केही साथीहरु नपत्याउँदाे किसिमले ढलेकाे टिप्पणी

केपी ओलीलाई महाराज भनेकाेमा प्रचण्डले निवासमै पुगेर दिए माधव नेपाललाई धन्यवाद

काठमाडाैँ –  सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी ओलीलाई महाराज भनेकोमा वरिष्ठ नेता माधवकुमार नेपाललाई धन्यवाद दिएका छन्।

शनिबार बिहान कोटेश्वरस्थित निवासमै पुगेर आफूले माधव नेपाललाई केपी ओलीप्रति सुन्दर व्यंग्यका लागि धन्यवाद दिएको प्रचण्डले बताए।

नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नरबहादुर कर्माचार्यको स्मृति दिवसका अवसरमा शनिबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा प्रचण्डले भने, ‘हिजो माधव जीले सही भन्नुभयो। महाराजाधिराजले आममाफी दिनुभयो हामी नाच्ने हो कि! कति मज्जाले भन्नुभयो। बडो सुन्दर व्यङ्ग्यका लागि मैले आज माधव जीलाई भेटेर धन्यवाद पनि दिएँ।’

शुक्रबार आयाेजित एक कार्यक्रममा माधव नेपालले श्री ५ महाराजधिराजबाट आफूहरुलाई आममाफी मिलेकाे भन्दै ओलीप्रति कटाक्ष गरेका थिए।

त्यसकाे अघिल्लाे दिन ओलीले अपराध गरेकाे भए पनि माधव नेपालहरुलाई आफूले पार्टी एकता हुने सर्तमा आममाफी दिने घाेषणा गरेका थिए।

शनिबारकाे कार्यक्रममा प्रचण्डले गठबन्धन जोगाउन आफूहरु प्रयासमै रहेको पनि बताए। गठबन्धन भत्काउने षड्यन्त्र अहिले पनि जारी रहेको र एमालेभित्रबाट त्यस्तो खेल हुनसक्ने आशंका उनले व्यक्त गरे।

‘कांग्रेस र कम्युनिस्ट भनेर भत्काउन पनि खोजिँदैछ। तपाईंहरुले देखिरहनु भएकै छ, फर्मानका फर्मान घोषणा भएका छन् एमालेभित्र। अनेक प्वाल खोजेर हान्न खोजिँदैछ’, प्रचण्डले भने।

उनले गठबन्धनमा राम्रो भूमिका खेलेका नेताहरु नपत्याउँदो किसिमले ढलेको टिप्पणी गरे। भीम रावलको नाम नलिइ राजीनामा प्रकरणमा केही साथी ढलेको प्रचण्डले बताए।

‘यो गठबन्धन भत्काउन कसरत हुँदा केही साथीहरु नपत्याउँदो किसिमले ढल्दिनु भयो। राजीनामा प्रकरणले थाहा हुन्छ गठबन्धनमा राम्रो भूमिका खेलेका, बडो स्पिरिटका साथ काम गरेका साथीहरु पनि ढले। त्यतिकै ढलेका होइनन्, बडो गम्भीर ढंगले चीजहरु भएका छन्’, प्रचण्डले भने।

प्रचण्डले आफूलाई मन्त्री बन्नेको भीड छिचोलेर हिँड्न आतंक भइरहेको पनि बताए। माओवादीका ४९ जना सांसदलाई नै मन्त्री चाहिएपछि आफू तनावमा परेको प्रचण्डले सुनाए।

साउन ९, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्