हिन्दूविरोधी अभिव्यक्ति दिने पूर्वप्रधानमन्त्री भट्टराईको वीरगञ्जमा पुतला दहन

वीरगञ्ज – विश्वहिन्दू परिषद् नेपालले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको बिहीबार वीरगञ्जमा पुतला दहन गरेको छ। सनातन धर्मविरुद्ध अभिव्यक्ति दिएको भन्दै परिषद्ले डा. बाबुराम भट्टराईको पुतला दहन गरेको हो।

जसपा पार्टीका संघीय परिषद्का अध्यक्षसमेत रहेका भट्टराईविरुद्ध वीरगञ्जमा नाराबाजीसहित जुलुस प्रदर्शन गर्दै उनको पुतला जलाएका हुन्। भारत युपीका मुख्यमन्त्री योगी आदित्यनाथले गंगा नदीमा दूध अर्पण गरी पूजापाठ गरिरहेको तस्बिरलाई भट्टराईले आफ्नो सोसल एकाउन्ट ट्वीटरमार्फत सेयर गर्दै हिन्दूधर्ममाथि अभद्र टिप्पणी गरेका थिए।

उनले गरेको टिप्पणीको चौतर्फी रूपमा हिन्दूवादीसँग संगठनहरूले विरोध गर्दै प्रदर्शन गरेका छन्। त्यसकै क्रममा विश्वहिन्दू परिषद् नेपालले पनि वीरगञ्जमा भट्टराईविरुद्ध प्रदर्शन गर्दै उनको पुतला लगाएर कडा विरोध जनाएका हुन्।

वीरगञ्जको माईस्थान चोकमा भेला भएका हिन्दू युवाले भट्टराईविरुद्ध चर्को नाराबाजी गर्दै जुलुस प्रदर्शन गरेका थिए। विरोध प्रदर्शनमा हिन्दू युवाले बाबुराम भट्टराई मुर्दावाद, हिन्दूधर्मलाई अपमान गर्न पाइँदैन, भट्टराईलाई कडा कारबाही गर्नुपर्नेलगायतको चर्को नाराबाजी गरेका थिए।

भट्टराईको पुतलासहित निकालिएको विरोध जुलुस नगरपरिक्रमापश्चात् घण्टाघर चोकमा पुगेर प्रहरीको कडा सुरक्षाबीच उनको पुतला दहन गर्दै चर्को आलोचनासमेत गरेका थिए।

कोणसभालाई सम्बोधन गर्दै परिषद्का वीरगञ्ज महानगर उपाध्यक्ष कृष्णमोहन सहायले पौराणिक कालदेखि चल्दै आएको हाम्रो सनातन धर्मविरुद्ध बारम्बार आक्रमण गरी हिन्दूहरूको आस्थासँग खेलवाड गरेको प्रति घोर विरोध जनाउँदै हिन्दूको आस्थासँग खेलवाड गर्नेविरुद्ध अब प्रतिकारमा उत्रिने चेतावनी दिए।

साउन ७, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्