साताको सेयर बजारः ४२ अर्ब ५१ करोडको कारोबार

सांकेतिक तस्बिर।

काठमाडौँ – नयाँ आर्थिक वर्षको सुरुमा धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक र कारोबार रकम दुवैमा सकारात्मक संकेत देखिएको छ।

बजार पुँजीकरणमा समेत उत्साहजनक अवस्था सिर्जना भएको छ। नयाँ सरकार गठन भएपछि लगानीकर्तामा विश्वाससमेत बढेको पाइएको छ। नेप्से परिसूचकसमेत तीन हजार विन्दुमा पुगेको छ। यो हालसम्मकै शीर्ष स्थान हो।

बजारमा झण्डै एक महिनाजस्तो ‘करेक्सन’ देखियो। लगानीकर्ताले बैंक तथा वित्तीय संस्थाको ब्याज तिर्नुपर्ने तथा अन्य आर्थिक कारोबार मिलाउनुपर्ने भएकाले पनि असारको अन्तिम दुई साता बजारमा करेक्सन देखिएको हो।

आर्थिक वर्षको पहिलो कारोबार दिन साउन ३ गते नेप्सेमा हरियाली छाएको छ। गत आर्थिक वर्षमा ऐतिहासिक रेकर्ड कायम गरेको सेयर बजारमा वर्षको पहिलो कारोबार दिनमा पनि सोही उत्साह देखिएको छ।

यस साता चार दिनमात्रै सेयर बजारमा कारोबार भयो। बुधबार सार्वजनिक बिदा परेकाले पनि कुल चार दिन मात्रै कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।

साउन ३ गते पुनः स्थापित संसद्मा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिँदै थिए। सो दिन सेयर बजारले पछिल्लो राजनीतिक घटनाक्रमलाई स्वागत गर‍्‍यो।

यस साता कुल २२२ कम्पनीको ४२ अर्ब ५१ करोड ३५ लाख ९६ हजार ९८४ बराबरको कारोबार भयो। नेप्सेका अनुसार यस साता कूल १५ करोड ४० लाख छ हजार ७०२ कित्ता सेयर कारोबार भयो।

साताको पहिलो दिन आइतबार नेप्से परिसूचक ९७.२१ अंकले बढेर २९८०.६१ विन्दुमा पुगेको थियो। सो दिन दुई करोड ८८ लाख ६३ हजार ९३ कित्ता सेयर रु ११ अर्ब ६८ करोड ८१ लाख २६ हजार ४९२ मा कारोबार भयो। त्यस दिन १९४ वटा कम्पनीको सेयर मूल्य बढेको थियो भने २२ वटा कम्पनीको सेयर मूल्य ओरालो लाग्दा पाँचवटा कम्पनीको सेयर मूल्य स्थिर थियो।

त्यसदिन समृद्धि फाइनान्स, सिन्धु विकास बैंक, ङादी ग्रुप अफ पावर, हिमालयन पावर पार्टनर र सिँगटी हाइड्रो इनर्जी कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको थियो।

साताको दोस्रो दिन सोमबार नेप्से परिसूचक दोहोरो अंकले बढेको थियो। नेप्से परिसूचक १३.९७ अंकले बढेर दुई हजार ९९४.५८ मा पुगेको थियो।

ठूला कम्पनीको सेयर कारोबार मापक सेन्सेटिभ परिसूचक ०.०२ विन्दुले घटेर ५६०.९४ मा ओर्लियो। कुल २१९ कम्पनीको तीन करोड ७५ लाख ७१ हजार ३५४ कित्ता सेयर ११ अर्ब ८१ करोड ३७ लाख ५४ हजार ६०७ मूल्यमा खरिद बिक्री भए। कारोबार भएका १३ उपसमूहमध्ये पाँच उपसमूहको सेयर ओरालो लाग्दा आठ उपसमूहको सेयर भने उकालो लागेको थियो।

सोमबारको कारोबारपछि बजार पुँजीकरण ४१ खर्ब ६५ अर्ब ६१ करोड ४७ हजार ५९ बराबर पुगेको छ। कारोबारका आधारमा एनआइसी एसिया बैंक शीर्ष स्थानमा रहेको थियो।

कारोबारका आधारमा सिनर्जी पावरको सेयर १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको थियो भने विशाल बजार कम्पनी ९.२०, नेपाल इन्सुरेन्स ७.५७, नागरिक लगानी कोष ६.४० र हिमालयन ऊर्जा विकास कम्पनीको लगानीकर्ताले ५.९८ प्रतिशतले कमाएका थिए। त्यसदिन नेपाल इन्भेस्टमेन्ट बैंकको ऋणपत्र ५.८७, सनराइज बैंकको ऋणपत्र ५.०६, गुर्खाज फाइनान्स ३.६०, मञ्जुश्री फाइनान्स ३.२० र एचआइडिसिएलका लगानीकर्ताले ३.०२ प्रतिशतले गुमाएका थिए।

साताको तेस्रो दिन मंगलबार धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक ओरालो लाग्यो। त्यस दिन नेप्से ९.०१ अंकले ओरालो लागेर दुई हजार ९८५.५७ मा ओर्लेको थियो। यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.८२ अंकले ओरालो लागेर ५५८.११ मा ओर्लेको थियो।

कुल २१९ कम्पनीको तीन करोड १६ लाख आठ हजार १९३ कित्ता सेयर सात अर्ब ८९ करोड ७५ लाख ९४ हजार २६९ मूल्यमा खरिद–बिक्री भए। मंगलबारको कारोबारपछि बजार पुँजीकरण ४१ खर्ब ५३ अर्ब सात करोड ९० लाख ३४ हजार ३०२ को हाराहारीमा पुगेको थियो।

त्यसदिन कारोबार भएका कुल १३ उपसमूहमध्ये पाँच उपसमूहको सेयर मूल्य उकालो लाग्दा आठ उपसमूहको सेयर भने ओरालो लाग्यो।

त्यसदिन कारोबारका आधारमा अरुण काबेली पावर शीर्ष स्थानमा थियो। सो कम्पनीको ३८ करोड ७८ लाख २० हजार ९६८ बराबरको कारोबार भयो। त्यस दिन लक्ष्मी उन्नति कोष १०.०४, लक्ष्मी इक्विटी फन्ड १०.०१, वरुण हाइड्रोपावर ९.३९, माउन्टेन हाइड्रोपावर ९.२८ र ग्लोबल आइएमई समुन्नत स्किम–एकका लगानीकर्ताले ८.९२ प्रतिशतले कमाएका थिए।

बुधबार सार्वजनिक बिदा भएकाले सेयर कारोबार भएन। सेयर कारोबार हुने साताको अन्तिम दिन बिहीबार कारोबार मापक नेप्से परिसूचक तीन हजार विन्दु पार गर्‍यो। त्यसदिन नेप्से परिसूचक १८.७५ विन्दुले बढेर तीन हजार ४.३१ मा पुगेको थियो। ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ४.०६ विन्दुले बढेर ५६२.२४ मा पुगेको थियो।

कुल २२२ कम्पनीको पाँच करोड ५९ लाख ६४ हजार ६२ कित्ता सेयर ११ अर्ब ११ करोड ४१ लाख २१ हजार ६१६ बराबरको कारोबार भएको थियो। बिहीबारको कारोबारपछि बजार पुँजीकरण ४१ खर्ब ७९ अर्ब १७ करोड ४७ लाख ३१ हजार ६७३ बराबर पुगेको छ।

बिहीबार कारोबार भएका १३ उपसमूहमध्ये आठ उपसमूहको सेयर ओरालो लाग्दा पाँच उपसमूहको सेयर मूल्य भने उकालो लागेको थियो। त्यस दिन कारोबारका आधारमा कृषि विकास बैंक शीर्ष स्थानमा थियो। सो बैंकको ४६ करोड २७ लाख ६४ हजार ६४० बराबरको कारोबार भयो।

बिहीबार लक्ष्मी उन्नति कोष १०.०४, सिइडिबी हाइड्रोपावर १०, ङादी ग्रुप अफ पावर १०, पोखरा फाइनान्स ९.९५ र माउन्टेन हाइड्रोका लगानीकर्ताले ९.९५ प्रतिशतले कमाएका थिए।

साताभर माउन्टेन हाइड्रो नेपालका लगानीकर्ताले ३०.९२ प्रतिशतले कमाएका थिए। यस्तै, लक्ष्मी इक्विटी फन्ड २७.३९, लक्ष्मी उन्नति कोष २४.२५, कृषि विकास बैंक २७.७६ र सिइडिबी हाइड्रोपावरका लगानीकर्ताले २२.६२ प्रतिशतले कमाए।

त्यसैगरी, राष्ट्रिय बिमा कम्पनीका संस्थापक सेयरधनीले ५.५५ प्रतिशतले गुमाउँदा गुर्खाज फाइनान्स ५.४४, सारथि नेपाल लघुवित्त ४.६६, एभरेष्ट इन्सुरेन्सको संस्थापक सेयर ४.५९ र मल्टीप्रपोज फाइनान्स कम्पनीका लगानीकर्ताले ४.१९ प्रतिशतले गुमाए।

साउन ९, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्