एनआरएनए अस्ट्रेलिया चुनाव: अध्यक्षमा नन्द गुरुङ र डा. ज्ञानेन्द्र रेग्मी भिड्दै

एनआरएनए अस्ट्रेलियाका अध्यक्ष पदका उम्मेदवारहरू क्रमशः नन्द गुरुङ र डा. ज्ञानेन्द्र रेग्मी ।

सिड्नी – आगामी जुलाई ३१ तारिखमा हुन गइरहेको गैरआवासीय नेपाली संघ अस्ट्रेलियाको निर्वाचनमा तीन सय ४५ जना उम्मेदवारहरूको नामावली निर्वाचन आयाेगले प्रकाशित गरेको छ।

सन् २०२१–२३ कार्यसमिति छनोटको लागि हुने सो निर्वाचनमा राष्ट्रिय समन्वय समिति, राज्य समन्वय समिति र अन्तर्राष्ट्रिय समन्वय समितिका लागि उम्मेदवारहरू चयनका लागि चुनाव गरिनेछ।

अनौपचारिक तथ्याङ्कअनुसार अस्ट्रेलियाभर करिब डेढ लाखको हाराहारीमा रहेका नेपालीहरूमध्ये जम्मा १५ हजार ५ सय ५४ स्वीकृत सदस्य रहेको एनआरएनए अस्ट्रेलिया सदस्यता सङ्ख्याका हिसाबले अस्ट्रेलियाको सबैभन्दा ठूलो नेपाली संस्था मानिन्छ। तीमध्ये १५ हजार २ सय ९८ जनाले आगामी चुनावमा मतदान गर्न पाउनेछन्।

एनआरएनए अस्ट्रेलियामा सदस्यता लिनेको सङ्ख्या सन् २०१९ मा ११ हजार ६ सय ५७ रहेको थियो भने सन् २०१७ मा करिब ८ हजार थियो।

अध्यक्षका लागि नन्द गुरुङ र डा. ज्ञानेन्द्र रेग्मीको उम्मेदवारी


एनआरएनए अस्ट्रेलियाको अध्यक्ष पदका लागि नन्द गुरुङ र डा. ज्ञानेन्द्र रेग्मी भिड्दैछन्। त्यसैगरी महासचिव पदका लागि अच्युत शर्मा थपलिया र राजु बाबु अधिकारीले उम्मेदवारी दिएका छन्।

सचिवका लागि तीर्थराज कार्की र सन्ध्या शाहले उम्मेदवारी दिएका छन् भने कोषाध्यक्षमा बाबुराम गौतमले उम्मेदवारी फिर्ता लिएपछि अनिल पोखरेल निर्विरोध निर्वाचित भएका छन्। साथै संयुक्त कोषाध्यक्षमा कर्णकुमार यादव र राजकुमार नगरकोटीले उम्मेदवारी दिएका छन्।

युवा संयोजकमा महेश प्रसाई (म्याक्स) र बबिन मिश्रले उम्मेदवारी दिएका छन् भने सह–युवा संयोजकमा चन्द्र तिवारी निर्विरोध निर्वाचित भएका छन्।

त्यसैगरी आइसिसी सदस्यमा १६ जना उम्मेदवारहरू मैदानमा उत्रिएका छन्। उम्मेदवारी दिनेहरूमा बुद्धि डल्लाकोटी, परशुराम (पिआर) अधिकारी, मेघराज पौडेल, राजेश बुढाथोकी, चिन बहादुर नेपाली, परेशराज घिमिरे, प्रेमप्रसाद कँडेल, सरोज पाण्डे, राजकुमार अधिकारी, सूर्य आचार्य, धर्मराज अधिकारी, नवीन भण्डारी, चन्द्रप्रसाद ढकाल, अनन्त एलेक्स कार्की, दिक्पालदेव पङ्गेनी र प्रज्वल भट्टराई रहेका छन्।

न्यूसाउथवेल्सको संयोजक पदका लागि देव गुरुङ र प्रतीज्ञा अधिकारीले उम्मेदवारी दिएका छन्।

त्यसैगरी क्यानबेराको संयोजकका लागि अशोक बस्नेत र अभिशेक उप्रेतीले, क्वीन्सल्याण्ड संयोजकमा आशीष न्यौपाने र विनोदभक्त आचार्यले, दक्षिण अस्ट्रेलिया संयोजकमा रेनुका लामा र सन्तोषी गौतमले, तास्मेनिया संयोजकमा सन्देश परियार र राकेश शाक्यले, नर्दन टेरिटोरी संयोजकमा आशीष भुसाल र विष्णु चापागाईले उम्मेदवारी दिएका छन् भने भिक्टोरिया राज्यमा हरि खड्का तथा वेष्टर्न अस्ट्रेलियामा दीपक बस्नेत निर्विरोध निर्वाचित भएका छन्।

त्यसैगरी एनआरएएनए अस्ट्रेलियाको महिला संगठन नारी निकुञ्ज अस्ट्रेलियामा मोनी लिम्बू र मञ्जु खड्काले उम्मेदवारी दिएका छन् भने डेपुटी कोर्डिनेटरमा समीक्षा अधिकारी पाठक, सचिवमा सर्वदा घिमिरे अधिकारी, कोषाध्यक्षमा जिपस्योना पौडेल र सदस्यहरूमा पूजा थपलिया र प्रजिता गेलाल निर्विरोध निर्वाचित भएका छन्।

भिक्टोरिया र पश्चिम अस्ट्रेलियामा निर्विरोध


यसपटक भिक्टोरिया तथा पश्चिम अस्ट्रेलिया राज्यबाट भने उम्मेदवारहरू निर्विरोध निर्वाचित भएका छन्। भिक्टोरिया राज्यबाट संयोजक हरि खड्काको नेतृत्वमा रहेको २९ जनाको राज्य समन्वय परिषदको समूह निर्विरोध निर्वाचित भएको हो।

विचार, आस्था र अन्य कारणहरूले विभाजित रहे पनि भिक्टोरियाजस्तो नेपालीहरूको बाक्लो उपस्थिति रहेको राज्यमा नेपाली समुदायले आफ्नो नेतृत्वलाई विश्वास गरेकोमा आफू सन्तुष्ट रहेको कुरा संयोगक हरि खड्काले दिए।

‘भिक्टोरियावासी नेपालीले संस्थालाई नेतृत्व दिने जुन अवसर दिनुभएकोछ अनि विश्वास गर्नु भएको छ, त्यो विश्वालाई मैले शक्तिको रूपमा लिएर उहाँहरूसँग सरसल्लाहका साथ अगाडि बढ्नेछु’, खड्काले भने, ‘समाजमा विचारहरू धेरै हुन्छन्। यद्यपि ती सबैलाई सम्मान गर्दै भिक्टोरिया राज्यले निर्विरोध निर्वाचित हुने जुन माहोल बनाउन सफल भएको छ। यसले अन्य राज्यहरूलाई पनि केही महत्वपूर्ण पाठ सिकाएको छ जस्तो मैले महसुस गरेको छु। हामीकहाँ निर्विरोध निर्वाचित गर्न सक्ने समाज र नेतृत्व रहेछ। यसले फुटेर होइन जुटेर अनि केही त्याग गर्ने कुरा पनि सिकाएको छ जस्तो लाग्छ।’

त्यसैगरी पश्चिम अस्ट्रेलियामा दीपक बस्नेतको संयोजकत्वमा रहेको २३ जनाको राज्य समन्वय परिषदको समूह पनि निर्विरोध निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ ।

सकेसम्म मिलेरै जानुपर्छ, पक्ष–विपक्ष गर्नु हुँदैन, जसले जिते पनि वा हारे पनि दुवैको हार हुन्छ तर मिलेर गइयो भने सबैको जित हुन्छ । त्यसैले यसपालि सकेसम्म चुनाव नगरम् भनेर सबै साथीभाइसँग छलफल गरेपछि यो सम्भव भएको नवनिर्वाचित संयोजक दीपक बस्नेतले बताए।

‘कोरोनाले गर्दा गत वर्ष हामीले नेपाल फेस्टिभल गर्न सकेनौँ। आशा छ यसपालि त्यो गर्न सकिन्छ। त्यसपछि हामीले आफ्नै छुट्टै कार्यालय राख्नुपर्छ भन्ने जमर्को गरिरहेका छौँ। त्यसैगरी गत वर्ष हार्मोनी कपअन्तर्गत भनेर सात वटा खेलहरू सञ्चालन गरेका थियौँ। त्यसलाई पनि निरन्तरता दिनुपर्छ। त्यसका बाबाजुद धेरै एजेन्डा र कमिटमेन्ट भन्दा पनि ‘लेस प्रोमिस डिलिभर मोर’ भन्ने अवधारणालाई हामीले आत्मसात गर्ने प्रयत्न गर्नेछौँ। यसका अलावा विगतका राम्रा कार्यहरूलाई निरन्तरता दिँदै सबैलाई एकताबद्ध गरेर लैजाने हाम्रो प्रयास जारी रहनेछ’ नवनिर्वाचित संयोजकले आफ्ना प्राथमिकताका बारेमा बताए।

निर्वाचनको तयारी अन्तिम चरणमाः निर्वाचन आयोग


सुरेन्द्र सिग्देलको नेतृत्वमा गठित निर्वाचन आयोगले निर्वाचनको तयारी तीव्र गतिमा भइरहेको जानकारी दिएको छ।

प्रमुख निर्वाचन आयुक्त सुरेन्द्र सिग्देलले जुलाई ३१ तारिखमा हुने निर्वाचनका लागि उम्मेदवार तथा मतदाताको अन्तिम नामावली प्रकाशित गरिसकिएको जानकारी दिए।

पहिलोपटक अस्ट्रेलियाभर अनलाइन भोटिङ प्रणालीका माध्यमले चुनाव गरिने बताउँदै प्रमुख निर्वाचन आयुक्त सिग्देलले अनलाइन पद्दतिको परीक्षण गरेर निर्वाचन आयोगमा रहेका सबैलाई यो प्रणाली सुरक्षित र भरपर्दो छ वा छैन भन्ने जाँच गर्न व्यस्त रहेको समेत जानकारी दिए।

‘कोरोना महामारी लगायत विभिन्न वाधा, व्यवधान र उतारचढावहरूलाई पार गर्दै हामीले जुलाई ३१ का लागि सम्पूर्ण तयारी गरिरहेका छौंँ। यसपटक अनलाइन भोटिङ सिष्टम भएको हुनाले घरमैं बसेर भोट हाल्ने व्यवस्था गरिनेछ। यो पद्दति सुरक्षित र पारदर्शी छ । यसमा सबैजना ढुक्क हुनुभए हुन्छ’, प्रमुख निर्वाचन आयुक्त सिग्देलले भने।

अस्ट्रेलियाभर बिहान ७ बजेदेखि बेलुकी ७ बजेसम्म भोट हाल्न पाइने व्यवस्था गरिनुका साथै यो पद्दति तुलनात्मक रूपमा सजिलो समेत हुने पनि प्रमुख आयुक्त सिग्देलले बताए।

‘चुनावअघि निर्वाचन आयोगले केही व्यक्तिलाई नियतबस् बाटो छेक्ने काम गरेको छ भनेर सामाजिक सञ्जालमा आरोपहरू आइरहेका छन् नि’ भन्ने प्रश्नको जवाफमा प्रमुख आयुक्त सिग्देलले भने, ‘यी सबै कपोल्कल्पित र भ्रामक कुरा हुन्।’

‘गैरजिम्मेवार भएर निर्वाचन आयुक्तहरूप्रति औँला उठाउन सजिलो छ। तर हामीले कसरी काम गरिरहेका छौँ त्यो हामीलाई थाहा छ। ती सबै दोषका लागि दोष लगाउने प्रयासहरू हुन्। मैले मान्छेलाई ढाँट्न त सकुँला तर मनलाई ढाँट्न सक्दिनँ। त्यसैले हाम्रो निष्पक्षता र पारदर्शिताको प्रमाणहरू हाम्रा कर्मले दिन्छन् । त्यसमा सबैजना ढुक्क हुनुभए हुन्छ’, उनले थपे।

उम्मेदवारी दर्ता शुल्कबाट मात्रै करिब एक लाख ७० हजार डलर जम्मा


२ सयदेखि २ हजार डलरसम्म तोकिएको उम्मेदवारी दर्ता शुल्कबाट करिब एक लाख ७० हजार अस्ट्रेलियन डलर जम्मा भएको एनआरएनए अस्ट्रेलियाका कोषाध्यक्ष अनिल पोखरेलले जानकारी दिएका छन्।

यो रकम अघिल्लो कार्यकालमा ३ लाख अस्ट्रेलियन डलरको हाराहारीमा रहेको थियो। राज्य स्तरीय सदस्यदेखि राष्ट्रिय अध्यक्षसम्मको पदका लागि दिइएको उम्मेवारीको शुल्कबाट उठेको उक्त रकम तीन सय ४५ उम्मेदवारहरूबाट प्राप्त शुल्कको रूपमा उठेको हो।

यसअघि सदस्यता दर्ता शुल्कबाट पनि एनआरएनए अस्ट्रेलियाको खातामा ६ लाख २८ हजार अस्ट्रेलियन डलर जम्मा भएको थियो।

सदस्यता शुल्कबाट उठेको रकममध्ये प्रत्येक सदस्यको शुल्कबाट ८ अस्ट्रेलियन डलर एनआरएनए आइसिसीमा र ५ अस्ट्रेलियन डलर सोसल वेलफेयर फण्डमा जम्मा हुने प्रावधान रहेको छ।

त्यसैगरी आजीवन सदस्यबाट उठेको रकमको उपयोग कसरी गर्ने भन्ने विषयमा आफूले केही प्राविधिक तथा सामाजिक पक्षहरूका विषयमा आगामी वार्षिक साधारण सभामा उठान गर्ने अनि छलफल गरेर त्यसको टुङ्गो लगाइने जानकारी समेत कोषाध्यक्ष पोखरेलले दिए ।

विद्यार्थीको सदस्यता संख्या २ सय ४६


कुल सदस्य सङ्ख्यामध्ये जम्मा २ सय ४६ जना विद्यार्थीले मात्र आवद्ध सदस्यता लिनुले संस्थाप्रति विद्यार्थीको चासो खासै नरहेको पुष्टि गर्दछ।

कतिपयले यसलाई संस्थाको कमजोर पक्ष मान्ने गरेका छन् भने नेतृत्व पक्षले भने विद्यार्थीहरूका लागि यथेष्ट कार्यक्रमहरू गर्दै आइरहेको दाबी गर्दै आएका छन्।

विद्यार्थीहरूले भने एनआरएनएले आफूलाई जुन हैसियत र आकारको संस्थाको रूपमा उभ्याउने प्रयत्न गरिरहेको हुन्छ, त्यसको तुलनामा विद्यार्थीको हितका लागि ठोस कार्यक्रमहरू नल्याएको आरोप लगाउने गरेका छन्।

त्यसमाथि विद्यार्थी जीवनको व्यस्त दैनिकीका कारण समेत अधिकांश विद्यार्थीहरू संस्थाप्रति त्यति आकर्षित नहुने कतिपयको मूल्याङ्कन रहेको छ।

कोभिडका वावजुद उल्लेख्य काम गरेका छौँ:  अध्यक्ष कँडेल


कार्यकालको अन्तिम समयतिर आइपुग्दा एनआरएनए अस्ट्रेलियाका अध्यक्ष केशव कँडेलले विश्वले नै कोरोना कहरको सामना गर्नुपरेको तथ्यका बाबाजुद पनि एनआरएनए अस्ट्रेलियाले उल्लेख्य काम गरेको दाबी गरेका छन्।

आफ्नो कार्यकालमा गरेको कामलाई पूर्ण रूपमा प्रतिबिम्बित गर्न अझै नभ्याएको भए पनि मूल रूपमा संस्थाले यो समयलाई दुःखमा परेका विद्यार्थीका लागि राहत बाँड्ने कामदेखि लिएर अस्ट्रेलियन सरकारका विभिन्न परियोजनाहरूमा सहकार्य गर्दै उल्लेख्य रूपमा सरकारी अनुदान प्राप्त गर्न सफल समेत भएको जिकिर गरे।

‘कोरोना कहरले थला पारेको मातृभूमिमा अक्सिजन सिलिन्डर, कन्सन्ट्रेटर लगायतका अन्य सरसहयोग उपलब्ध गराउन अस्ट्रेलियामा रहेको सामुदायिक संघसंस्थाहरूसँग हामीले सहकार्य गरेका छौं’, उनले भने, ‘संस्था आफैमा पूर्ण हुँदैन यो समय, परिस्थिति र आवश्यकताअनुरूप परिमार्जित हुँदै जान्छ। त्यसैले यसमा कमी र कमजोरीहरू पनि होलान् किन्तु तिनलाई विधि र नियमसङ्गत तरिकाले समाधान गर्दै लानुपर्दछ।’

विधानमा भएका कमि कमजोरीहरूलाई हटाएर संस्थामा देखिएको सदस्यतासम्बन्धी विवाद सदाका लागि हटाउँदै निर्वाचन गराउने छुट्टै स्वतन्त्र संयन्त्र निर्माण गर्नुपर्ने कुरा आगामी कार्यसमितिको बैठकमा टुङ्गो लगाउनुपर्नेमा समेत उनले जोड दिए ।

योपल्ट पनि विवादमुक्त रहेन चुनाव


प्रत्येक दुई–दुई वर्षमा हुने गैर आवासीय नेपाली संघ अस्ट्रेलियाको निर्वाचन यसपटक पनि विवादमुक्त भने रहन सकेको देखिँदैन ।

एकमुष्ट सदस्य बनाउन पाउने वा नपाउने, पेपाल जस्ता प्रविधिमार्फत् सदस्य बनाउन पाउने कि नपाउने अनि सदस्य बनाउने समय निश्चित बनाउने वा सधैँभरि खोल्ने भन्ने जस्ता विषयमा अझै पनि संस्थाभित्रका सदस्यहरूमा एकमत नहुँदा योपल्ट पनि चुनाव विवादरहित बन्न सकेन ।

त्यसैगरी चुनावताका राजनैतिक गुटबन्दी हुनु, बौद्धिकहरूलाई पाखा लगाउनु, सामाजिक तथा सामुदायिक सेवाभन्दा पनि आफ्ना व्यक्तिगत अभिष्टहरूको पूर्ति गर्नका लागि धेरै मानिसले यो संस्थालाई माध्यम बनाउनु तथा उम्मेदवारको लस्कर नेतृत्व तहमा पुगे पनि समाजलाई दुःख पर्दा र आवश्यक पर्दा केही मात्र मानिसहरूले आफ्नो समय खर्च गरेर सेवाभावमा तल्लीन रहनुले यस संस्थाप्रति धेरै प्रवासी नेपालीलाई वितृष्णा समेत पैदा गराएका उदाहरणहरू पनि भेटिन्छन्।

साउन ९, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्