संकटकाे बेला स्वास्थ्य मन्त्रालयमा कहिलेसम्म खाली?

फाइल तस्बिर

काठमाडौँ – शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन भएको बुधबार आठ दिन भइसकेको छ। अहिलेको सन्दर्भमा सर्वाधिक महत्वपूर्ण र अति आवश्यक स्वास्थ्य मन्त्रालयमा मन्त्री नियुक्त गर्न भने उनले आलटाल गरेका छन्।

असार २९ गते देउवाले आफूसँगै कांग्रेसबाट दुई र माओवादीबाट दुई गरि चारजना मन्त्री नियुक्त गरे पनि त्यसपछि मन्त्री थपिएका छैनन्।

नागरिकलाई कोरोना महामारीबाट बचाउनु, खोपलगायत अन्य अत्यावश्यकीय कुराको प्रबन्ध गर्नु यति बेला राज्यको मुख्य दायित्व र चुनौती हो। प्रधानमन्त्री देउवा र उनको पार्टी कांग्रेसले त्यो कुरा राम्रोसँग बुझेको औपचारिक भाषण, मनतव्य र विज्ञप्तिबाट देखिन्छ।

कुरा बुझ्दा बुझ्दै पनि प्रधानमन्त्री देउवाले त्यो दायित्व पूरा गर्ने स्वास्थ्य मन्त्रलायमा विभागीय मन्त्री नियुक्त गर्न भने ढिलासुस्ती गरेका छन्।

केही दिनअघिसम्म प्रतिपक्षमा रहेको कांग्रेसले सरकारले महामारी नियन्त्रण गर्न गरेका प्रयास अर्याप्त र गैर जिम्मेवारपूर्ण रहेको भन्दै आलोचना गर्दै आएको थियो।

पार्टीले दैनिक जारी गर्ने विज्ञप्तिमा पूर्ववर्ती केपी ओली नेतृत्वको सरकारले कोरोना महामारी नियन्त्रणका लागि गरेको काम ठीक नभएकोे बताउँदै आएको थियो। तर सत्ताकाे चाँसो आफ्नो हातमा आइपुग्दा भने कांग्रेस, माओवादी केन्द्रसहितका सत्तारुढ पक्ष अल्मलिएका छन्।

आइतबार प्रतिनिधिसभामा विश्वासको मत लिने क्रममा प्रधानमन्त्री देउवाले आफ्नो सरकारको पहिलो, दोस्रो र तेस्रो प्राथामिकता खोप मात्रै भएको जनाउँदै महामारी नियन्त्रणमा ध्यान केन्द्रित गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

‘अहिले दुईवटा कुरा गर्नुपर्नेछ। पहिलो कोराना महामारी नियन्त्रण र दोस्रो बाढी पहिरोमा परेकालाई राहत’, संसदमा देउवाले अगाडि भनेका छन्, ‘पहिलो प्राथामिकता, दोस्रो प्राथामिकता खोप, तेस्रो प्राथामिकता पनि खोप। त्यसकारण खोप! खोप! खोप!ऽ विकास आवश्यक छ, तर अहिले त्यो भन्दा बढि लाइफ आवश्यक छ। विकासको महत्व छ। त्यो भन्दा बढि महत्व जीवनको छ।’

स्वास्थ्य मन्त्रालयको जिम्मेवारीलाई यसरी बुझेका प्रधानमन्त्रीले जिम्मेवारी दिएर काम तीव्र गति गर्न भने रोकिएका हुन्। महामारी नियन्त्रणका लागि अहिले सरकारले गर्नुपर्ने मुख्य काम भनेको खाेपको व्यवस्थापन हो।

अघिल्लो सरकार हुँदै अनुदानमा आएका केही लाख थान खोपले अहिले तत्कालको हाहाकार मेटाएको छ। नेपालमा हालसम्म अनुदान र खरिद गरेर ९७ लाख ८२ हजार ८५० मात्रा खोप भित्रिएको छ। तर सबै नागरिकका लागि चाहिने खोपको व्यवस्था अझै हुन सकेको छैन। कुन देशमा उत्पादित खोप ल्याउने, कहिले ल्याउने, कति मुल्यमा ल्याउने जस्ता विषय तत्काल सम्बोधन गर्नुपर्ने अवस्था छ।

ती सबै काम गर्ने जिम्मेवारी स्वास्थ्य मन्त्रालय र त्यसको राजनीतिक नेतृत्व मन्त्रीले गर्नुपर्छ।

स्वास्थ्य मन्त्रालयसँगै अरु मन्त्रालयमा मन्त्री नियुक्त गर्न मंगलबारदेखि मात्रै गठबन्धनमा छलफल सुरु भएको नेताहरु बताउँछन्। सहमहामन्त्री समेत रहेका कांग्रेसले गठन गरेको कोरोना नियन्त्रण तथा रोकथाम नियन्त्रण अनुगमन समितिका संयोजक डा. प्रकाशशरण महत गठबन्धनमा छलफल गर्नुपर्दा ढिलाइ भएको बताउँछन्।

उनले भने, ‘गठबन्धनमा रहेका सबै दलसँग छलफल गर्नुपर्यो। सहमति जुटाउनु पर्यो। अब केही दिनमै स्वास्थ्यसहित अरु मन्त्रालयमा मन्त्री नियुक्त हुन्छन्।’

मंगलबार सरकार बिस्तार र समसामियक राजनीतिक विषयमा छलफल गर्न प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच दुईपटक भेट भयो। बिहान बालुवाटारमा छलफल गरेका दुई नेता साँझ दाहाल निवास खुमलटारमा भेटवार्ता गरेका थिए।

आफूहरुले स्वास्थ्य मन्त्रलायको जिम्मेवारी कांग्रेसले नै लिनुपर्ने सुझाव प्रधानमन्त्री एवं सभापति देउवालाई दिएको महतले जानकारी दिए। ‘हामीले सभापतिलाई भनेका छौँ। स्वास्थ्य मन्त्रालयको जिम्मेवारी कांग्रेसले नै लिनुपर्छ’, सहमहामन्त्री महतले भने।

कांग्रेसले नै स्वास्थ्यको जिम्मेवारी लिनुपर्ने कुरा उठेसँगै अधिकांश मन्त्रीका आकांक्षीले स्वास्थ्यमै दाबी गरेका छन्।

प्रचण्ड निकट स्रोतले पनि सरकारलाई पूर्णता दिन केही दिन लाग्ने बतायो। माओवादीका एक नेताले भने, ‘सरकारलाई पूर्णता दिने विषयमा छलफल सुरु भएको छ। कुन पार्टीले कति र कुन मन्त्रालय लिने भन्ने टुंगो लागि सकेको छैन। नेताहरु अब त्यसमा केन्द्रित हुन थाल्नुभएइको छ।’

ती नेताका अनुसार माधव नेपाल पक्ष सरकारमा सहभागी हुने नहुने अलमलले पनि मन्त्रालय बाँडफाडमा ढिलाइ भएको हो।

साउन ६, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्