नर्भिकले ६ अर्ब लगानी थप्दै, दुहबी र भैरहवामा पनि अस्पताल बन्ने

काठमाडौँ – नर्भिक इन्टरनेशनल हस्पिटलले आफ्नो सेवालाई बिस्तार गर्ने गरि पञ्चवर्षीय रणनीति सार्वजनिक गरेको छ ।

पब्लिक कम्पनीको रुपमा रुपान्तरण भएपछि बनेको नयाँ संचालक समिति र व्यवस्थापनको उच्च तहको जिम्मेवारी पाएकाहरुका लागि इण्डक्सन प्रोग्राम(परिचयात्मक कार्यक्रम) आयोजना गरि नर्भिकले आफ्नो पञ्चवर्षीय बिस्तार रणनीति सार्वजनिक गरेको हो ।

ठमेलस्थित होटल अलफ्टमा आयोजित कार्यक्रममा नर्भिक अस्पतालका प्रबन्ध निर्देशक मेघा चौधरीले पाँच वर्षे रणनीति सार्वजनिक गरिन् ।
उनले अबको पाँच वर्षभित्र नर्भिक अस्पतालले आफ्नो सेवालाई व्यापक रुपमा बिस्तार गर्ने योजनाको बिषयमा जानकारी दिइन् ।

सन् २०२२ देखि २०२६ भित्रमा थापाथलीमा रहेको नर्भिक अस्पतालको सेवा अझ बिस्तार गरिनेछ । थापाथलीमा २ अर्ब रुपैयाँभन्दा बढिको लगानीमा अत्याधुनिक अर्को भवन बनाएर हालको सेवालाई बिस्तार गरिने र सेवा बिस्तारसँगै नर्भिक अस्पताल ‘सुपर स्पेसियालिटी अस्पताल’को रुपमा रुपान्तरण हुने उल्लेख छ । थापाथलीमा अर्को भवन समेत बनेपछि नर्भिकले २ सय शय्याको भव्य अस्पतालबाट सेवा संचालन गर्ने जनाइएको छ ।

यस्तै, आगामी पाँच वर्षभित्र नर्भिकले भैरहवामा १०० शय्या तथा सुनसरीको दुहबीमा पनि १०० शय्याको दुईवटा स्याटेलाइट अस्पताल निर्माण गरि संचालनमा ल्याइने योजना छ । यी दुवै अस्पताल निर्माणमा ३ अर्ब रुपैयाँभन्दा बढि लगानी हुनेछ ।

यो अवधिमा नर्भिकको अत्याधुनिक कर्पोरेट अफिस समेत बन्ने कार्ययोजनामा उल्लेख छ ।

पाँच वर्षे योजनामा नर्भिकले आफ्नो सेवा बिस्तारका लागि ६ अर्ब बढि लगानी थप्ने र २ हजारभन्दा बढिका लागि प्रत्यक्ष रोजगारीको अवसर सिर्जना गर्ने योजना बनाएको प्रबन्ध निर्देशक चौधरीले जानकारी दिइन् ।

नर्भिक अस्पतालका निवर्तमान चेयरम्यान तथा संरक्षक बसन्त चौधरीले कार्यक्रमलाई सम्बोधन गर्दै आफूहरुले अस्पतालको स्तरीय सेवालाई व्यापक रुपमा बिस्तार गर्ने योजना बनाएको उल्लेख गरे ।

सो अवसरमा नर्भिक अस्पतालका नवनियुक्त अध्यक्ष राजेन्द्रबहादुर सिंह र प्रमुख कार्यकारी अधिकृत अजय मिश्रले समेत बोलेका थिए ।

साउन ७, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्