अश्लिल फिल्म बनाएको आरोपमा राज कुन्द्रा पक्राउ, अदालतले जुलाई २३ सम्मका लागि थुनामा पठायो

बलिउड अभिनेत्री शिल्पा शेट्टीका श्रीमान् तथा व्यवसायी राज कुन्द्रा पक्राउ परेका छन्।

अश्लिल भिडियो (पोर्न फिल्म) बनाएको आरोपमा मुम्बई पुलिसको क्राइम ब्रान्चले सोमबार राति कुन्द्रलाई पक्राउ गरेको हो। उनीमाथि अश्लिल फिल्म बनाएर विदेशी एपमा पोष्ट गरेको आरोप छ।

उनलाई आजै अदालतमा पेश गरिएको थियो। अदालतले जुलाई २३ सम्मका लागि थुनामा पठाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

राज कुन्द्रसँगै अर्का एकजना पनि पक्राउ परेका छन्। उनीसँगै पक्राउ पर्नेमा उनका सहयोगी रियान थोर्प रहेको प्रहरीले जनाएको छ।

कुन्द्रा जुन के‍समा पक्राउ परे उक्त केस गत जनवरीमै सार्वजनिक भएको थियो। त्यतिबेला प्रहरीले मुम्बईको मलाड पश्चिमको एक घरमा छापा मारेर अश्लिल फिल्म सुटिङ गरिरहेका केही व्यक्तिहरुलाई पक्राउ गरेको थियो। सोही क्रममा कुन्द्राको नाम पनि उक्त घटनामा मुछिएको थियो।

तर पर्याप्त प्रमाण नहुँदा प्रहरीले उनलाई पक्राउ गर्न सकेको थिएन। त्यसको केही समयपछि कुन्द्रकै कम्पनीमा कार्यरत उमेश कामत पक्राउ परेका थिए। उमेशबाट थप प्रमाण पाएपछि कुन्द्रालाई पक्राउ गरिएको प्रहरीको दावी छ।

उक्त प्रकरणमा संलग्न भएको आरोपमा प्रहरीले हालसम्म ९ जनालाई पक्राउ गरिसकेको छ। राज कुन्द्रा अश्लिल फिल्म बनाउने गिरोहका एक प्रमुख व्यक्ति भएको प्रहरीको दावी छ। जसका लागि बेलायतमा एक कम्पनी खडा गरिएको र त्यसमा कुन्द्राको पनि संलग्नता रहेको बताइएको छ।

साउन ५, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्