सरकारमा सहभागी हुने या नहुने नेपालको एजेण्डा, देउवालाई दिएको विश्वास मतमा विवाद

काठमाडौँ- हालै शेरबहादुर देउवालाई विश्वासको मत दिएर करिव दुई वर्षका लागि सत्ता सुनिश्चित गराएका एमाले बिद्रोही नेता माधवकुमार नेपालले आफ्नो खेमामा देउवा सरकारको सहभागितालाई छलफलको एजेण्डा बनाएका छन्।

देउवालाई विश्वासको मत दिँदा आफ्नै खेमा चोइटिने जोखिम मोलेका नेपालले सरकारमा जाने या नजाने भन्ने विषय छिट्टै टुंगो लगाउनु पर्ने धारणासहित त्यसलाई आफ्ना बैठकका एजेण्डामा पार्नुपर्ने बताएका हुन्।

बुधबार बुद्धनगरस्थित एक पार्टी प्यालेसमा उनी पक्षीय स्थायी कमिटी सदस्यहरुको भेलामा नेपालको सुझाव अनुसार छलफलका लागि पाँच एजेण्डा प्रस्तुत गरिएको छ।

त्यसमध्ये सरकारमा सहभागी हुने या नहुने भन्नेलाई एक एजेण्डा मानिएको छ। बाँकी एजेण्डामा वर्तमान राजनीतिक परिस्थिति, देउवालाई दिएको विश्वासको मत, १० बुँदे सहमति र एकतालगायत छन्।

यी एजेण्डामा नेपालले तत्काल छलफल चलाउने इच्छा राखेपनि भोलि र पर्सि पुष्पलाल स्मृतिसँग सम्बन्धित कार्यक्रम रहेकाले त्यसपछि मात्रै उनी पक्षीय स्थायी कमिटी सदस्यहरुको भेला हुनेछ।

नेपाल खेमाका स्थायी कमिटी सदस्यहरु पछिल्लो पटक देउवालाई विश्वासको मत दिनु गलत भएको या नभएको भन्नेमा विभाजित छन्।

बुधबारको भेलामा पनि त्यसबारे स्पष्ट भएको छ। भेलामा घनश्याम भुसालले देउवालाई विश्वासको मत दिनु गलत भएको बताएका थिए।

भुसालले पार्टी जोगाउने भन्दै अन्तिम समयमा आएर देउवालाई मत दिनबाट पछि हटेका थिए।

युवराज ज्ञवाली, रघुजी पन्त र मुकुन्द न्यौपाने भने संसद जोगाउन देउवालाई विश्वासको मत दिन गलत नभएको भन्दै नेता नेपालको निर्णयको समर्थनमा उत्रिएका थिए।

बाँकी सदस्यहरुले अर्को बैठकमा बोल्ने छन्।

तर देउवालाई विश्वासको मत दिएको विषयमा मतभेद भएकै कारण नेपाल खेमा पनि फुट नजिक भन्न भन्ने नमिल्ने नेताहरुले बताएका छन्।

बैठकमा सहभागी नेताले भने,‘ देउवालाई विश्वासको मत दिएपछि हामीबीच मतभेद उत्पन्न भएको साँचो हो। नेपाललाई अन्तिमसमयसम्म विश्वासको मत दिनुहुन्न भन्ने सुझाव थियो।नेपालले त्यसलाई अस्वीकार गरेपछि साथीहरु रिसाउनु स्वाभाविक पनि हो। तर यसैकारण यो समूह पनि दुई चिरा भयो भन्न मिल्दैन।’

विश्वासको मतले नै नेपाल समूह दुई फ्याक भएको भए बुधबारको बैठकमा सबै सदस्यहरु कसरी सहभागी हुन्थे भन्ने उनको प्रश्न छ।

बुधबारको बैठकमा नेता रावल सहभागी भएनन्। उनलाई फकाउन नेता नेपाल आफै रावल निवास टोखा पुगेका थिए। रावल देउवालाई विश्वासको मत नदिने पक्षमा थिए।

उनले देउवाले विश्वास मत लिने दिन बिहान पनि नेपाललाई देउवालाई मत नदिन नेपाललाई सुझाएका थिए।

स्रोतका अनुसार करिव दुई नेपालले आफ्ना मान्यता र अडान स्पष्ट पार्दै नेता रावललाई आफूलाई साथ दिन आग्रह गरेका थिए।

तर रावलले पार्टी एकताका लागि आफूले एउटा शब्दका लागि पनि कयौँ दिन भौँतारिएको, दौढधूप गरेको अवस्थामा अचानक देउवालाई विश्वासको मत दिने निर्णयमा नेपाल पुगेर पार्टी एकता संकटमा पारेको आरोप लगाउन भ्याएका थिए। तर नेता नेपालले संसद जोगाउन देउवा सरकारलाई साथ दिनुको विकल्प नभएको बताएका थिए।

यद्दपि नेपालले आफू पार्टी एकताको पक्षमै रहेको भन्दै नेपाललाई निकैबेर फकाएका हुन्। नेपाल खेमामा खासगरी स्थायीकमिटी सदस्यहरुमध्ये बेदुराम भुसाल, मुकुन्द न्यौपानेलगायत ओलीसँग अब मिल्न नसकिने निकष्र्षमा पुगेका छन्। बाँकीले पार्टी एकतामै जोड दिइरहेको स्रोतको भनाई छ।

साउन ६, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्