जमुनाह नाकामा स्थायी हेल्थ डेस्क, भारतबाट फर्किनेको नियमित स्वास्थ्य जाँच गरिने

नेपालगञ्ज– नेपालगञ्जको जमुनाह नाकामा स्थायी प्रकृतिको हेल्थ डेस्क निर्माण गरिएको छ। भारतबाट आउने नेपालीको स्वास्थ्य जाँचका लागि नाकामा हेल्थ डेस्क भवन बनाइएको हो।

५१ लाख ३१ हजार रुपैयाँ बनाइएको भवनको मंगलबार नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा. धवलशमशेर राणा, उपप्रमुख उमा थापामगर, बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल र उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हिरालाल रेग्मीले उद्घाटन गरे।

कोरोना, डेंगु, मलेरिया लगायतका सङ्क्रामक रोगको नियन्त्रणका लागि नाकामा हेल्थ डेस्क स्थापना गरिएको नगर प्रमुख डा. राणाले बताए।

सरकारले देशभरका १३ वटा नाकामध्ये स्थायी प्रकृतिको हेल्थ डेस्क सञ्चालन गर्ने निर्णय गरेको छ। नयाँ भवनबाट सेवा दिने हेल्थ डेस्कमा चिकित्सक, ल्याब टेक्निसियनसहितका स्वास्थ्यकर्मीहरु खटिने भएका छन्। भारतबाट फर्किनेहरुको स्वास्थ्य परीक्षण (स्क्यानिङ) र आवश्यकता अनुसार परीक्षण गरिने छ।

हेल्थ डेस्कको केही भाग इलाका प्रहरी कार्यालय जमुनाहले समेत प्रयोग गर्ने उपप्रमुख उमा थापा मगरले जानकारी दिइन्।

नाकामा अहिलेसम्म अस्थायी हेल्थ डेस्क रहेको थियो। भारतबाट आएका एक लाख ५१ हजारको ज्वरो नापिएको थियो। दश हजार शंकास्पदको एन्टिजेन जाँच गर्दा २ सय ७५ जनामा कोरोना पुष्टि भएको थियो।

साउन ६, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्