चीनमा भीषण वर्षासँगै बाढी, कम्तीमा १२ जनाको मृत्यु

भीषण वर्षासँगै आएको बाढीका कारण चीनको मध्य क्षेत्रको जनजीवन प्रभावित भएको छ । बाढीका कारण स्थानीय बासिन्दाहरु घर छोडेर सुरक्षित स्थानमा जान बाध्य भएका छन् भने रेलवे स्टेशन र सडकमार्गहरु बन्द भएका छन् ।

अत्याधिक वर्षासँगै आएको बाढीबाट जोगाउनका लागि हेनान प्रान्तमा १० हजार भन्दा बढि मानिसहरुलाई सुरक्षित स्थानमा सारिएको चिनियाँ अधिकारीहरुले बताएका छन् । बाढीका कारण जङ्गजाउ शहरमा कम्तीमा १२ जनाको ज्यान गएको स्थानीय अधिकारीले पुष्टि गरेका छन् ।

बाढीका कारण एक दर्जन भन्दा बढि शहरको जनजीवन प्रभावित भएको छ । सडक यातायात तथा हवाई सेवा बन्द भएका छन् । करिब ९ करोड ४० लाख मानिसको बसोबास रहेको हेनान प्रान्तले उच्च तहको मौसमी चेतावनी जारी गरेको छ ।

बाढी आउनमा धेरै कारणहरु रहे पनि जलवायु परिवर्तनका कारण बढेको तापक्रमले भीषण वर्षाको क्रम भने तीव्र बनाएको विज्ञले बताएका छन् ।

सामाजिक सञ्जालमा पोस्ट गरिएका तस्बिरहरुमा बाटो डुबानमा परेको तथा कार तथा गेग्रानले तीव्र गतिमा आएको पानीको मार्ग परिवर्तन गराएको देखिएको छ ।

हालकै आएको आँधीले क्षति गरेको हेनान प्रान्तको बाँधलाई अहिलेको भीषण वर्षा र बाढीले भत्काउन सक्ने भन्दै चिन्ता पनि व्यक्त भएको छ ।

साउन ६, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्