कांग्रेस नेता सिंहद्वारा सांसद पदबाट राजीनामा

फाइल तस्बिर।

काठमाडौँ– नेपाली कांग्रेसका नेता एवं सांसद अमरेश कुमार सिंहले प्रतिनिधिसभा सदस्य पदबाट राजीनामा दिएका छन्। नेता सिंहले कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई बुधबार राजीनामा बुझाएका हुन्।

महाधिवेशनका लागि पार्टीको क्रियाशिल सदस्यता वितरणमा असन्तुष्टि जनाउँदै सिंहले सांसद पदबाट राजीनामा दिएका हुन्।

उनले राजीनामा पत्रमा भनेका छन्, ‘महाधिवेशनको पूर्वसन्ध्यामा पार्टी क्रियाशील सदस्यता वितरण, समायोजन र नवीकरणका क्रममा पार्टीभित्र उत्पन्न अवाञ्छित, अस्वाभाविक र भद्दा प्रवृतिले नेपाली कांग्रेस चुस्त र गतिशील बन्ने मार्गमा अवरोध पैदा गरेको छ।’

साथै उपसभापति विमलेन्द्र निधिको भूमिकाप्रति पनि उनले असन्तुष्टि जनाएका छन्।

‘खासगरी प्रदेश नं. २ मा उपसभापति विमलेन्द्र निधिले अवलम्बन गर्नुभएको नीति र व्यवहारले चिन्ताजनक स्थिति उत्पन्न गराएको छ। विगत दुई दशकदेखि प्रदेशमा कांग्रेको एकछत्र नेताका रुपमा निधिको उपस्थिति रहनु र यही दुई दशकभित्र कांग्रेसको प्रभाव तथा हैसियत ह्रासोन्मुख हुनुलाई संयोग मात्र मान्न सकिँदैन,’ सिंहले राजीनामा पत्रमा उल्लेख गरेका छन्।

निष्ठावान, गतिशील र पार्टीप्रति समर्पित पुराना तथा युवा साथीहरुलाई समेट्न नखोज्ने, विपरीत छविका र पार्टीसँग अपरिचित व्यक्तिहरुलाई मनोमानी तरिकाले क्रियाशील सदस्यता वितरण गरी समायोजन र नवीकरणका नाममा निजी जत्था तयार गर्ने कपटी प्रयास भइरहेको आरोप लगाउँदै उनले सभापति देउवाको ध्यानाकर्षणसमेत गराएका छन्।

साउन ६, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्