निर्दलीयताको अभ्यास भएकाले धारा ७६ (५) लाई संशोधन गर्छौँँ: एमाले

काठमाडौँ- नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले संविधानको धारा ७६ ५ लाई संशोधन गर्ने निर्णय गरेको छ।

केन्द्रीय कमिटी बैठकको तेस्रो दिन भएका छलफलहरुबारे जानकारी दिँदै एमाले प्रवक्ता प्रदीप ज्ञवालीले सर्वोच्च अदालतको फैसलाले निर्दलीयताको अभ्यास गरेको भन्दै आवश्यकता परे संविधान संशोधन गर्ने उल्लेख गरे। उनले बुधबारको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै भने-  धारा ७६ (५) लाई संविधान संशोधनमार्फत सच्याउँछौँ।’

ज्ञवालीका अनुसार संगठनलाई चुस्तदुरुस्त बनाउने र केन्द्रमा देखा परेको अन्यौल टुंग्याउनेबारे बैठकमा छलफल भएको छ।

उनले सर्वोच्च अदालतको फैसलाले शक्ति पृथकीकरण र नियन्त्रणलाई खल्बल्याएको उल्लेख गर्दै संसदीय व्यवस्थाको आधारभूत  संरचनालाई खल्बल्याउँदै दलीय प्रणालीमा आँच पुर्‍याएको केन्द्रीय कमिटी बैठकको निष्कर्श रहेको बताए। उनले भने- ‘अदालतले अतिरिक्त न्यायिक सक्रियता देखाएर निर्वाचन प्रणालीलाई अलोकताान्त्रिक ठहर गरेको छ। लोकताान्त्रिक प्रणालीलाई गलत दिशामा लग्नुका साथै जनचाहनाविपरीत निर्णय गरेकाले फैसलामा हाम्रो विमति छ।’

यद्यपि विधिको शासनमाथि विश्वास गर्ने भएकाले फैसला मानेको जिकिर उनले गरे।

केन्द्रीय कमिटी बैठकले केपी ओली नेतृत्वको ४ १ महिने सरकारको समीक्षा गर्दै घेराबन्दीका बाबजुद सरकारले धेरै काम गरेको निर्णयसहित यसका लागि धन्यवाद दिएको जानकारी पनि ज्ञवालीले गराए।

बैठकले सिंगो पार्टी पंक्तिलाई विचलित नहुन र फेरि बहुमतसहित सरकारमा आउने आश्वासन पनि दिएको छ।

बैठकमा सम्बोधन गर्दै अध्यक्ष ओलीले  पार्टी एकतामाथि अन्तिम समयमा प्रयास जारी राखेको बताएका थिए। ‘आन्दोलनलाई घात गर्ने ध्येयलाई सफल हुन दिँदैनौँ। एकताको लागि प्रयास जारी राख्छौँ,’  बैठकमा ओलीलाई उद्धृत गर्दै ज्ञवालीले भने।

बैठकले नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाप्रति श्रद्धाञ्जलि व्यक्तसमेत गरेको छ। कम्युनिष्ट संस्थापक पुष्पलालको स्मृतिदिवस बिहीबार बैठकमा मनाइने जानकारी पनि ज्ञवालीले दिए।

साउन ६, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्