पुष्पलाल स्मृति दिवसः एमालेका गुटगत कार्यक्रम

फाइल तस्बिर

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४३ औँ स्मृति दिवस बिहीबार विभिन्न कार्यक्रम गरि मनाईँदै छ ।

रामेछापको भँगेरीमा विक्रम संवत १९८१ असार १५ गते जन्मिएका पुष्पलालले २००६ साल वैशाख १० गते नेपाल कम्युनिष्ट पार्टीको स्थापना गरेका थिए । उनी नेकपाका संस्थापक महासचिव हुन् ।

नेपालको वाम उनको भूमिका महत्वपूर्ण छ । भारत प्रवासमा रहेकै बेला पुष्पलालको २०३५ साल साउन ७ गते निधन भएको थियो ।
वाम एकता र आन्दोलनको सुरुवात गरेका पुष्पलालको वाम आन्दोलन अहिले भने विभावित अवस्थामा छ । दिवसको अवसरमा भइरहेका कार्यक्रमहरुले पनि विभाजनलाई देखाएको छ ।

गम्भीर संकट र विभाजनको खेरामा पुगेको नेकपा एमालेले बिहीबार विभिन्न कार्यक्रम गर्दैछ । तर ती कार्यक्रमहरु गुटगत देखिएका छन् । एमालेको संस्थापन अर्थात अध्यक्ष केपी शर्मा ओली र असन्तुष्ट नेता माधवकुमार नेपाल पक्षले भिन्दाभिन्दै कार्यक्रम गर्दै छन् ।

नेता नेपालसहितको उपस्थितिमा उनको खेमाले बिहीबार बिहानै कीर्तिपुर–४ चम्पादेवीमा रहेको पुष्पलाल पार्कमा विशेष कार्यक्रम गरेको छ । पुष्पलाल स्मृति प्रतिष्ठानका अध्यक्ष समेत रहेका नेता नेपालले चम्पादेवीमा रहेको पुष्पलालको प्रतिमामा माल्यार्पण समेत गरेका छन् । यस्तै नेपाल खेमाले बिहान साढे १० बजे भक्तपुरको सूर्यविनायकमा स्मृति दिवसको सन्दर्भमा रक्तदान कार्यक्रम गर्दैछ ।

यसैबिच ललितपुरको च्यासल स्थित तुलसीलाल स्मृति भवनमा नेकपाको संस्थापन अर्थात अध्यक्ष ओली खेमाले दिउँसो १ बजे कार्यक्रम गर्दैछ । सो कार्यक्रममा अध्यक्ष केपी शर्मा ओली समेत सहभागी हुने एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिएका छन् ।

यस्तै नेपाल खेमा नजिक रहेको पुष्पलाल मित्रता केन्द्रको आयोजनामा ललितपुरको च्यासलमा शुक्रबार दिउँसो साढे १२ बजे ‘नेपाली कम्युनिष्ट आन्दोलनको वर्तमान संकट र आगामी बाटो’ विषयक प्रवचन कार्यक्रम गर्ने छ ।

तुलसीलाल स्मृति भवनमा हुने कार्यक्रममा नेता नेपाल, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, नेपाल कम्युनिष्ट पार्टी माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लव, नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य किरणसहितका वक्ता हुने छन् ।

साउन ७, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्