कसैलाई हराउनका लागि होइन, कांग्रेसलाई जिताउन सभापतिमा उम्मेदवारी दिन लागेको हुँः निधि

जनकपुरधाम– नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले आफू कसैलाई हराउनलाई नभइ कांग्रेसलाई जिताउनको लागि सभापतिमा उम्मेदवारी दिन लागेको बताएका छन्।

उनले नेपाली कांग्रेसलाई दृढताका साथ अगाडि बढाउनका लागि पार्टी नेतृत्व आफ्नो हातमा लिन चाहेको बताए।

बिहीबार महोत्तरीको जलेश्वरमा महेश्वर सिंह स्मृति भवनको उद्घाटन एवं नेता महेश्वर सिंहको शालिक अनावरण गर्दै उपसभापति निधिले पार्टीलाई सुदृढ बनाएर अगाडि बढाउने इच्छा रहेकोले सभापतिमा उम्मेदवारी दिन लागेको बताए।

पछिल्लो निर्वाचनमा कांग्रेसलाई हार व्यहोर्नु परेकोमा त्यसलाई बिर्सिँदै थप उर्जा प्रदान गर्नका लागि आफू उम्मेदवारी दिन लागेको र यसमा सबै नेता कार्यकर्ताको सहयोगको आवश्यकता रहेको बताए।

नेपाली कांग्रेसकै नेतृत्वमा संविधानको शत प्रतिशत कार्यान्वयन हुने दावी गर्दै उनले कांग्रेसको नेतृत्वमा स्थायी सरकार बनिसकेको बताए। उनले यस सरकारलाई कसैले हल्लाउन नसक्ने दावीसमेत गरे।

साउन ७, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्