साङ्केतिक तस्बिर

झापा – काठमाडौँलगायत अन्य स्थानहरूमा कोरोनाविरुद्धको खोप लगाउने अभियान जारी रहँदा प्रदेश १ मा अहिलेसम्म कोरोना खोप उपलब्ध भएको छैन।

कोरोनाविरुद्धको खोप संघीय मन्त्रालयले नपठाइदिँदा खोप लगाउन पर्खेर बसेका सर्वसाधारण निराश बन्न थालेका छन्।

सर्वसाधारणको प्रश्न छ, ‘कोरोना खोप खोइ?’

काठमाडौँ उपत्यकामा ६० देखि ६४ वर्ष उमेर समूहका मानिसहरूलाई भेरोसेल खोप दिएका बेला प्रदेश १ मा ६२ देखि ६४ वर्ष उमेर समूहका मानिसहरूलाई लगाइएको थियो।

त्यसपछि अन्यत्र भेरोसेल र जोनसन एण्ड जोनसनको खोप लगाउने अभियान चलिरहेको छ। तर प्रदेश १ मा खोप आएकै छैन।

सर्वसाधारणले खोप पर्खिरहँदा अब धेरै कुर्नुपर्ने अवस्था नरहेको प्रदेश १ का स्वास्थ्य निर्देशक ज्ञानबहादुर बस्नेतले बताए।

उनले खोप लिन सवारी साधन काठमाडौं गइसकेको बताए। उनले भने, ‘दुई/तीन दिनमा हाम्रोमा पनि खोप अभियान सुरु हुन्छ।’

स्वास्थ्य मन्त्रालयले जारी गरेको निर्देशिका अनुसार खोप अभियान सुरु गरिने उनले बताए।

साउन ७, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्