भारतमा ६ वर्षमाथिका ६७ प्रतिशत मानिस कोरोना भाइरसबाट संक्रमित!

भारतमा ६ वर्षमाथिका करिब ६७ प्रतिशत मानिस कोरोना भाइरसबाट संक्रमित भएको राष्ट्रिय स्तरमा भएको पछिल्लो अध्ययनले देखाएको छ।

इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आइसिएमआर) ले जुन र जुलाईमा भारतका विभिन्न २१ राज्यका ३६ हजार २२७ जनामा गरेको अध्ययनमा हरेक तीनमा दुईजनामा कोरोना भाइरस एन्टीबडी भेटिएको हो।

यो अध्ययन अनुसार अझै ४० करोड मानिस संक्रमणको जोखिममा रहेको अध्ययन प्रतिवेदनमा उल्लेख छ। सावधानिका लागि अपनाइएका प्रतिबन्धात्मक उपायहरुमा खुकुलो बनाउँदै गर्दा संक्रमण थप फैलिन सक्ने भन्दै विज्ञले चेतावनी दिँदै आएका छन्।

भारतमा हालसम्म तीन करोड १० लाख भन्दा धेरैमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यस्तै चार लाख मानिसको ज्यान गइसकेको छ।

औपचारिक तथ्यांक यस्तो भए पनि आइसिएमआरले गरेको अध्ययन अनुसार वास्तविक संक्रमितको संख्या निकै धेरै रहेको हुन सक्ने देखिएको हो।

पछिल्ला दिनहरुमा भारतमा संक्रमण निरन्तर ओरालो लाग्ने क्रममा रहे पनि अर्को लहर आउन सक्ने भन्दै डाक्टरहरुले चेतावनी दिएका छन्।

साउन ६, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्