काठमाडाैँ – एकैपटक २४ वटा शव बाेकेर आएकाे जहाज शनिबार बिहान त्रिभूवन विमानस्थलमा अवतरण हुनेबित्तिकै आफन्तहरुकाे रुवाबासी चल्न थाल्याे। जसै जहाजबाट शवहरु निकाल्न थालियाे मानिसहरुकाे राेदन बढेर गयाे।

धन कमाएर परिवारलाई खुशी दिन उडेकाहरु काठकाे बाकसमा ‘प्याक’ भएर फर्केपछि आफन्तहरुलाई पर्ने पीडा असह्य हुन्छ। त्यही पीडाका दारुण दृष्यहरु शनिबार बिहान त्रिभूवन विमानस्थलमा छरपस्ट भए।

शव बुझ्न आएका बालकहरु रुन थालेपछि त झन् विमानस्थलकाे माहाेल ह्रदयविदारक बनेकाे थियाे। मलेसियाबाट ३ अस्तुसहित २४ वटा शव शनिबार नेपाल ल्याएर आफन्तलाई बुझाइएकाे छ।

राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को जहाजले मलेशियाबाट २४ वटा नेपालीको शव नेपाल ल्याएको हो।

वैदेशिक रोजगारीको सिलसिलामा मलेशियामा विभिन्न समयमा मृत्यु भएका नेपालीको शव बिहान वाइडबडी जहाजमार्फत नेपाल ल्याइएको निगमको उडान सञ्चालन विभागले जानकारी दिएको छ। निगमको वाइडबडी ए३३० जहाजले मलेशियाको राजधानी क्वालालम्पुरबाट एकैपटक २४ वटा शव र तीन वटा अस्तु नेपाल ल्याएको हो ।

वैदेशिक रोजगार प्रवर्द्धन बोर्डको समन्वयमा नेपाल ल्याइएका ती शव आजै आफन्तलाई जिम्मा लगाइएको छ। देश सञ्चारका फाेटाे पत्रकार सुलभ श्रेष्ठले कैद गरेका तस्बिरहरु।