हिमाली भेगमा छरिएर रहेका छन्।

सास्कृतिक धरोहरको रुपमा रहेको यो देशमा १२५ जातजाती र १२३ भाषाभाषीको बसोबास रहेको छ। यो प्रचुर संभावनाहरुको संगम स्थलको रुपमा रहेको नेपाललाई विश्वसामू चिनाउन सकिएको छैन। यसले गर्दा यो उद्योगबाट नेपालले आशातित रुपमा लाभ प्राप्त गर्न सकेको छैन। साथै छिमेकी देशहरुको जनसख्याको लाभ समेत लिन सकेको छैन।

सन् २०१८ मा १३ करोड ५० लाख चिनियाँ नागरिक देश बाहिर भ्रमणमा निस्किँदा जम्मा १ लाख मात्र नेपाल आएको देखिन्छ। त्यसैगरी २ करोड ३० लाख भारतीय नागरिक विदेश भ्रमणमा निस्किँदा नेपालमा १ लाख १८ हजार मात्र आएको देखिन्छ। यो सख्या नेपाल आउने पर्यटकको कुल सख्याको ३० % मात्र हो। तर नेपालको पर्यटन बजार भनेको छिमेकी देश भारतीय र चिनियाँ नागरिक नै हुन्। यो बजारको उपयोग अपेक्षित रुपमा गर्न नसकेको कुरा उक्त तथ्यले बताउँछ।

नेपालमा पर्यटन उद्योग अर्थतन्त्रको मेरुदण्डको रुपमा रही आएको छ। यो उद्योगको माध्यमद्वारा विकासको गतिलाई तीव्रता दिन सकिने प्रवल संभावना छ। पर्यटन उद्योग नेपालको लागि लाभको क्षेत्र हो तर यस क्षेत्रमा पर्याप्त मात्रामा लगानी हुन सकेको छैन। यो क्षेत्र भनेको रु १ खर्च गरेर रु ६० सम्म आम्दानी गर्न सकिने संभावनायुक्त क्षेत्र हो । यो उद्योगले ३ जना पर्यटक नेपालमा भित्र्याउँदा १ जनाले रोजगारी पाउने गरेको छ भने कुल आर्थिक रुपले सक्रिय जनशक्तिको २०% लाई रोजगारी उपलब्ध गराउँदै आएको अध्ययनले देखाएको छ। कुल ग्रायस्थ उत्पादनमा ३ प्रतिशत भन्दा बढीको योगदान यो क्षेत्रको रहेको छ । यो अवस्थाले पनि यसको अर्थतन्त्रमा महत्वपूर्ण योगदान छ भन्ने देखिन्छ।

नेपाल पर्यटन व्यवसायको लागि उपयुक्त वातावरण बन्दै आएको भन्ने कुरा विश्व बैंकले सन् २०२० का लागि प्रकाशन गरेको डुईङ बिजनेसको प्रतिवेदनले औल्याएको छ । यस प्रतिवेदन अनुसार नेपाल व्यवसाय सञ्चालनकाे सहजता सूचकमा ६३.२ अंक सहित विश्वका १९० अर्थतन्त्र मध्ये ९४ औँ स्थानमा रहन सफल भएको छ। यो सन् २०१९ मा रहेको ११० औँ स्थान (५९.६३) को तुलनामा १६ स्थान अगाडि मात्र होइन र हालसम्मकै राम्रो अवस्था हो।

यो सबै सूचकले नेपालमा पर्यटन उद्योगको विकास र विस्तारको लागि उपयुक्त वातावरण बनेको छ भन्ने कुरालाई दर्शाउँछ। तर यसको भरपुर रुपमा उपयोग गर्न सकिएको छैन। यो अवस्थामा सन् २०१९ को अन्त्यतिर देखा परेको कोभिडले झन बढावा दिएको छ। यो महामारीबाट पर्यटन उद्योग सबैभन्दा बढी प्रभावित भएको छ। हाल विश्वजगत नै कोभिडबाट प्रभावित हुँदै आएको छ। त्यसमा पनि पर्यटन उद्योग अन्य उद्योगको तुलनामा सबैभन्दा बढी प्रभावित उद्योगमा पर्दछ। विश्व पर्यटन उद्योगले कोभिडको कारणले आन्तरिक पर्यटनबाट २.८६ ट्रिलियन अमेरिकन डलर घाटा व्यहोरेको छ भने ५०% राजस्वमा गिरावट आएको छ।

विश्वको पर्यटक भित्र्याउने सूचीमा अग्रस्थानमा रहेको थाइल्याण्डलाई हेर्दा पनि यसको प्रभाव सजिलैसँग अनुमान गर्न सकिन्छ। थाइल्याण्डको पर्यटन बजार कोभिडबाट नराम्रोसँग प्रभावित भई सन् २०१९ मा ४० मिलियन पर्यटक भित्र्याएकोमा सन् २०२० मा आउँदा यो सख्या घटेर ५ मिलियनमा सीमित छ। यसले विश्व पर्यटन बजारलाई तहसनहस बनाएको भन्ने पुष्टि गर्दछ। नेपालको पर्यटन क्षेत्र ठूलो र विकसित नभएता पनि यो क्षेत्रमा आ.व २०७७/७८ सम्ममा दर्ता भएका पर्यटन उद्योगको सख्या १८४९ छ भने १६७०६.७ करोडको लगानी छ र यसले ७३२९६ जनालाई रोजगारी दिँदै आएको छ।

नेपाल पर्यटन बोर्ड (एनटिवी) को अध्ययन प्रतिवेदन अनुसार नेपालको पर्यटन क्षेत्रले दैनिक १० अर्ब नेपाली रुपैयाँ बराबरको क्षति व्यहोरिरहेको उल्लेख छ भने कोभिडले पर्यटन क्षेत्रमा पारेको प्रभावको बारेमा दीपक जोशीले सन् २०२१ को मे महिनामा १०६ पर्यटनसँग सम्बन्धित उद्योगमा गरेको अध्ययनलाई हेर्ने हो भने यो उद्योगको अवस्था दयनीय देखिन्छ। कोभिडका कारण आन्तरिक तथा बाह्य उडान प्रायः बन्द गरिएको छ भने आन्तरिक आगमनलाई लकडाउनको माध्यमद्वारा निश्तेज बनाइएको छ। जसको कारणले गर्दा नेपाल भित्रिने पर्यटकको सख्यामा सन् २०२० मा सन् २०१९को तुलनामा ८०.७८% ले कमि आएको छ।

पर्यटक नआएसँगै पर्यटन उद्योगसँग सम्बन्धित उद्योगहरु मध्ये ९४% बन्द प्राय छ। १७% पूर्ण रुपमा बन्द गरिएको छ र ८७% ऋणमा डुबेको छ। ६५% कामदारको रोजगारी खोसिएको अवस्था छ। यो क्षेत्रमा उपलब्ध हुँदै आएको रोजगारी कटौति भएर ३५% मा सीमित हुन पुगेको छ। त्यसमा पनि यो प्यान्डेमिक भन्दा अघिको पारिश्रमिकको बराबर तलब पाउने कामदारको सख्या १३% मात्र छ अर्थात २२% ले खाइपाई आएको तलबभन्दा कममा काम गर्न बाध्य छ। ९२% कामदार लोनमा रहेको र ९५% कामदारमा मनोवैज्ञानिक रुपमा असर परेको भन्ने उक्त अध्ययनले देखाएको छ।

यो उद्योगबाट राज्यले प्राप्त गर्दै आएको राजस्व उल्लेख्य रहने गरेकोमा यो घटेर ६४% उद्योगबाट पूर्ण रुपमा राजस्व उठ्न छोडेको अवस्था छ। त्यसैगरी यो उद्योगमा लगानी गर्ने लगानीकर्ताहरु कतिपय पाइपलाइनमा रहेकोमा ३२% ले लगानीको समय सारेका छन् कि त बन्द नै गरेको अवस्था छ। लगानीकर्ताहरु मध्ये ८०% ले लगानीबाट सञ्चालन खर्च नै धान्न सकेको छैन। यो अवस्थाले पर्यटन उद्योगमा कोभिडको प्रभाव ठूलो मात्रामा परेको छ भन्ने पुष्टि गर्दछ।

उपरोक्त अवस्थालाई हेर्दा कोभिडले गर्दा यो उद्योगमा प्रशस्त रुपमा चूनौतीहरुको सिर्जना भएका छन्। यो अवस्थाको अन्त्य कहिले र कतिसमय पश्चात हुन्छ भन्ने अझै अनिश्चित छ। यस्तो अवस्थामा यो उद्योगमा आश्रित लगानीकर्ता कामदारहरुको भविष्य पनि अनिश्चित बनेको छ। यसको समाधान भै हालेको खण्डमा पनि यसले पारेको प्रभावबाट माथि उठ्न करिब ३ देखि ५ वर्षसम्म लाग्न सक्ने अनुमान छ। जसले गर्दा पर्यटकहरुको ईच्छाशक्ति बढाउने कार्य चूनौतीपूर्ण बनेको छ। यो क्षेत्रबाट कामदार निकालिसकिएकोले पुनः भर्ना गरि पहिलेको नै अवस्थामा ल्याउन समय र लागत लाग्न जान्छ। आवश्यक सामग्रीको आपूर्ति प्रणाली भत्किएको अवस्थामा त्यसलाई फेरि रिकनेक्सन गर्न पनि समय लाग्न जान्छ। थप लगानीकर्तालाई आकर्षण गर्ने भन्दा पनि हतोत्साहित भएका लगानीकर्तालाई यो क्षेत्रमा टिकाई राख्न पनि चूनौती सिर्जना भएको छ।

पर्यटन उद्योगलाई पुनःस्थापना गराउनका लागि नेपाल सरकारले ठूलै योगदान गर्नपर्ने देखिन्छ। यो क्षेत्रसँग हतोत्साहित भएका लगानीकर्तालाई यस क्षेत्रमा आकर्षण गर्नका लागि पर्यटन सुरक्षा कोषको स्थापना गर्नु पर्दछ। साथै वित्तिय सहयोग, रोजगार कोषको स्थापनमा सहयोग गर्ने, क्षमता बढाउने कार्यक्रम, वित्तिय अनुदानका प्याकेज तत्काल ल्याउनु पर्ने देखिन्छ। यसो गर्न सकिएको खण्डमा डुबिसकेको उद्योगहरुले केही राहतको महशुस गर्न सक्ने छन्।

पर्यटकहरुलाई नेपालमा आमन्त्रण गर्नका लागि सुरक्षित गन्तव्यको रुपमा विकास र सूचनाको सञ्चार गर्नुपर्ने छ। त्यसैगरी हवाई भाडा देखि लिएर अन्य पर्यटन सेवामा प्रोत्साहनका प्याकेजहरु ल्याउन जरुरी छ। स्वास्थ्य र सुरक्षाका लागि राज्यको ध्यान जान आवश्यक छ। करिव ५ वर्षसम्मको लागि व्यवसायिहरुलाई कर छुटका प्रावधान ल्याइनु पर्दछ। यस क्षेत्रलाई टिकाउनका लागि पनि सहयोगका कार्यक्रम सञ्चालन गर्न शून्य व्याजदरमा ऋणको व्यवस्था गरिनु पर्छ।

यस क्षेत्रमा काम गर्ने कामदारहरुको लागि पहिलो प्राथमिकतामा कोभिड भ्याक्सिनको व्यवस्था गरिनु पर्दछ। साथै भएका पर्यटन उद्योगका सबै क्षेत्रको विकास तथा विस्तार गर्दै साहसिक खेल बन्जी जम्पीङ हाइकिङ जस्ता खेलको प्रयोग गरी पर्यटकलाई आकर्षण गर्ने स्किम ल्याउनु जरुरी छ। सरोकारवालाहरुको क्षमता निर्माण गर्ने र सार्वजनिक निजी साझेदारीको मार्फत प्रोत्साहित गर्दै पर्यटन क्षेत्रमा विकास र व्यवस्थापन गर्नुपर्छ। त्यसो गर्न सकिएको खण्डमा पर्यटन उद्योगको माध्यमद्वारा देशको अर्थतन्त्रमा सुधार आई समृद्ध नेपाल र सुखी नेपालीको गन्तव्यसम्म पुग्न सकिन्छ।

(लेखकः हङकङका लागि महावाणिज्यदूतको रुपमा कार्यरत छन्।)

साउन ५, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्