प्रधानमन्त्री देउवालाई खुलापत्र

सम्माननीय प्रधानमन्त्री श्री शेरबहादुर देउवाज्यू,

सर्वप्रथमः तपाई देशको पाँचौपटक प्रधानमन्त्री हुनु भएकोमा हार्दिक बधाई एवं सफलताको कामना गर्दछु। समकालीन राजनीतिकर्मीहरुमा तपाईँ भाग्यमानी हुनुहुन्छ र देशको कार्यकारी प्रमुखमा पाँचपटकसम्म नियुक्त भई काम गर्न पाउनु चानचुने सौभाग्यको विषय होइन। यस हिसाबमा तपाईँ अवश्य पनि अनुभवी हुनुहन्छ, शासन–प्रशासन र सुशासन तपाईँले बुझ्नु नै भएको छ। कूटनीति, आर्थिक विकास, सामाजिक परिवेशहरुका आधारभूत अवधारणाहरु तपाईँले थाहा नपाउने कुरै भएन। बेथिति, मनपरीतन्त्र, गैरसंवैधानिक हैसियतका क्रियाकलाप, कलह, विग्रह र दाउपेचहरुका रस्साकस्सी र खेलतमासाहरुका परिदृश्यबीचमा तपाईँ प्रधानमन्त्री बन्नुभएको छ। झण्डै दुई तिहाइको बहुमत तुहिएर तपाईँको नेतृत्वमा सरकारले गर्भधारण गरेको छ, अब सफलताको बच्चा सग्लो जन्मिएला कि विरुप वा विकलाङ्ग- त्यो हेर्न बाँकी छ र तपाईँले आमाको भूमिकामा प्रवेश गर्नु भएको छ अहिले यस मानेमा।

सम्माननीय प्रधानमन्त्रीज्यू,

परिचय खुलाएर नै भन्नुपर्दा म एउटा पूर्वकर्मचारी हुँ, विभिन्न निकायमा ३२ वर्ष काम गरेर र मेरो पनि पछाडिको बाटो हिँडेको पदचाप (Back Track) छ र अहिले म सामान्य नेपाली नागरिकको जीवन बिताइरहेको छु। म जस्ता भारेभुरेले तपाईँजस्तो सम्माननीय, अनुभवी तथा देश र पार्टीको महत्वपूर्ण ओहदामा रहनु भएको व्यक्तिलाई सिकाउने, लल्कार्ने र नमागेको सुझाव दिने हैसियत, योग्यता र क्षमता शायद नराखुँला, तर सामान्य सचेत नागरिकका हैसियतमा केही सुझाव राख्ने जमर्को गरेँ।

वास्तवमा यो मेरो अनुभव र अन्तरात्माको भाषा नै हो भित्री। तपाईँले यो पत्र पढ्नु हुन्छ कि हुन्न म भन्न सक्दिन, तर आफ्नै आत्मसन्तुष्टिका लागि भए पनि सार्वजनिक गरेको छु।

म कुनै पनि राजनीतिक पार्टीको सदस्य हैन, विद्यार्थी जीवनमा म तपाईँ हुनुभएको नेवि संघमा आबद्ध थिए र ०३५/३६ सालदेखि नै तपाईँलाई मैले देखेको र चिनेको हुँ। त्यसपछि म नोकरीमा प्रवेश गरेँ र जीवनका असंख्य बसन्त र पतझड त्यतै बिते। आखिर जीवनमा अनुभव नै महत्वपूर्ण रहेछ। अनुभवकै आधारमा म विनम्र आग्रह गर्दछु यहाँ।

१) तपाईँ नेपाली कांग्रेसजस्तो ऐतिहासिक योगदान र पृष्ठभूमि भएको पार्टीको शक्तिशाली सभापति र देशको प्रधानमन्त्री हुनुहन्छ अहिले। यो बेला देश कलह, गुटबन्दी, स्वार्थ , भ्रष्टाचार, अकर्मण्यताको शिकार भएको छ। वास्तवमा अहिले सरकारले ध्यान दिने र सम्बोधन गर्ने विषय सतहमा छरपष्ट छन्। मुख्य रुपमा सदाचारी प्रवृतिको पक्षमा, सुशासनको पक्षमा, संवैधानिक र कानुनी मार्गमा भएका क्षतिहरुको पुरतालमा र राजनीतिक सामाजिक सद्भावको विकासमा समय र ऊर्जा खर्चिनु आवश्यक छ।

२) जो आए पनि केही हुँदैन, पार्टी र गुटका स्वार्थमा डुब्ने हुन्, भागबण्डा हुने हो, कमिसनका चक्रहरु यथावत चल्ने हुन्, आफ्न्त र आसेपासेलाई नियुक्ति र जागिर दिने हुन्, योग्यता, क्षमता र विश्लेषणको कुनै मूल्य हुने होइन आदि इत्यादि बुझाइ र निराशामा नेपाली जनता छन्। तपाईँको अनुभवले र ब्रम्हले के देख्दै छ र भन्दै छ त ? यी माथिका निराश र उदाशका प्रश्नहरुको परिप्रेक्ष्यमा?

३) देश दुरदृष्टि, सदाचारी र इमान्दारी प्रवृत्ति, व्यवसायिक कार्य क्षमता र सुव्यवस्था स्थापनाबाट मात्र बन्दछ। हरेक क्षेत्रमा आ–आफ्नो विशेषज्ञता र अनुभव चाहिन्छ, काम गर्न। मन्त्री पद चानचुने होइन। दक्ष, योग्य र विषयको ज्ञान भएको इमानदार व्यक्ति मन्त्री हुँदा देशले धेरै पाउँछ, तपाईँ मुली हो र तपाईँलाई पनि शान उच्च बनाउन मद्दत गर्छ। तपाईँ धेरै पार्टीको गठबन्धनमा मन्त्रीमण्डल बनाउँदै हुनुहुन्छ, सबै पार्टीबाट योग्य, सदाचारी र विषयमा ज्ञान भएका व्यक्तिलाई मात्र मन्त्रीका रुपमा पठाउन सचेत गराउन सक्नुहुन्छ अहिले नै। त्यतापट्टि ध्यान दिनु हुनेछ भन्ने आशा छ यसपटक।

४) विगतमा धेरै स्वार्थपूर्ण, कपटपूर्ण, असंवैधानिक र कानून तथा प्रणाली मिचिएका प्रवृत्तिहरु छन्, तिनलाई खारेज गरी संवैधानिक, कानुनी र प्रणाली समान हिसाबमा दक्ष र व्यवसायिक मानिस नियुक्त गर्न सके धेरै स्यावासी पाउनु हुनेछ। सबैले हेरिरहेका छन् त्यतापट्टि।

५) कोरोना र अन्य विभिन्न कारणले स्वास्थ्य क्षेत्र तहसनहस छ। हिजो स्वास्थ्य, औषधी र उपकरण खरिदमा र्‍याल काढ्ने प्रवृत्तिले जनताको स्वास्थ्यमा र राज्यको स्रोतमा खेलवाड र दुरुपयोग भयो । अहिलेको समयमा स्वास्थ्यमन्त्रीको ठूलो भूमिका र महत्व छ। दक्ष, इमान्दार र योग्य व्यक्ति नियुक्त हुँदा जनताले राहत पाउने र सरकारले स्यावासी पाउने हुन्छ। स्वास्थ्य क्षेत्रको बजेट धेरै छ, कमिसन धेरै आउँछ भनेर लोभीपापीहरुको गिद्देदृष्टि पर्ने सम्भावना छ। यसलाई तपाईँले अवश्य पनि बुझ्नु नै भएको होला सम्माननीयज्यू।

६) अहिले कूटनितिक क्षेत्र सबैभन्दा बढी लडखडाएको छ, नामै नसुनेका र कूटनीतिक ज्ञान नै नभएकाहरु नियोग प्रमुख भएका उदाहरण अत्याधिक छन्। के यो देशमा कूटनीतिक ज्ञान, अनुभव र योग्यता भएका व्यक्ति छैनन्?

अहिलेको समयमा स्वास्थ्यमन्त्रीको ठूलो भूमिका र महत्व छ। दक्ष, इमान्दार र योग्य व्यक्ति नियुक्त हुँदा जनताले राहत पाउने र सरकारले स्यावासी पाउने हुन्छ। स्वास्थ्य क्षेत्रको बजेट धेरै छ, कमिसन धेरै आउँछ भनेर लोभीपापीहरुको गिद्देदृष्टि पर्ने सम्भावना छ।

७) प्रधानमन्त्रीज्यू, अहिले प्रायः सबै क्षेत्रमा समस्या छ। हिजोका सरकार प्रमुखले एकलौटी र मनोमानी ढंगले मै राज्य हुँ, सर्वेसर्वा हुँ र देशको प्रशासन, ढुकुटी–मेरो एकलौटी भोगचलन र खटनपटनको विषय हो भन्ने शैलीमा प्रयोग र उपयोग गरी त्यही अनुरुपको प्रवृत्ति र जर हाँगा फैलिएको अवस्था छ। यसलाई उखेल्न र सही मार्गमा ल्याई संविधान, कानून, विधि र प्रणालीलाई पुनःस्थापित गर्ने चुनौती छ। तपाईँको इच्छाशक्ति, सोच, दृष्टिकोण, मान्यता कतातर्फ उन्मुख होला ‘अब’? आम नेपालीले गम्भीरतापूर्वक हेरिरहेका छन्। हिजोकाले गरेको, हिँडेको र खाएको सामग्री नेपाली जनतालाई पाच्य छैन। तपाईँले के कसरी बुझ्नु हुनेछ र मार्गप्रशस्त गर्नु हुनेछ ? सबैले हेरेका छन्।

८) हिजोका दिनमा तपाईँले नै सरकार चलाउँदाको अवस्थाका बारे पनि धेरै टिप्पणी र चर्चा छन्। ती कुराले तपाईँलाई तितो लाग्ला। नदीमा धेरै पानी बगिसकेको छ र त्यो धमिलो र संग्लो पानी दुवै तपाईँले देख्नुभएको छ। अनुभवले परिपक्व हुनुभएको आशा गर्न सकिएला शायद ! निराशा नपार्नुहोस् है यसपटक।

९) एमसीसीका कुरा धेरै चर्को रुपमा उठेका छन्। एमसीसी नै सरकार बनाउने र गिराउने विषय हो पनि भन्छन्। कतिपय अन्ध–विरोधमा छन्। हाम्रो भु–राजनीति जटिल नै छ र तपाईँले पनि नबुझेको विषय होइन यो ।

तर यतिका विरोध, टिप्पणी र चर्चा हुँदा पनि किन यो विषय छर्लङ्ग हुँदैन र बनाइँदैन? सहयोग हामीलाई चाहिन्छ, लिनुपर्छ, तर देशलाई घाटा हुने खालका र आत्मस्वाभिमानमा चोट पुग्ने शर्त बन्देज र प्रावधान हुनु हुदैन। स्पष्ट भई निरुपण गर्न केले रोक्या छ?

सम्माननीय प्रधानमन्त्रीज्यू,

बिहानीले दिनको अवस्था बोध गराउँछ भन्छन्, तपाईँका बिहानी ब्रह्ममुहुर्तदेखि नै शुभ संकेतको होस्। गाँसहरुमा ढुंगा नलागून्, काग कराउँदै गर्छ, पिना सुक्दै जान्छ भन्ने चरितार्थ नहोस्। योपटक अवश्य पनि तपाईँलाई अवसर र चुनौती दुवै छ। तर दुवै कुरा चरम बिन्दुमा छन्। भन्ने कुरा धेरै छन्।

क्षेत्रगत रुपका राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक र कूटनीतिक क्षेत्रका विषय धेरै छन् र संविधानका विषय पनि छन्, छिमेकी र शक्ति राष्ट्रका विषय पनि छन्। भूगोल र इतिहासका सीमा, पृष्ठभूमि र पाठका विषय पनि छन्। अर्थात, अन्त मन लागेका विषय धेरै छन्। अहिले यति मात्र व्यक्त गरेँ। समय र आवश्यकता अनुसार थप भन्ने छु, आग्रह गर्ने छु। अन्यथा नबुझियोस्।

देश र समाजको शुभचिन्तक,

देवेन्द्रप्रसाद सिटौला।

साउन ९, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्