नेपाल टेलिभिजनमा स्याटलाइट ब्यान्डविथ कमिसनको खेल : २ वर्षमै खाताबाट कसरी घट्यो ५० करोड रुपैयाँभन्दा बढी रकम ?

नेपाल टेलिभिजन।

काठमाडौँ- दिन प्रतिदिन घाटामा गइरहेको नेपाल टेलिभिजनले  आफ्ना ५ वटा च्यानलहरुको स्याटलाइट  प्रशारणलाई निरन्तरता दिन प्रति मेगाहर्ज मासिक २ हजार ६ सय अमेरिकी डलर नबढ्ने गरि ब्यान्डविथ भाडामा लिन ग्लोबल टेन्डर आह्वान गरेको छ।

नेपाल टेलिभिजनले यसअघि थाइकम फाइभ पीसिएलसँग प्रति मेगाहर्ज मासिक  ३ हजार ४ सय ९० डलरसँग २५ मेगाहर्ज स्याटलाइट ब्यान्डविथ भाडामा लिँदै आएको छ। २०१२ मा  थाइकमसँग गरिएको १० वर्षे सम्झौता चाँडै सकिँदै छ।

सन् २०१२ मा १० वर्षका लागि १० मेगाहर्ज भाडामा लिएकामा त्यसपछि बिना टेण्डर १५ मेगाहर्ज ब्यान्डविथ थपिएको थियो। थाइकमले आफ्नो स्याटलाइटको आयु सकिएको ‘डी अरबिट’ भन्दै गत वर्षदेखि एपीस्टार सेभेनबाट नेपाल टेलिभिजनलाई सेवा दिइरहेको छ।

सन् २००५ मा लिइएको प्रति मेगाहर्ज मासिक ३ हजार ४ सय ९० अमेरिकी डलरको सम्झौताको दर अहिले पनि त्यही कायमै छ। अन्य नेपाली टेलिभिजन च्यानलहरुले प्रति मेगाहर्ज मासिक १ हजारदेखि १५ सय डलरसम्म स्याटलाइट ब्यान्डविथ भाडामा लिइरहेका छन्।

‘प्रति मेगाहर्ज मासिक २६ सय डलर सिमा राख्नु भनेको फेरी पनि ब्यान्डविथ भाडाबाट कमिसन लिइरहने खेल हो’, नेपाल टेलिभिजनका एक अधिकारी भन्छन्, ‘स्याटलाइट ब्यान्डविथको बजार निकै सस्तो भइसकेको समयमा यति धेरै रकम सिमा राख्नुले सन्चालक समितिका  पदाधिकारीसमेतको स्वार्थ स्पष्ट हुन्छ।’

नेपाल टेलिभिजनले गत असार १४ गते ग्लोबल टेन्डर आह्वान गरेको हो। साउन ३ गते भएको ‘प्रि-बिड’ बैठकमा एसिया स्याट र चाइना स्याटका प्रतिनिधि भौतिकरुपमा उपस्थित थिए भने इन्टेल स्याट, एपी स्टार सेभेन, मिया र एबीएसले इमेलमार्फत इच्छा व्यक्त गरेका छन्। यसको मतलब नेपाल टेलिभिजनलाई स्याटलाइट भाडामा उपलब्ध गराउन अहिले कम्तिमा ६ वटा कम्पनीहरुको रुचि देखिएको छ।

आफूले भनेको कम्पनीलाई मिल्नेगरी टेन्डर डकुमेन्ट नबनाएको भन्दै कार्यकारी अध्यक्ष महेन्द्र विष्ट र योजना महाशाखा प्रमुख तथा खरिद इकाईका संयोजक सुरज थापा टेन्डर डकुमेन्ट तयारमा संलग्न  इन्जिनियरिङ विभागका अधिकारीहरुसँग सन्तुष्ट नरहेको बताइन्छ। यसैगरी इन्जिनियरिङ महाशाखाको प्रमुखसमेत भएर काम गरेका एक अवकाशप्राप्त  कर्मचारीले ‘सरुवा’को धम्कीसमेत दिने गरेको गुनासो सुनिने  गरेको उक्त महाशाखाका एक अधिकारीले बताए ।

यसअघि मिलेमतोमै थाइकम फाइभबाट महँगो मुल्यमा स्याटलाइट ब्यान्डविथ भाडामा प्रयोग हुँदै आएको छ।

स्याटलाइट ब्यान्डविथमा अल्झाइएको नेपाल टेलिभिजन 

नेपाल टेलिभिजन नेपालका धेरै ठाउँमा बिना केवल टेलिभिजनमा हेर्न मिल्दैन। नेपाल टेलिभिजन संस्थानले पुराना ट्रान्समिटरहरुलाई डिजिटल ट्रान्समिटरले ठाउँ ठाउँमा प्रतिस्थापन गरेपनि डिकोडर (सेट टप  बक्स)को अभावमा नेपाल टेलिभिजनका च्यानलहरु सर्वसाधारणका टेलिभिजनहरुले ‘टिप्दैनन्’।

‘दर्शकहरुले नेपाल टेलिभिजनका डिजिटल सिग्नल निशुल्क हेर्न पाउने व्यवस्था मिलाउनको लागि आवश्यक पर्ने सेट टप बक्स उपकरण उपलब्ध गराउने सम्बन्धमा नेपाल सरकारबाट आवश्यक नीतिगत निर्णय हुन जरुरी भएको सन्दर्भमा सोको लागि संस्थानको तर्फबाट थप पहल गरिने छ’, संस्थानले आर्थिक वर्ष ०७८/७९ का लागि तयार गरेको ‘वार्षिक कार्यक्रम तथा बजेट विवरण’मा उल्लेख छ।

नेपालमै नेपाल टेलिभिजनको बजार दिनप्रतिदिन खस्कँदो छ।  नेपाल टेलिभिजनको ब्यापारिक आम्दानी यसको सञ्चालनलाई पर्याप्त हुँदैन। सरकारबाट आउने अनुदान, ब्याजलगायतले अपुग रकम पूर्ति हुन्छ। तर यसैबीच अन्य च्यानल र क्षेत्रीय च्यानलहरु थपिनु र तिनिहरुलाई स्याटलाइटमा जोडिनुको स्वार्थ बुझ्न गाह्रो छैन। क्षेत्रीय च्यानलहरु महँगो पैसा तिरेर विदेशमा के र कसका लागि प्रशारण गरिएको भन्दै  विरोध हुँदै आएको छ।

नेपाल टेलिभिजनका नेपाल टेलिभिजन र एनटिभी-२  सन् २००५ देखि, २०१४ देखि समाचार च्यानल, २०१७ देखि क्षेत्रीय च्यानल कोहलपुर र २०१९ देखि क्षेत्रीय च्यानल इटहरी  स्याटलाइटमार्फत प्रशारण भइरहेका छन्।

थाइकम पब्लिक कम्पनी लिमिटेड- पीसिएलसँग दुईवटा च्यानल नेपाल टेलिभिजन र एनटिभी-२ का लागि ९ मेगाहर्ज ब्यान्डविथ भाडामा लिने गरी पाँच वर्षका लागि सन् २००५ को सेप्टेम्बर ९ तारिखमा सम्झौता भएको थियो।

अधिकांश टेलिभिजनका प्रविधिहरु डिजिटलमा गइसक्दा पनि नेपाल टेलिभिजन एनालग प्रविधिमै चलिरहेको थियो। डिजिटलमा गएको खण्डमा नेपाल टेलिभिजनले दुवै   च्यानलको  स्याटलाइट प्रशारणका लागि पाँच मेगाहर्ज ब्यान्डविथ मात्र लिए  पुग्थ्यो। एनालगबाट डिजिटलमा लगिएपनि स्याटलाइट ब्यान्डविथका लागि खोलिएको टेन्डर  सस्तोमा ब्यान्डविथ उपलब्ध गराउने कम्पनी आउँदाआउँदै रद्द भयो र थाइकमसँग पुरानै दरमा अल्पकालीन सम्झौता भयो। त्यतिबेला टेण्डर हाल्नेमध्ये एस्सेलश्याम टेक्नोलोजी प्रालिले प्रति मेगाहर्ज २ हजार ८ सय डलरको प्रस्ताव गरेको थियो। थाइकम फाइभले महँगो हालेका कारण उसैलाई दिन उक्त बोलपत्र रद्ध गरिएको बताइन्छ।

फेरि खोलिएको टेण्डरमा प्राविधिकरुपमा उपयुक्त र आर्थिक रुपमा सबैभन्दा कम रकम भएको भन्दै सन् २०१२ को अप्रिल २७ तारिखमा थाइकमसँग  १० वर्षका लागि वार्षिक २ लाख ९ हजार चार सय डलर तिर्ने शर्तसहित सम्झौता भएको थियो। यो रकम प्रति महिना एक मेगाहर्जका लागि त्यही पुरानै रेट अर्थात ३ हजार चार सय ९० डलर थियो।

सन् २०१४ मा नेपाल टेलिभिजनले समाचार च्यानल सञ्चालन गर्ने निर्णय गरेपछि त्यसलाई स्याटेलाइटमा लैजान पुरानै दर प्रति मेगाहर्ज मासिक ३४९० डलरमा थाइकम फाइभसँग २.५ मेगाहर्ज थप्न सहमति भएको थियो। क्षेत्रीय च्यानलका रुपमा कोहलपुर प्रशारण केन्द्र स्थापना भएपछि त्यसलाई पनि स्याटेलाइटमा जोड्न पुरानै दरमा सन् २०१७ को जुन १२ तारिखमा २.५ मेगाहर्जका लागि थाइकम फाइभसँग सम्झौता भयो।

नेपाल टेलिभिजन संस्थानको ३४ औँ वार्षिक उत्सवका अवसरमा २०७५ साल माघ १७ गते चारवटै च्यानललाई एसडीबाट एचडी प्रविधिमा रुपान्तरण गर्ने घोषणा गरियो। त्यसका लागि  थाइकम फाइभसँग लिइरहेको ब्यान्डविथलाई दोब्बर बनाउनु पर्ने भयो। अर्थात १० मेगाहर्ज प्रयोग भइरहेकामा अब थप १० मेगाहर्ज ब्यान्डविथ आवश्यक पर्ने भयो। तर बिना टेण्डर फेरी थाइकमसँग नै १० मेगाहर्ज ब्यान्डविथ थपियो, पुरानै दरमा।

‘टेलिभिजन प्रशारणका अनेक तरिकाहरु आइरहेका छन्। नेपाल टेलिभिजन मात्र स्याटलाइटमा जानु स्वभाविक मान्न सकिन्छ। तर क्षेत्रीय च्यानलसहित अन्य च्यानलहरुलाई स्याटलाइटमा लैजानुको स्वार्थ के ? विदेशमा कसलाई हेराउने यी च्यानल? यी च्यानल हेर्ने मानिस ती ठाउँमा कति छन् ? त्यसैले स्याटलाइटबाट हुने कमिसनकै लागि मात्र यो काम भइरहेको छ’

क्षेत्रीय प्रशारणका रुपमा इटहरी प्रशारण केन्द्र पनि थपिएपछि नेपाल टेलिभिजनले सन् २०१९ को डिसेम्बरमा थाइकम फाइभसँग पाँच मेगाहर्ज ब्यान्डविथ थप गर्न आग्रह गरेको थियो। २०२० को जनवरी २ तारिखमा थाइकमले पठाएको जवाफमा आफ्नो स्याटलाइटमा त्यो सम्भव नभएको र त्यसै महिनाको अन्त्यसम्म एपिस्टार सेभेनमा सरे मात्र सम्भव हुने उल्लेख गर्‍यो। त्यसका लागि उसले पाँच मेगाहर्ज ब्यान्डविथ ६ महिनासम्म निशुल्क उपलब्ध गराउने पनि बतायो।

त्यसको १४ दिनपछि थाइकम फाइभले नेपाल टेलिभिजनलाई अर्को पत्र लेख्दै आफ्नो स्याटेलाइटको आयु सकिएको भन्दै कुनै पनि समयमा प्रशारण अवरुद्ध हुन सक्ने उल्लेख मात्र गरेन, जनवरी ३१ अघि नै आफूले सम्पूर्ण ब्यान्डविथ एपिस्टार सेभेनमा सारिदिने प्रस्ताव गरेको थियो। त्यसलाई स्विकार गरेको नेपाल टेलिभिजन हाल एपीस्टार सेभेनमार्फत प्रशारण भइरहेको छ।

‘टेलिभिजन प्रशारणका अनेक तरिकाहरु आइरहेका छन्। नेपाल टेलिभिजन मात्र स्याटलाइटमा जानु स्वभाविक मान्न सकिन्छ। तर क्षेत्रीय च्यानलसहित अन्य च्यानलहरुलाई स्याटलाइटमा लैजानुको स्वार्थ के ? विदेशमा कसलाई हेराउने यी च्यानल? यी च्यानल हेर्ने मानिस ती ठाउँमा कति छन् ? त्यसैले स्याटलाइटबाट हुने कमिसनकै लागि मात्र यो काम भइरहेको छ’, लामो समय नेपाल टेलिभिजनको इन्जिनियरिङ महाशाखामा काम गरेर अवकाश प्राप्त एक अधिकारी भन्छन्। उनका अनुसार नेपाल टेलिभिजनले एउटा च्यानललाई लिएको ब्यान्डविथ पनि बढी छ।

‘स्याटलाइटमार्फत प्रशारण भइरहेका नेपाली टेलिभिजन च्यानलहरुमध्ये अधिकांश ३.५ मेगाहर्जदेखि ४.२ मेगाहर्ज ब्यान्डविथमा चलिरहेका छन्। नेपाल टेलिभिजनका च्यानलहरुलाई चाहिँ किन ५ मेगाहर्ज ब्यान्डविथ चाहियो ?’ ती अधिकारीको प्रश्न छ।

ह्वात्तै घटेको मौज्दात 

केपी ओली प्रधानमन्त्री भएपछि २०७५ असारमा नेपाल टेलिभिजनको कार्यकारी अध्यक्ष नियुक्त भएका बिष्ट सम्भवत चाँडै राजिनामा दिएर बाहिरिने छन्। उनी अध्यक्ष भएपछि नेपाल टेलिभिजन एचडी प्रविधिमा गयो, नयाँ च्यानल थपिएको छ। तत्कालीन सञ्चारमन्त्री गोकुल बास्कोटासहित कार्यकारी अध्यक्ष विष्टले समेत स्याटलाइट ब्यान्डविथ भाडामा भइरहेको भ्रष्टाचार कोट्याएपनि उनीहरु पछि त्यसबारे बोल्नै छाडेको नेपाल टैलिभिजन स्रोत बताउँछ।

इटहरी च्यानलको स्थापना, एसडीबाट एचडीमा रुपान्तरण, ग्राफिक सिस्टम,एसी,यूपीएस, डिजिटल ट्रान्सिमिटर खरिदलगायत कारणले नेपाल टेलिभिजनको बैंकमा रहेको मौज्दात ह्वात्तै घटेको छ। ‍‍‍‍२०७५/७६ को समाप्तिमा नेपाल टेलिभिजनको बैंक खातामा एक अर्ब ९ करोड ९१ लाख ८३ हजार ७ सय ९० रुपैयाँ मौज्दात थियो। एक वर्षपछि त्यो रकम ५४ करोड ५६ लाख ३२ हजार १ सय १६ रुपैयाँमा झरेको थियो।

आर्थिक वर्ष ०७८/७९ का लागि नेपाल टेलिभिजनले निर्माण गरेको बजेट कार्यक्रम तथा बजेट विवरणमा हाल बैंकमा  ३६ करोड ८६ लाख ४९ हजार ६ सय रुपैयाँ रहेको उल्लेख छ। १४ करोड ३४ लाख ९० हजार रुपैयाँ भने उठ्न बाँकी रहेको बजेट कार्यक्रम तथा बजेट विवरणमा उल्लेख छ। विगतमा अनुदान दिदै आएको सरकारले अघिल्ला दुई वर्ष भने ऋणका रुपमा ८ करोड र १५ करोड गरि  २३ करोड रुपैयाँ उपलब्ध गराएको छ।

यो वर्षका लागि सरकारले एनटिभी वर्ल्ड च्यानलका लागि ३५ करोड र स्याटलाइटका लागि १५ करोड रुपैयाँ उपलब्ध गराएको बुझिएको छ। ‘सरकारको अनुदान, ब्याजलगायतले नेपाल टेलिभिजनको बैंकमा मौज्दात एक अर्बभन्दा माथि थियो। तर सामान खरिद लगायत कारणले बैंक मौज्दात ह्वात्तै घटेको छ’, नेपाल टेलिभिजन व्यवस्थापन स्रोतले भन्यो। स्रोतका अनुसार चार करोड रुपैयाँ लगाएर खरिद भएको ग्राफिक सिस्टम लामो समय बितिसक्दासमेत अझै सञ्चालनमा आउन सकेको छैन।

नेपाल टेलिभिजनले अंग्रेजी भाषाको नयाँ च्यानल ‘एनटिभी वर्ल्ड’ स्थापनालाई केन्द्रित गरी आर्थिक वर्ष ०७८/७९ को मूल नारा ‘ समृद्धिको लागि सञ्चार, नेपालको दृष्टिकोण विश्वमाझ’ अघि सारेको छ। संसारभर नेपालको आधिकारिक दृष्टिकोण प्रवर्द्धन गर्ने गरी ल्याउन लागिएको भनिएको उक्त च्यानलबारे आलोचना सुरु भइसकेको छ।

‘एनटिभीलाई नयाँ च्यानल कति आवश्यक परेको हो र विश्व रङ्गमञ्चमा यसको माध्यमबाट नेपालको प्रतिष्ठा अभिवृद्धिमा कति सघाउ पुग्ने हो ? यी र यस्ता पक्षलाई राष्ट्रिय हितको कोणबाट कति राम्रोसँग केलाइएको छ त्यो विचारणीय बुँदा छ । अर्को शब्दमा, के अङ्ग्रेजीमा नयाँ च्यानल सर्वथा आवश्यक हो वा चालू च्यानलहरूबाट कुनै विकल्प निस्कने सम्भावना छ ?’ वरिष्ठ पत्रकार ध्रुवहरि अधिकारी एटनिभी वर्ल्डबारे गोरखापत्रमा लेख्छन्।

अगाडि थप्छन्, ‘ प्रस्तावित एनटिभी वर्ल्ड च्यानलका खास दर्शक चाहिँ को हुनेछन् त ? यो महत्त्वपूर्ण प्रश्न हो। किनभने हाल विश्वभर छरिएका करोडौँ टेलिभिजन दर्शकहरूले प्रसारणको फाँटमा बीबीसी, सीएनएन, डी डब्ल्यू, अलजजिरा, रुसको आरटी. जस्ता स्थापित माध्यमहरूबाट ताजा एवं भरपर्दा सूचना, शैक्षिक जानकारी र मनोरञ्जनका सामग्री पाइरहेका छन् । ती दर्शकले विकल्पमा चीनको सीजीटीएन् हेर्नसक्ने अवस्था छ । त्यसैगरी, एसिया युरोप अफ्रिका दक्षिण अमेरिका अष्ट्रेलिया लगायतका महादेशमा क्षेत्रीय स्तरका माध्यमहरू उपलब्ध छन् । दक्षिण एसियातर्फ इण्डियाको दूरदर्शन (डीडी) छ, पाकिस्तानमा पीटीभी छ । भन्नु परोइन, नेपालको दाँजोमा प्रविधि र जनशक्तिमा यी छिमेकी च्यानलले कैयौँ गुणा बढी लगानी गर्नसक्छन् । तैपनि यी माध्यम आजसम्म अन्तर्राष्ट्रिय स्तरमा उक्लिने सङ्घर्षकै चरणमा छन् । दृश्यपटलमा देखिएको यो स्थितिलाई सरासर उपेक्षा गरेर एनटिभी वर्ल्डको वकालत गर्नु कति बुद्धिमानी ठहरिएला?’

एनटिभी वर्ल्ड सञ्चालनमा आए यसलाई पनि स्याटलाइटमा लगिने छ।

साउन ६, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्