गठबन्धनमा आवद्ध पार्टीहरुबीच न्यूनतम साझा कार्यक्रम छिटो तय गर्न माओवादी केन्द्रको आह्वान

फाइल तस्बिर।

काठमाडौँ– नेकपा (माओवादी केन्द्र)ले गठबन्धनका राजनीतिक पार्टीहरुका बीचमा न्यूनतम साझा कार्यक्रम छिटोभन्दा छिटो तय गर्न आह्वान गरेको छ।

माओवादी केन्द्रको बुधबार बसेको स्थायी कमिटी बैठकले गठबन्धनको सरकारलाई न्यूनतम साझा कार्यक्रम र साझा प्रतिवद्धताहरु मार्फत अगाडि बढाउनु पर्ने भएकाले साझा प्राथमिकताका कार्यक्रम र प्रतिवद्धताहरु तय गर्न आह्वान गरेको हो।

बैठकले विगतको सरकारले देखाएको आचरण अबको गठबन्धनको सरकारले देखाउनु नहुने र विगतमा गरिएका प्रतिवद्धता अनुरुप अगाडि बढ्नुपर्नेमा जोड दिएको पनि प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।

उनले भने, ‘हामीमा हिजो जुन प्रवृत्तिका विरुद्ध संघर्ष गर्‍यौँ, त्यो कुनैपनि ढंगबाट अब देखिनु हुँदैन। पुनरावृत्ति हुनु हुँदैन। त्यसमा जोड गर्ने भनेर आज हाम्रो पार्टीले त्यसमा जोड दिएको छ। त्यसको निम्ति गठबन्धनको सरकारलाई न्यूनतम साझा कार्यक्रम वा साझा प्रतिवद्धताहरु मार्फत अगाडी बढाउनुपर्ने भएकोले छिटोभन्दा छिटो गठबन्धनका पार्टीहरु सम्मिलित भएर एउटा न्यूनतम साझा कार्यक्रम वा हाम्रा साझा प्राथमिकताका कार्यक्रमहरु र प्रतिवद्धताहरु तुरुन्तै तय गर्न पार्टीले आह्वान गरेको छ। र त्यसै अनुसार कार्यदलका सदस्यहरुलाई निर्देशन दिइएको छ।’

माओवादीले पार्टी निर्माणको प्रक्रियालाई व्यवस्थित र तीव्र पार्ने निष्कर्ष निकाल्दै केन्द्रीय कमिटीको बैठक श्रावण २० गते र स्थायी कमिटीको बैठक श्रावण १७ गते निर्णय पनि गरेको छ।

त्यसैगरी श्रावण ९ गते नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता नरबहादुर कर्मचार्यको स्मृतिमा केन्द्रीय कार्यालय पेरिसडाँडा र देशभरका पार्टी कार्यालयमा कार्यक्रम गर्ने निर्णय पनि गरिएको छ।

साउन ६, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्