पेगासस लिक्स

भारतका लागि नेपाली राजदूत आचार्यको फोन पनि निगरानीको सूचिमा

निलाम्बर आचार्य।

काठमाडौँ – भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यको नाम पनि सम्भावित निगरानीको सूचिमा रहेको खुलेको छ।

पेगासस नामक सफ्टवेरको प्रयोग गरि विभिन्न क्षेत्रका व्यक्तिहरुको ५० हजारको हाराहारीमा फोन नम्बरहरुको सूचि इजरायली कम्पनी एनएसओले आफ्ना क्लाइन्टहरुलाई बेचेको खबर विश्वका प्रमुख सञ्चारमाध्यमहरु मार्फत सार्वजनिक भएको हो।

पेगासस स्पाइवेयर मार्फत एनएसओले प्राप्त गरि शासकहरुलाई प्रदान गरेको टेलिफोन नम्बरहरुको सूचिमा भारतका लागि नेपालसहित विभिन्न देशका राजदूतहरु रहेको फ्रान्सेली पत्रिका ले मुण्डलाई उद्धृत गर्दै भारतीय पत्रिका द हिन्दुले लेखेको छ।

ले मुण्डमा सोमबार प्रकाशित समाचारमा लेखिएको छ, ‘पाकिस्तानी प्रधानमन्त्री इमरान खान र भारतका लागि उनका राजदूत सम्भावित निगरानीको सूचिमा छन्। दिल्लीमा रहेका काम गर्दै आएका अरु दर्जनौँ राजदूत तथा कूटनीतिज्ञहरु पनि सो सूचिमा छन्। यसरी सम्भावित निगरfनीको सूचिमा हुनेमा भारतका लागि इरान, अफगानिस्तान, चीन, नेपाल र साउदी अरेबियासहितका राजदूतहरु छन्।’

एनएसओले फोन नम्बरहरु आफ्ना सेवाग्राहीहरुलाई उनीहरुको चासो र आवश्यकताका आधारमा प्रदान गरेको हुन सक्ने खबरमा उल्लेख गरिएको छ। फोन नम्बरहरु एनएसओले कसरी प्राप्त गर्‍यो भन्ने स्पष्ट भएको छैन। सूचिमा रहेका मध्ये कसको नम्बरमा ह्याक गरिएको छ भन्ने पनि थाहा भएको छैन। तर भारतका लागि नेपाली राजदूत आचार्यसहितको फोन नम्बर सम्भावित ह्याकको सूचिमा रहेको खुलेको हो।

एनएसओले भने आफूले कुनै पनि प्रकारको खराब काम नगरेको दाबी गरेको छ। आपराधिक गतिविधि नियन्त्रणका लागि बनाइएको सफ्टवेर सेना, प्रहरी र गुप्तचर निकायलाई मात्र उपलब्ध गराइएको एनएसओले जनाएको छ। मावनअधिकार उल्लंघनका लागि सफ्टवेरको प्रयोग नगरिएको दाबी उसको छ।

पेगासस नामक सफ्टवेरको प्रयोग गरि टेलिफोनको जानकारी ह्याक गरिएको सम्बन्धी खबर आइतबार द वासिङ्गटन पोस्ट, द गार्डियन, ले मुण्ड र विश्वका अरु १४ वटा ठूला सञ्चारमाध्यमले प्रकाशित गरेका थिए।

आइफोन तथा एन्ड्रोइड फोनको डिभाइसबाट म्यासेज, फोटो, इमेल, टेलिफोन सम्बन्धी जानकारी लिनका लागि सो सफ्टवेर प्रयोग हुने गरेको खबरमा उल्लेख छ।

साउन ५, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्