काठमाडौँ– नेकपा एमाले ओली निकट युवा संघले वरिष्ठ नेता माधव कुमार नेपालविरुद्ध प्रदर्शन गरेको छ।

राजधानीको नयाँ बानेश्वरमा गरिएको प्रदर्शनमा युवा संघका कार्यकर्ताले नेता नेपालको पुतलासमेत जलाएका छन्। उनीहरुले प्रदर्शनका क्रममा अनुहारमा बाँदरको मुकुण्डो लगाएका थिए।

नेपाल पक्षीय सांसदहरुले संसदमा प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका थिए। त्यसविरुद्ध युवा संघले प्रदर्शन गर्दै आएको छ।

गत असार २८ गते सर्वोच्च अदालतले दोस्रो पटक गरिएको संसद विघटन बदर गरी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न आदेश दिएको थियो। उक्त आदेशविरुद्ध पनि युवा संघले प्रदर्शन गरेको थियो।