दोस्रो अध्यक्षसहित ‘पावर सेयरिङ’ सहमति हुँदैछ एमालेमा: भीम आचार्यसँग भिडियो अन्तर्वार्ता

काठमाडौँ – वारपार लडाईंको उद्घोष गरेका एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच एकताको सम्भावना जीवित भएको छ।

वैमनस्यताको तह धेरै माथि पुगे पनि पार्टी विभाजन आफ्ना लागि हितकारी नहुने निष्कर्ष एक्ला–एक्लै निकालेका ओली र नेपाललाई मिल्नु पर्ने व्यापक दबाब बढ्न थालेको छ। आजभोलिमै सहमति गर्ने दाबी पार्टीका प्रभावशाली नेताहरुले बताएका छन्।

पार्टी एकताका लागि पछिल्लो दुई महिना खुलेर लागेका नेपाल खेमाका एमाले सचिव एवं प्रदेश एकका सांसद भीम आचार्यले एमाले एकताका लागि ओली र नेपालबीच सहमति नजिएको दाबी गरेका छन्।

उनले आजभोलिमै ओली र नेपालबीच निर्णायक वार्ता गराउने गरी आफूहरु जुटेको दाबी गरे। हालै एमाले विवाद समाधान कार्यदलले गरेको १० बुँदे सहमति, नेपाललाई दोस्रो अध्यक्ष दिने (पावर सेयरिङ) सूत्र लगायत ‘प्याकेज’लाई औपचारिकता दिनेगरी आफूहरु जुटेको उनको दाबी छ। ओलीले पार्टी एकताका लागि दोस्रो अध्यक्ष बन्न प्रस्ताव गर्ने र त्यो नेपालले मान्ने आचार्यको दाबी छ।

देशसञ्चारसँगको भिडियो अन्तर्वार्तामा उनले भनेका छन्,‘अब पार्टी एकताको विकल्प छैन। पहिलो चरणमा ओली र नेपालबीच हस्ताक्षर हुनेछ। दोस्रो अध्यक्ष बन्न ओलीले प्रस्ताव गरेमा त्यो नेपालले स्वीकार्नुहुन्छ। भविष्यका लागि पावर सेयरिङ महत्वपूर्ण छ। त्यो भयो भने ओलीले जथाभावी गर्न पाउनु हुनेछैन।’

ओलीले आफू पक्षीय केन्द्रीय कमिटी बैठकमा पार्टी एकतामा आफ्नो पनि जोड रहेको, पार्टी एकताका लागि नेपाललाई दोस्रो अध्यक्ष दिन तयार रहेको बताएका थिए। त्यसैअनुसार पार्टी एकताका लागि पहल गर्न उनले आफूपक्षीय कार्यदलका सदस्यहरुलाई निर्देशन पनि दिएका थिए। आचार्यले शेरबहादुर देउवालाई विश्वासको मत दिने बेला आफ्नो खेमामा विभाजन आएको स्वीकारेका छन्।

तर त्यसैका कारण आफूहरुले नेता नेपालको साथ नछोड्ने दाबी गरेका छन्। उनले भने,‘देउवालाई मत दिएपछि हाम्रो खेमा विभाजित भएको साँचो हो। तर यसै कारणले हामीले नेपालको साथ छोड्दैनौँ। उहाँले पनि हामीलाई छोड्नु हुन्न।’

यस्तै आफ्ना खेमाका नेता भीम रावलले उत्तेजनामा आएर राजीनामा दिएकाले त्यो फिर्ता हुनुपर्ने धारणा आचार्यले अघि सारेका छन्।

अर्कोतिर पार्टी विभाजनको तहमा आउनुमा ओली नै मुख्य कारक रहेको उनको विश्लेषण छ। हतारमा देउवाले विश्वासको मत लिन खोज्नुले उनले एमाले फुटाउन चाहेको विश्लेषण उनको छ।

प्रस्तुत छ, भीम आचार्यसँग लिइएको भिडियो अन्तर्वार्ताः

साउन ७, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्