गोविन्दराज जोशीले गरे आफ्ना समर्थकलाई अधिवेशनमा भाग नलिन आह्वान, पार्टी समाप्ती तर्फ लगेको भन्दै नेतृत्वको आलोचना

काठमाडौँ – नेपाली कांग्रेसका पूर्व सहमहामन्त्री गोविन्दराज जोशीले पार्टीको क्रियाशिल सदस्यलाई लिएर भएरहेको चलखेल तथा धाँधलीप्रति आपत्ति जनाउँदै नेतृत्वको ध्यानाकर्षण गराएका छन् ।

नेता जोशीले विशेष गरि तनहुँ जिल्लामा सक्रिय नेता कार्यकर्तालाई क्रियाशिल सदस्यताबाट वञ्चित गरिको भन्दै नेतृत्वको आलोचना गरेका हुन् ।

नेपाली कांग्रेस भित्र आउँदो १४ औँ महाधिवेशनलाई लिएर अहिले क्रियाशिल सदस्यता छानविनको क्रममा विवाद चर्किँदै गएको छ । नेता जोशीले पार्टीका निष्ठावान सक्रिय कार्यकर्ताको सहभागिता बन्देज गर्ने नियतसहितको महाधिवेशन हुन लागेको भन्दै निन्दा गरेका छन् ।

वक्तव्यमा उनले भनेका छन्, ‘यस्तो निरर्थक महाधिवेशन आउँछ जान्छ । भुल बस, सम्बन्धित व्यक्तिको मन्जुरी विना नै जालसाजी गरी नविकरण गरिएका र झुक्यानमा परी नविकरण गर्ने साथीहरु पनि यो निरर्थक अधिवेशनमा सहभागी नहुनुहोला । हाम्रो कोही आफ्नो र कोही पराइ छैन । हाम्रा लागि यो अधिवेशनमा सहभागी हुने सबै समान हुन् । सबै साथीहरू निरपेक्ष रहनुहोला ।’

उनले तनहुँमा आफ्ना समर्थकलाई पार्टीको स्थानीय तहको अधिवेशनमा सहभागी नहुन अपील गरेका हुन् । उनले वक्तव्यमा भनेका छन्, ‘नेपाली काङ्ग्रेसको स्थानीयतहको अधिवेशन नजिकिँदै गर्दा तनहुँ जिल्लाका नेपाली काङ्ग्रेसको नेतृत्वमा रहेका तथा आफ्नो–आफ्नो ठाउँमा पार्टी संगठनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएका कृयाशील सदस्य साथीहरूले यो अधिवेशनमा सहभागी नहुने निर्णय गर्नुपर्ने परिस्थिति सृजना हुनु पार्टीका इमान्दार कार्यकर्ता एवं शुभचिन्तकहरूका लागि अत्यन्त दुःखदायी र गम्भीर निर्णय हो । तनहुँमा नेपाली कांग्रेसका प्रतिबद्ध साथीहरूका लागि यो गम्भीर विषय बनेकोछ ।’

पार्टीको महाधिवशनको सन्दर्भ चलिरहँदा पार्टीलाई समाप्त नपारी विश्राम नलिने प्रण गरेका तनहुँबाट कांग्रेस केन्द्रीय नेतृत्वमा रहेका केही व्यक्तिको स्वार्थका कारण पार्टीमा महत्वपूर्ण भूमिका निर्वाह आफूसहित पूर्व सांसद उर्मिला थापा, महासमिति सदस्य बालकुमारी लोहनी, नेताहरू गोपालप्रसाद भण्डारी, नुरचन्द्र वाग्ले, ऋषिराम पोखरेल, राम वहादुर घिमिरे, केसरबहादुर गुरुङ, हरिशरण पण्डित, ज्ञानराज थापा, रामदेव पन्थ, नरेन्द्र थापा, सोलबहादुर मगर, शिक्षक संघ तनहुँ पूर्व अध्यक्ष गणेशबहादुर खत्री, रामबहादुर ढुङ्गाना, बिमल राज जोशी, रुद्र नाथ पौडेलसहितले क्रियाशील सदस्य नविकरण नगर्नु र नगराउनुका कारण १४ औँ महधिवेशनबाट विमुख हुनुपरेको उनले उल्लेख गरेका छन् ।

उनले लेखेका छन्, ‘अहिले तनहुँमा यस्ता महत्वपूर्ण साथीहरूको पार्टीमा अनुपस्थिति हँुदा पनि केही स्वार्थी व्यक्तिहरू आप्mनो लागि पार्टी कब्जा गर्न अनुकूल भएको महशूस गर्दै गौरवको अनुभूति गरिरहेका छन् । दुई हजार दुई सय कार्यकर्ताहरुले आफ्नो साधारण सदस्य समेतबाट केन्द्रीय कार्यालयमा सामूहिक राजीनामा दिँदा पनि पार्टीको केन्द्रीय नेतृत्व संवेदनहिन भएर किन मौन रहेको छ बुझ्न सकिएको छैन ।’

उनले अघि लेखेका छन्, ‘विगतको संघीय, प्रदेस एवं स्थानीय तहको निर्वाचनमा टिकट वितरण देखि १४ औँ माहाधिवेसनको कृयाशील सदस्यको वितरणमा देशभर मच्चाईएको यो वितण्डाले केही मानिसको स्वार्थ पूरा होला तर समग्रमा नेपाली कांग्रेसलाई समाप्तीको बोटोमा डोर्‍याउँदै छ । नेपाली कांग्रेसका सबै पदाधीकारी तथा सदस्यहरुले पार्टीलाई यो दुष्परिणाममा पुर्‍याउने कृयाकलापको जिम्मेवारी लिनु पर्ने छ ।’

साउन ७, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्